Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

पत्रकार तथा संचारकर्मी सुरेन्द्र भण्डारी

सभामुख द्वारा शिक्षा पत्रकारिता पुरष्कार ग्रहण गर्दै।

सुरेन्द्र भण्डारी

पत्रकारिता एक चुनौती

सुरेन्द्र भण्डारी

रिपोर्टिंगको सिलसिलामा

सुरेन्द्र भण्डारी

पोखरा घुमघाम एक झलक

Tuesday, November 8, 2016

जिल्ला प्रहरीको नाममा सर्वसाधारणबाट रकम उठाउने पक्राऊ


सुरुङ्गा(झापा) २४ कात्तिक । आफूलाई प्रहरीको घुमुवा भएको बताउदै जिल्ला प्रहरी कार्यालय झापाको नाममा सर्व साधारणबाट रकम उठाउएको आरोपमा झापामा मंगलवार एक व्यक्ति पक्राउ परेका छन् ।
 पक्राउ पर्नेमा चकचकी – १ निवासी २८ वर्षीय जाफर आलम रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिनुभयो । उनलाई प्रहरीको विशेष टोलीले राजगढबाट पक्राउ बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय झापालाई मासिक ५० हजार रुपैयाँ बुझाउनु पर्ने भन्दैै आलमले सर्वसाधारणबाट रकम असुल्ने गरेको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक क्षेत्रीले बताउनुभयो ।
पक्राउ परेका क्षेत्रीलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान भइरहेको र केही सार्वजनिक अपराध ऐन अन्र्तगत मुद्दा चलाउने तयारी भइरहेको प्रहरी उपरीक्षक क्षेत्रीको भनाई छ । (सुरेन्द्र भण्डारी–रासस)


Monday, November 7, 2016

अनारमनी पब्लिक क्याम्पसमा मल्टिमिडीयाबाट पढाई



सुरुङ्गा(झापा) २३ कात्तिक । झापाको बिर्तामोड नगरपालिका–९ मा रहेको अनारमनी पब्लिक क्याम्पसका बिद्यार्थीले अब कम्प्यूटर मल्टिमिडिया (प्रोजेक्टर) मार्फत अध्ययन गर्न पाउने भएका छन् ।
 झापा बिर्तामोडका ५ दाताले विद्यालयलाई चार थान कम्प्यूटर र एक थान प्रोजेक्टर प्रदान गरेसंगै त्यहाँका  विद्यार्थीले अब कम्प्यूटर मल्टिमिडियाबाट अध्ययन गर्न पाउने भएका हुन् । बिर्तामोड निवासी युवा व्यवसायी प्रकाश शिवाकोटी, दीपेश पाठक, सामाजिक व्यक्तित्व संगीता प्रसाई, रमिता प्रसाईले एक–  एक थान कम्प्यूटर र सुवास श्रेष्ठले एक थान प्रोजेक्टर प्रदान गरेसंगै त्यहाँ उच्च शिक्षा अध्ययनरत विद्यार्थीले कम्प्यूटर मल्टिमिडिया प्रविधिबाट अध्ययन गर्न पाउने भएका हुन् ।
                                                                    
