Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Saturday, April 25, 2015

आराले धानेको जिन्दगी


 सुरुङ्गा(झापा) १२ वैशाख  ।  चैत–वैशाखको टन्टलापुर घाम मात्र होइन असार–साउनको निरन्तरको झरीमा पनि त्यो जोडी छुट्दिैन कहिल्यै । बेलुका आ–आफ्नो घरमा भएपनि बिहान सबेरै उठेर उनीहरु आफ्नो काममा तल्लीन हुन्छन् ।  विगत २० वर्षदेखिसँगै आरा चलाएर जीवन धानिरहेका झापाको दक्षिणी गाविस राजगढ–४ का खतेबुल आलम र चकचकी–१ का आस्पाक आमलको जोडी हो ।
रिपोटिङ गर्दै सहकर्मी नरेन्द्र ढकाल 
साइनोले मामा भान्जा परेपनि जीवन चलाउन साथी झैं मिलेर २० वर्षदेखि आराकाट्न शुरु गरेको दुवैले एकै स्वरमा भन्छन्– ‘हामीहरु काठ चिरेरै बाँचेका छौं ।’  ३७ वर्षका आस्पाक र ४६ वर्षका खतेबुल झापाको राजगढ–८ मा गोरखपुरे आराले काठकाटी रहँदा पसीना पुस्तै खतेबुलले भने– ‘काम नगरी खान पाइँदैन, गरिबीका कारण मुडासँग लडाई गरिरहनु परेको छ हजुर । गरीबको जिन्दगी दःुखै दुखमा बित्ने भयो, आधा जिन्दगी त बितिसक्यो अब बांँकी पनि सकुञ्जेल आराकाटेर नै बिताउँछौं ।’

 दुई छोरा अर्वाज र आपूराजा आलम तथा तीन छोरी आसरना, करिना र जानीका बुबा आस्पाकले आफ्ना छोराछोरी सबै पढिरहेको बताए ।

उनले छोराछोरीलाई कुनै भेद्भाव नगरी एउटै स्कूलमा पढाइरहेको र उनीहरुले जति पढ्ेपनि आफू पढाउन तयार रहेको  बताए । आफू त आरावाल भइयो छोराछोरी कसैले पनि आरा समाउन नपरोस् भनेर यो दुःख गरिरहेको हुँ –मलिन स्वरमा उनले भने ।

त्यस्तै खतेबुलको ६ जनाको परिवारमा जेठा छोरा भने विवाह गरेर विदेश गएका छन् भने एक छोरा र दुई छोरी पनि नजिकैको विद्यालयमा पढिरहेका छन्  । उनको पनि छोराछोरीलाई पढाउने मन छ तर उनीहरुले पनि ध्यान दिएर पढे त हो । अधिकांशका छोराछोरी बोर्डिङ स्कूल जाँदा आफ्ना पनि छोराछोरी बोर्डिङमा पढाएर ठूलो मान्छे बनाउने सपना थियो तर त्यो सपनामा मात्र सिमित भयो दुवैले एकै स्वरमा भने ।
रहरले होइन बाध्यताले समाएको गोरखपुरे आरा
खतेबुल र आस्पाकको समस्या उस्तै रहेछ । दुवैको बाबुको सम्पत्ति थिएन् भने सानैमा नै बाबु–आमाको निधन भएकाले सम्पूर्ण जिम्मेवारी जेठा छोराको नाताले उनीहरुमा आयो । भाइबहिनीको हेरचाहदेखि उनीहरुको लालनपालन मात्र होइन उनीहरुलाई शिक्षादीक्षा दिनु पर्ने जिम्मेवारी पनि उनीहरुको काँधमा आयो ।
दुवैले भने अर्काकोमा गोठालो बसेर भाईबहिनीलाई हुर्कायौं । बहिनीहरुको विवाह पनि त्यसैले ग¥यौं र भाईहरुले पनि विवाह गरे । दुःखमा जिविकोर्पाजन गर्नका लागि कुनै उपाय नभएर आरासमाएका हौं । खेती किसानी गर्ने रहर भएपनि आफ्नो एक मुठ्ठी माटो पनि नभएकाले खेती गर्ने कुरै भएन् त्यसैले अन्य कुनै विकल्प नभएर गोरखपुरे आरा समाएका हौं ।
किन जानु विदेश ?
पढ्न पाएनौं त्यसैले लेबर भिसामा विदेश गएर पनि उही महिनाको २०–२५ हजार मात्र कमाई हुने त होला, त्यो पनि टुङ्गो हुदैन् । अखिर यही गोरखपुरे आरा चलाएर मासिक रुपमा २५–३० हजार रुपैंया कमाई हुन्छ भने किन जानु विदेश ? घर परिवारसँग बसेर दुःख–सुख बाँढ्दै जसो तसो ब्यवहार चलेकै छ । त्यसैले आफ्नै देशमा केही गर्न सकेमा विदेसिनु पर्दैन भन्छन् उनीहरु । अहिलेसम्म एक दिन पनि खाली बस्नु नपरेको भन्दै उनीहरुले भने–हामी त धेरैलाई चिन्दैनौं तर हामीलाई धेरैले चिन्दारहेछन् त्यसैले घरमा नै आएर बोलाएर काम गरिदिन आग्रह गर्दछन् ।
सामुदायिक वनले स्वीकृति दिएका काठ मात्रै काट्ने भएकाले अहिलेसम्म कुनै समस्या नआएको उनीहरुको भनाइ छ । बिगतलाई आस्पाकले सम्झँदै भने– अँ, हजुर २०५२ साल तिर एकदिन अवैधानिक काठ काट्न लगाएको थाह नभएकाले एक साता सम्म जेलमा बस्नुपरेको छ । त्यसपछि आफूहरुले पूर्जी हेरेर मात्र काठ काट्न थालेको उनीहरुको भनाइ छ ।