सोमवार क्याम्पसमा आयोजित एक समारोहकाबीच दाताले उक्त क्याम्पसलाई कम्प्यूटर र प्रोजेक्टर हस्तान्तरण गरेका थिए । उनीहरुले क्याक्पस व्यवस्थापन सञ्चालन समिति अध्यक्ष राजकुमार पोखरेललाई सो सामग्री हस्तान्तरण गरेका थिए । सांसद सुधीरकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा दाताले क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि कायम गर्न थप सहयोग गर्ने समेत बताएका थिए । उनीहरुले आफूहरुले दिएको कम्प्यूटर र प्रोजेक्टरले विद्यार्थीले उत्साहित भएर सदुपयोग गर्न सकेभने अझ सहयोगका लागि हामी तत्पर छौं भने ।
२०६४ सालमा स्थापन भएको सो क्याम्पसमा अहिले १२२ जना विद्यार्थीले वीवीएस अध्ययन गरिरहेका छन् । जसमध्ये २१ जना विद्यार्थी पूर्ण रुपमा छात्रवृति पाएर अध्ययन गरिरहेको क्याम्पस प्रमुख मोहन शिवाकोटीले बताउनुभयो । विगत सात वर्षदेखि त्रिभूवन विश्व विद्यालयको भन्दा उत्कृष्ठ नतिजा ल्याउदै आएको उक्त क्याम्पसले हरेक वर्ष ४८ प्रतिशतसम्म जतिजा निकाल्न सफल भएको क्याम्पस प्रमुख शिवाकोटीले बताउनुभयो ।
कार्यक्रममा बोल्दै सांसद सुधीरकुमार शिवाकोटीले लामो संर्घषपछि यस क्षेत्रमा पब्लिक क्याम्पसको स्थापना भएको र यसलाई अझ व्यवस्थित र शैंक्षिक हबका रुपमा विकास गरेर लान सांसद विकास कोष र क्षेत्र विकास कोषबाट प्राप्त हुने रकम मध्ये केही रकम सहयोग गर्ने बताएका थिए । उनले तत्काल विद्यालयलाई थप शैक्षिक सामग्री र कम्प्यूटर हस्तान्तरण गर्ने उद्घोष गरे ।
त्यस्तै क्याम्पसका सल्लाहकार समिति संयोजक हर्कलाल गिरीले सवैको सहयोगबाट क्याम्पसको स्थापना भएको र सञ्चालानार्थपनि दाताको सहयोग उत्तिकै रहने बताए । उनले दाताले दिएको सहयोगको उपयोग सही तरिकाले गर्न सके यस क्षेत्रमा दाताको कमी नरहेको उल्लेख गर्दै आगामी दिनमा क्याम्पसलाई थप व्यवस्थित गर्दै लैजानु पर्ने धारणा राखे । पत्रकार महासंघका केन्द्रीय महासचिव चन्द्र भण्डारीले क्याम्पसको दीगो श्रोतका रुपमा कुनै नयाँ कामको थालनी गर्नु पर्ने र यस क्याम्पसलाई झापाकै नमूना क्याम्पसको रुपमा विकास गर्नु पर्ने सुझाए ।
यसैगरी  क्याम्पस व्यवस्थाप समिति अध्यक्ष ंपोखरेलले ८० लाखको हाराहारीमा क्याम्पसको भौतिक संरचना तयार पारिएको र दाताकै सहयोगले क्याम्पसको स्तरोत्तिको काम भइरहेको बताए ।  सबै विद्यार्थीलाई निःशुल्क शिक्षा आर्जन गराउने हाम्रो लक्ष्य हो उनले भने–गुणस्तरीय शिक्षाका लागि यो क्याम्पस अब्बल छ हामी यहाँ पढ्ने सवै विद्यार्थीलाई निःशुल्क पढाउने प्रयत्न गरिरहेका छौं ।

कमिसनखान विरामी भारत रेफर


सुरुङ्गा(झापा) २३ कात्तिक । झापाका केही चिकित्सकले विरामीलाई भारत ‘रेफर’गरी कमिसन मोटो कमिसन लिने गरेको थप रहस्य उजागर भएको छ ।
झापाका चिकित्सक लक्ष्मी मैनालीले विरामीलाई भारतको सिलगढीस्थित जुपिटर एमआरआई सेन्टरमा पठाएर कमिसन लिने गरेको पाइएपछि यस्तो  रहस्य सार्वजनिक  भएको हो । हाड जोर्नी तथा नशारोग विशेषज्ञ डां मैनालीले आफूसंग चिकित्सकीय परामर्श लिन आएका विरामीलाई चेकजाँचका नाममा भारत रेफर गरी मोटो रकम कमिसनको रुपमा अशुल्दै आएका छन् । उनले भारतीय अस्पतालबाट २० प्रतिशतसम्म कमिसन लिने गरेकाछन् ।
झापाका विभिन्न फार्मेसी तथा मेडिकल हलमा घुम्तीसेवा प्रदान गर्दै आएका डा मैनालीले धुलावारीस्थित किरण मेडिकल हलमा स्वास्थ्योपचारका लागि आएका काँकरभिट्टाका ५३ वर्षीय लीलानाथ आङ्दाम्वेलाई सिटी स्क्यान र एमआरआईका लागि भन्दै  सिलगुढीस्थित जुपिटर एमआरआई सेन्टरमा पठाएको पाइएको छ । उनले चिकित्सक आचार संहिता विपरित किरण मेडिकल हलको नामको लेटरप्याडमा जुपिटर एमआरआई सेन्टरको नाम नै तोकेर विरामीलाई रेफर गर्दै आएको पाईको हो ।
चिकित्सक आचार संहिता वमोजिम कुनै पनि चिकित्सकले प्रेसक्रिप्सनमा स्वास्थ्य संस्थाको नाम तोकेर विरामीलाई रेफर गर्न नपाइएने प्रावधान रहेको छ । तर, डा. मैनालीले आचार संहिताको उल्लङ्घन गर्दै खुलेआम विरामीलाई भारत रेफर गर्दै आएका छन् ।
हुन त यस अघिपनि झापाका केही चिकित्सकले उपचारका नाममा विरामीलाई भारत रेफर गरी भारतीय अस्पताल तथा डाइग्नोष्टिक सेन्टर  र सिटीस्क्यान सेन्टरबाट ४० प्रतिशतसम्म  खादै आएको समाचार सार्वजनिक भएको थियो । यस अघि बिर्तामोडको  एक अस्पताल कार्यरत अर्थाेपेडिक डाक्टर आनन्दराज खनालले भारतीय अस्पतालबाट २० प्रतिशतसम्म कमिसन लिने गरेको खुलासा गरेका थिए । तर, उपचारका नाममा भारत रेफर गरी चिकित्सकले कमिसन लिने गरेको कुरा आचार संहिता विपरित भएको  चिकित्सक संघ मेचीका अध्यक्ष तथा मेची अञ्चल अस्पताल भद्रपुरका मेडिकल सुपरिटेन्डेन्ट डा पिताम्वर ठाकुरले बताए । उनले नेपालका सुविधा सम्पन्न अस्पतामा रेफर गर्ने अधिकर भएपनि स्थानीयस्तरमै उक्त सुविधा उपलव्ध भएको अवस्थामा भारतीय अस्पतालमा रेफर गर्न नपाइने बताए ।
 चिकित्सक आचार संहिता अनुसार भारत रेफर गरी कमिसन खादै आएका मैनालीले आफूले विरामीको नाकारीका लागि प्रेसक्रिप्सनमा नै सिटी स्क्यान सेन्टरको नाम उल्लेख गर्ने गरेको बताए । उनले भने –केही डाक्टरहरुले भारतका अस्पतालबाट कमिसन खाने गरेपनि मैले त्यस्का लागि नभई विरामीको सुविधाका लागि भारत रेफर गरेको हुँ ।
उनले झापाका केही चिकित्सकले सिलगुडिका विभिन्न अस्पतालबाट कमिसन लिदै आएको स्विकार गरे । यता श्रोतका अनुसार डा मैनालीले नेपाली मुलका डाक्टर सिद्धीराज शर्माले सञ्चालन गरेको उक्त जुपिटर एमआरआई सेन्टरबाट २० देखि २५ प्रतिशत सम्म कमिसन लिदै आएको जनाएको छ । उनले उपचारका लागि आएका विरामीलाई नेपालकै विभिन्न अस्पतालमा उपलब्ध भएका अत्याधुनिक प्रविधिको सेवाका लागि समेत भारत रेफर गर्दै आएका छन् । तर, यस अघि कमिसन लिदै आएका चिकित्सकलाई अहिलेसम्म मेडिकल काउन्सिलले कारवाही नगरेकाले सम्मानित पेशामा समेत कमाउधन्दाले प्रश्रय पाएको सरोकारवालाको वुझाई छ ।

भारत रेफर गर्न मिल्दैन 
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त वास्कोटाले चिकित्सककले नेपाल वाहिर विरामीलाई रेफर गर्न नमिल्ने बताएका छन् । नेपालमा नै सेवा सुविधा छ भने त्यस्तो अवस्थामा कुनै पनि विरामीलाई भारत लगायतका अन्य देशमा रेफर गर्न नहुने बताए ।
उनले पछिल्लो समय झापामा त्यस्ता  गतिविधि भइरहेको उजुरी परेकाले तत्काल छानविन गरी कारवाही अघि बढाएने बताए । त्यसका लागि छानविन  टोली नै तयार पारेको उनको भनाई छ । 