अवैधानिक रुपमा काठ काटेर पैसा कमाउने विचार कहिल्यै नआएको भन्दै कुकर्म ग¥यो भने एक न एक दिन फन्दामा परिने उनीहरुको बुझाई छ । महिनौं दिन दुःख गरेर एकैदिनमा सक्ने केही ब्यक्ति देखेको भन्दै उनीहरुले आफुहरुले हालसम्म त्यस्तो कुनै काम नगरेको बताए । हालसम्म मादकपदार्थ सेवन नगरेको, तासजुवा त खेल्न समेत नजानेको तथा फुर्सद पनि कहिल्यै नभएर कुबाटोमा नलागेको उनीहरुको भनाई छ ।
 आफू अनुकुल समय तोक्दा पढ्न पाएनौंः
पढ्न मन नभएको कहाँ हो र तर सबै आ–आफ्नो स्वार्थमा रुमल्लिने हुँदा समस्या भएको उनीहरुको बुझाई छ । झापामा अहिले साक्षरता कक्षा सञ्चालन भइरहेपनि साक्षरता कक्षामा पढाउने शिक्षक भनाउँदाहरुले आफू अनुकुल समय तोक्दा हामी जस्ता मजदुरले पढ्न पाएनौं ।
कसैले बिहान, कसैले दिउँसो र कसैले बेलुका पढाउने हुँदा पढ्न मन भएर पनि हामी जस्ता मजदुर बञ्चित हुनुपरेको उनीहरुको भनाइ छ । अहिलेसम्म पढ्नका लागि भनेर विद्यालय नटेकेको भन्दै उनीहरुले मन मात्र भएर हँुदो रहेनछ भने ।
 मुढा उठाउन झगडाको नाटक
ठूला–ठूला मुढा उठाएर काट्नु पर्ने दुई भाईको कुनै उपाय नलाग्ने, सघाउन आग्रह गर्दा कसैले विरामी त कसैले केही न केही भनेर टार्ने गरेकाले उनीहरुले नयाँ जुक्ति अपनाएको उनीहरुको भनाइ छ ।
ठूलो मुढा उठाउने बेलामा दुवै जना निकै आक्रोशित मुद्रामा झगडा गर्न तम्सिन्छन् अनि गाउँका र वरपरका सबै ब्यक्ति भेला हुने गर्दछन् के भयो के भयो भन्ने प्रश्न गर्दा पनि उनीहरु झगडालाई अझ उच्चाईमा पु¥याएर मुढा उठाउन तयार पारिएको बाँसको टुक्रा (त्यसलाई आरावालको शब्दमा टेना) उठाउने गर्दछन् सबै नजिकै आएर छुट्याउने र अन्त्यमा मुढा उठाउन पनि सघाउने गरेको उनीहरुको भनाइ छ ।
आजसम्म कुनै झगडा नगरेको बताउँदै उनीहरुले भने झगडाको नाटक चाहीँ धेरै गरियो । झापाका राजगढ, चकचकी, गोलधाप, जलथल, शरणामती, विर्तामोड, चारपाने, चैतुवारी लगायतका स्थानमा गएर काठ काट्ने गरेको उनीहरुको भनाइ छ । पिण्डलबारी प्रहरी चौकी निर्माणका लागि आवश्यक काठहरु आफूहरुले नै काटेको भन्दै उनीहरुले त्यो बेला चार महिनामा ३ लाख रुपैंया आम्दानी गरेको बताए ।
खतेबुलले १० कठ्ठा खेत किनेका छन भने आस्पाकले एक कठ्ठा भिट्टा किनेको जानकारी दिए । अहिलेसम्म कुनै ऋण नभएको भन्दै उनीहरुले घरमा गाई, बाख्रा पालेको र त्यसको हेरचाह श्रीमतीले गर्ने गरेको र आफूहरु निरन्तर काठका मुढाहरुसंग नै खेल्ने गरेको बताए । ३ वर्ष अघि जतनाचौकमा काठ काट्ने क्रममा दुवै जनालाई मुढाले किचेपनि कुनै चोटपटक भने नलागेको अनुभवसमेत सुनाउन भ्याएका उनीहरुले छोराछोरीलाई भने सकेसम्म शिक्षा दिएर यस्तो जिन्दगीबाट माथि उठाउने बताए ।  

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।