जग्गा प्लटिङका कारण उत्पादन घटेकोप्रति मन्त्रीको चिन्ता


सुरुङ्गा (झापा), कात्तिक  २३ गते । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले अन्नको उर्वर भूमिका रुपमा चिनिएको झापा र देशका अन्य भू–भागमा पनि पछिल्लो समयमा जग्गा प्लटिङले अन्न उत्पादनमा प्रभाव परेकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।
माओवादी केन्द्र निकट व्यवसायीको सङ्गठन नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनको प्रथम झापा जिल्ला भेलालाई आज सम्बोधन गर्दै उहाँले यस्तो कार्य रोक्न जग्गाको वर्गीकरण गर्नुपर्ने बताउनुभयो ।
उहाँले आफूले यस विषयमा सदनमा समेत कुरा उठाएको बताउँदै जमिन, जङ्गल, उद्योग तथा आवास निर्माणका लागि जमिनलाई वर्गीकरण गर्नुपर्ने र वर्गीकरणअनुसारकै कार्यसम्पादन हुनुपर्नेमा जोड दिनुभयो ।
मन्त्री कार्कीले कृषिपछि देशलाई समृद्ध बनाउन उद्योग व्यवसायको मुख्य भूमिका रहने हुँदा व्यवसायीलाई एकजुट हुनसमेत आग्रह गर्नुभयो ।
व्यापारलाई पनि समयअनुसार परिवर्तन गर्दै लैजानु पर्नेमा उहाँको जोड थियो । मन्त्री कार्कीले भन्नुभयो – “उत्पादित वस्तुलाई प्रशोधन गरेरमात्र बजार पु¥याउँदा त्यसको बजार सुरक्षित हुन्छ र मूल्य पनि राम्रो हुन्छ ।”
उहाँले नेपालीले योजनाबिना नै व्यापार गर्ने भएका कारण व्यापार घाटामा जाने गरेको बताउनुभयो । रासस

झापामा पन्ध्रवटा स्थानीय तह हुने


सुरुङ्गा (झापा), कात्तिक २३ गते । झापा जिल्लामा १५ वटा स्थानीय तह हुने भएको छ । जिल्ला विकास समिति कार्यालयमा  बसेको सर्वदलीय बैठकले स्थानीय तहको पुनसंरचनाको टुङ्गो लगाएको हो । जनसङ्ख्या र भौगोलिक आधारमा पुनसंरचनाको निर्णय गरिएको स्थानीय विकास अधिकारी खेमराज ओझाले बताउनुभयो । स्थानीय तह पुनःसंरचना आयोग प्राविधिक सहयोग समितिका संयोजक समेत रहनुभएका उहाँका अनुसार झापामा आठ नगरपालिका र सात गाउँपालिका हुने भएको छ ।

उहाँका अनुसार मेचीनगरमा बाहुनडाँगी, धाइजन, दुहागढी र ज्यामीरगढी गाविस गाभेर मेचीनगर नगरपालिका बनाइएको छ ।

शान्तिनगर र बुधबारे गाविसलाई बुद्धशान्ति गाउँपालिका, खुदुनाबारी गाविसलाई शनिअर्जुन नगरपालिकामा गाभ्ने, बिर्तामोड नगरपालिकामा गरामनी गाविस गाभ्ने, भद्रपुर नगरपालिकामा पृथ्वीनगर गाविस गाभ्ने, पाठामारी, बनियानी, वालुवाडी, पथरीया, केचना र घेराबारीलाई कचनकवल गाउँपालिका बनाउने, हल्दिबारी, जलथल र गोलधापलाई हल्दिबारी गाउँपालिका बनाउने, राजगढ, चकचकी र डाँगीबारीलाई बाह्रदशी गाउँपालिका बनाउने निर्णय गरेको छ ।

त्यस्त,ै कुमरखोद, टागनडुब्बा र शरणामति गाविसलाई झापा गाउँपालिका बनाउने, धरमपुर, पाँचगाछीलाई शिवसताक्षी नगरपालिकामा गाभ्ने, गौरीगञ्ज, खजुरगाछी, माहाभारा र कोरोबारीलाई गौरीगञ्ज गाउँपालिका बनाउने, बैगुनधुरा गाविसलाई गौरादह नगरपालिकामा गाभ्ने, लखनपुर र तोपगाछीलाई कमल गाउँपालिका बनाउने र दमक नगरपालिकालाई साविककै नगरपालिका बनाउने र डाँगीबारी वडा नं ४, शिवसताक्षी वडा नं ५ र ९ लाई कनकाई नगरपालिकामा गाभ्ने निर्णय प्रविधिक समितिले गरेकोे छ । रासस

Sunday, November 6, 2016

राजगढमा प्रहरी विट निर्माण



राजगढ, कात्तिक २१ ।  युवासंघ नेपाल राजगढ गाउँ कमिटीले हुलाकी राजमार्ग अन्र्तगत राजवंशी चौकमा प्रहरी विट निर्माण गरेको छ ।

शान्ति सुरक्षा कायम राख्न प्रहरीलाई सहज होस् भन्ने उद्देश्यले युवासंघ नेपाल राजगढले प्रहरी विट निर्माण गरेको युव संघ राजगढका इन्चार्ज विरेन्द्र प्रसाद राजवंशीले बताउनुभयो । निर्माण गरिएको प्रहरी विट इलाका प्रहरी कार्यालय राजगढका प्रमुख भरत केशीलाई एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको छ ।
प्रहरी विट हस्तान्तरण समारोहमा संघका जिल्ला सदस्य मयद मिश्र, क्षेत्रीय सदस्य मानवहादुर राजवंशी, गाउँ कमिटी अध्यक्ष जय आचार्य, गाउँ कमिटी सचिव शम्भू राजवंशी लगायतले शान्ति सुरक्षार्थ खटिएका प्रहरीलाई सहजहोस् भन्ने उद्देश्यले विट निर्माण गर्नु आफैंमा राम्रो कुरा भएको बताएका थिए ।
यता इलाका इन्चार्ज केशीले वितको चावी ग्रहण गर्दै शान्ति सुव्यवस्था कायम राख्न आफू अलिकतिपनि पछि नहट्ने बताउनुभएको थियो ।

गरीबको उपचारका लागि सहाराले ल्यायो दश करोडको ‘संकल्प अभियान’

सुरुङ्गा (झापा), २१ कात्तिक । झापाको बिर्तामोड नगरपालिका – १ स्थित चारपानेमा रहेको सहारा नेपाल वचत तथा ऋण सहकारी संस्थाले आर्थिक विपन्नता भएका परिवारको उपचारका लागि १० करोड रुपैयाँको सङ्कल्प अभियान सञ्चालनमा ल्याउने भएको छ ।


गरीब तथा विपन्न परिवारका व्यक्तिलाई कुनै पनि रोगबाट बचाउन उनीहरुको उपचारका लागि झापा जिल्ला स्तरीय १० करोड रुपैयाँको कोष खडा गर्ने गरी ‘संकल्प अभियान’को यहाँ घोषणा गरिएको हो ।


समर्पण राष्ट्रिय अभियान सफलताका साथ सम्पन्न गरिसकेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले पुनः आफ्नै अगुवाइमा ‘संकल्प अभियान’ घोषणा गरेको हो ।

सहारा मुख्य आयोजक रहेर झापाका ६८ सामाजिक संस्थाको साझेदारीमा समर्पण अभियान सफल बनाइएको थियो । सोही अभियानको निरन्तरताको रुपमा नयाँ सोचका साथ संकल्प अभियान शुरु गर्न लागिएको सहारा नेपाल साकोसका सचिव तथा प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले घोषणा समारोहमा बताउनुभयो ।
‘अहिले गरीब तथा विपन्न व्यक्तिहरुलाई स्वास्थ्य सेवा महँगो भएको छ’ – गिरीले भन्नुभयो– ‘तिमीहरुलाई ठूला प्रकारका रोगहरु लागेमा चन्दा संकलन गर्ने उपचार गर्नुपर्ने बाध्यता छ । अतः त्यस्ता मानिसहरुलाई अकाल मृत्युबाट बचाउन र उपचारका सहयोग पु¥याउने उद्देश्यले १० करोड रुपैयाको झापा जिल्ला स्तरीय कोषका लागि रकम संकलन गरी संकल्प अभियान सञ्चालन गरिने छ ।’
उक्त कार्यका लागि सहारा नेपाल साकोसले एक करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेको छ । अन्य रकम इच्छुक सामाजिक व्यक्ति, संघ–संस्था, स्थानीय निकाय र अस्पतालबाट जुटाइने गिरीको भनाई छ ।
यसरी जम्मा भएको कोषको रकमको ब्याजबाट गरीब परिवारका मानिसलाई उपचारका लागि सहयोग गरिने सहारा नेपाल साकोसका अध्यक्ष ताराप्रसाद सञ्जेलले बताउनुभयो ।

‘राधा’ चलचित्रमा देखापर्ने झापा बुधबारेका टंकनाथ

जुवा खेल्दाखेल्दै पैसा सकिएपछि आफ्नै छोरीलाई पनि दाउमा राखेर नामुद जुवाडेको भूमिकामा ‘राधा’ चलचित्रमा देखापर्ने झापा बुधबारेका टंकनाथ काफ्ले ९विकल्प० अभिनयमा पोख्त छन् । २०१८ साल साउन २९ गते आइतबार पाँचथरको सुभाङमा जन्मिएका उनी झापाका चर्चित नाट्यकर्मीका रुपमा स्थापित कलाकार रंगमञ्चमा नाटक प्रदर्शन गरेरै आफूलाई टंकनाथ काफ्लेबाट टंक विकल्पको रुपमा चिनाए । रेडियो नाटक, स्टेज र सडक नाटक गरी उनले अहिलेसम्म पाँच सयभन्दा बढी नाटकमा निर्देशन गरिसकेका छन् भने ठूलो पर्दाको चलचित्र ‘सडक’, ‘आफ्नो विरानो’, ‘वरपिपल’, ‘देश खोज्दै जाँदा’ र ‘राधा’मा पनि उत्कृष्ट अभियन गरेर चर्चाको शिखरमा छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय झापाले तयार पारेको परिवार नियोजन सम्बन्धी डकुमेन्ट्रीमा पनि उनको उस्तै भूमिका छ । सानो पर्दाका दुईवटा डकुमेन्ट्री उनैले निर्देशन गरेका छन् । बाल्यकालदेखि अभिनयमा रुची राख्ने उनले रंगमञ्चमा सडक नाटक एक सयभन्दा धेरै ठाउँमा देखाइसकेका छन् । रेडियो नाटक तीन सयभन्दा बढी उत्पादन तथा प्रशारण गरेर चर्चा बटुलेका विकल्पले सानो पर्दाको भिडियो चलचित्र ‘पश्चाताप’, ‘सञ्जोग’ ‘नियती’, ‘गुनासो’ र टेलिसिरियल ‘मञ्जुर’, ‘प्रतिज्ञा’, ‘अन्तिम न्याय’ मा अभिनय गरेका छन् ।
विगत दश वर्षदेखि साहित्य लेखनमा रुची राखेका उनले एकसय ५० बढी कविता लेखेका छन् भने एक सयभन्दा बढी नाटक एकसय बढी गीत, गजल र पन्ध्र वटा कथा लेखिसकेका छन् । दुई डकुमेन्ट्री तयार पारेका उनले निबन्ध, मुक्तक र धेरै कृतिको समिक्षासमेत गरिसकेका छन् । उनले २०६९ सालमा ‘घडीका सुइराहरु’ नाटक संग्रह प्रकाशन गरेका छन् भने कविता संग्रहको प्रकाशन गर्ने तयारी गरिरहेका छन् । प्रकासोन्मुख उनको अर्को कृति हो नाटक संग्रह । उनले एकैपटक चार वटा नाटक संग्रह प्रकाशन गर्ने तयारी गरिरहेका छन् भने एक कथा संग्रह र संस्मरण संग्रह दुई वटा प्रकाशनको तयारी गरिरहेका छन् ।

पत्रकारिता र उद्घोषण एवम् अभिनयमा पोख्त उनी हाल साहित्य चौतारी झापाका अध्यक्ष पनि हुन् ।

खनालको ‘बादल लाग्दा’ बजारमा

झापा घेराबारी– ७ फूलबासीका माधव खनाललाई गायक बन्ने ठूलै रहर थियो । उनी स्कूल पढ्दादेखि नै संगीतका पारखी थिए । स्वरसम्राट नारायण गोपाल होस् या कुनै नयाँ गीत बजारमा रिलिज हुन नपाउँदै उनी शब्द, संगीत र स्वरलाई टपक्कै टिपेर अरुलाई सुनाउन उत्सुक हुन्थे । स्कूलमा हुने हरेक कार्यक्रममा उनी स्टेजमा पुगेर अरुलाई पनि कहिले हसाउन त कहिले रुवाउन खप्पिस थिए । संगीत नै जीवन ठानेका उनी अहिले नवगायकको रुपमा देखा परेका छन् । उनी आधुनिक गीतको सँगालो लिएर अब तपाई हामीसामु आउने भएका छन् । माया प्रेममा आधारित गजललाई स्वरमा ढालेर उनी हामीसामु आउन लागेका हुन् ।
पाँच वर्ष अघि संगीत सिक्न काठमाडौं हुइँकिएका उनी अहिले संगीतलाई नयाँ रुपमा पाएको बताउँछन् । हिजो मेले गाउँमा देखेको र सुनेको संगीतभन्दा भिन्न रहेछ संगीतको संसार उनले भने– ‘यो क्षेत्रमा लागेका धेरै मानिस मैले बिग्रिएको देखे । स्टेजबाट गायक बन्ने सपना बोकेका उनी अहिले छठपछि हामीमाझ गीत संगीतका नयाँ–नयाँ प्रस्तुति लिएर आउँदैछन् । गजल लेख्न पोख्त उनी आफैंले ‘बादल लाग्दा सम्झे’, ‘तिमीलाई माया गर्नु छ’ जस्ता चर्चित गीतमा स्वर दिएका छन् ।तिमीलाई माया गर्नु छ बोलको गीतमा उनैले संगीत भरेका छन् । अंग्रेजी विषयमा स्नाकोत्तर सकेर विभिन्न विद्यालयमा शिक्षण पेशालाई अँगालेका उनी त्यसैलाई जीउने आधार बनाएका छन् । विद्यालय समय अवधिभन्दा बाहेकको समय उनी संगीतलाई खर्चन्छन् र नयाँ–नयाँ गीत तथा गजलको रचनामा ब्यस्त रहन्छन् । संगीतप्रति प्रेरणाको स्रोत आफ्नै परिवारलाई मान्ने उनी सानै उमेरदेखि गायनमा आफूलाई स्वतन्त्र छाडेकाले आफू यो अवस्थामा आएको बताउँछन् । आधुनिक गीत गाउन रमाउने उनी यो क्षेत्रलाई अझ फराकिलो र संगीतमय बनाउन पछिसम्म नै गायन तथा लेखनलाई निरन्तरता दिने धारणा राख्छन् । उनी भन्छन् – ‘हामी जस्ता नवगायकलाई पुरानो पिढीले गन्दैन तर स्रोता र दर्शकको मन जित्नसके उनीहरुको स्थान पनि त सुरक्षित रहन्न नि ।’
गायन क्षेत्रमा स्थापित बनेकाहरु पनि भविष्य नदेखेर विदेशिने परिपाटीलाई रोक्नुपर्ने धारणा राख्दै उनी भन्छन्– ‘हामी जस्ताले देशलाई लत्यायौ भने देश कसरी बन्छ ।’ बादल लाग्दा सम्झे गीतमा उनलाई नवगायक रीना सेन्च्यूरीले साथ दिएकी छिन् भने संगीत अजय अधिकारी सुशीलले भरेका छन् ।

Tags:

Thursday, October 27, 2016

अस्पताल छ , बेड छैन / डेंगू रोगीको भुइँमै उपचार

बिर्तामोड, कात्तिक ११ ।
सरकारले झापाको दमकमा १५ शैयाको दमक अस्पताल सञ्चालनमा ल्याएपनि पूर्वाधार नभएपछि डेंगु रोगी निजी अस्पताल जान बाध्य छन् ।
स्वास्थ्य सेवा विभागबाट रोग नियन्त्रणका लागि डा. यदुचन्द्र घिमिरे नेतृत्वको टोली झापा आएपनि अस्पतालमा आवश्यक पूर्वाधार नभएपछि डेंगूरोगीले सहजै सेवा पाउन सकेका छैनन् । अस्पतालमा वेड नभएका कारण विरामीको भुइँमा राखेर उपचार हुँदै आएको छ । दमक अस्पतालमा एउटापनि वेड नभएका कारण सेवा लिन आएका विरामी निजी अस्पताल धाउन बाध्य छन् । योसंगै डेंगूका अधिकंश विरामी अस्पतालमा रगत परीक्षणका लागि ल्यावसमेत नहुँदा निजी अस्पताल तथा क्लिनक जाने गरेका छन् ।
एक साता अघिदेखि झापाको दमकमा देखा परेको डेंगू रोगीको संख्या अहिले दिनानुदिन बढ्दै गएको छ । हालसम्म दमकमा डेंगू रोगीको संख्या १०९ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
तीन वर्ष अघिपनि झापामा डेंगू रोग देखा परेको थियो । झापाको काँकरभिट्टामा यो रोगको संक्रमणबाट दुई जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयको  तथ्याङ्कमा उल्लेख छ ।
यता दमक अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट वुद्धिवहादुर थापाले अस्पतालमा दरवन्दी अनुसार स्वास्थ्यकर्मी नहुँनु, इन्भरटर नहुँदा  अस्पतालमा ल्याव सेवा सञ्चालन गर्न नसकिनु, अस्पतालमा एउटा पनि बेडको व्यवस्था नभएपछि अस्पताल अएका विरामीलाई बाहिर पठाउने गरेको बताउनुभयो ।  अस्पतालमा तीन जना चिकित्सकको दरवन्दी रहेको समेत उहाँले बताउनुभएको छ ।
दमक अस्पताल चालू आर्थिक वर्षको साउन १ गतेबाट सञ्चालनमा आएपनि आवश्यक पूर्वाधार भने नभएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका देवराज कार्कीले बताउनुभयो ।
उता  दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले अस्पतालमा कर्मचारीसहित आवश्यक पूर्वाधार उपलव्ध गराउन सरकारसंग माग गर्नुभएको छ । उहाँले डेंगूले महामारीको रुप लिदापनि सरकारले अस्पताल  प्रभावकारी रुपमा सञ्चालन गर्न नसकेको आरोप लगाउनुभयो ।

पाँचसय परिवारको आयआर्जनकी माध्ययम बनिन् राधादेवी


झापा, कात्तिक ११

‘इच्छा शक्ति र जागर भए काम गर्न उमेरले छेक्दैन’ भन्ने उखानको चरितार्थ गरिदिनुभएको छ झापा दमक–११ की ५७ बर्षीया राधादेवी ढुंगानाले । उहाँ अहिले दमक नगरपालिका भित्रका पाँचसय बढी घर परिवारको प्रेरणाको श्रोत अनि आय आर्जनकी माध्ययम बन्नु भएको छ ।
२०४१ सालमा एक हजार ४ सय रुपैयाँ लगानी गर्दै एक लाक्छी धागोबाट ढाकाको काम शुरु गर्नुभएकी उहाँले अहिले पनि सोही कामलाई निरन्तरता दिइरहनुभएको छ । अझैंपनि उहाँ पहिला जस्तै ढाक बुन्दै हुनुहुन्छ भने उहाँसंगै दमक–११ र दमक–१ का पाँचसय महिलालाई यो काम सिकाएर स्वावलम्वी बनाउनु भएको छ । जसबाट ती परिवारको दैनिक गुजारा चल्दै आएको छ । चार सय रुपैयाँमा ढाका बुन्ने तान र एक हजार रुपैयाँमा ढाका बुन्दा प्रयोग गरिने ड्रम किनेर व्यवसाय शुरु गर्नुभएकी उहाँले अहिले दमकमा पशुपति ढाका उद्योग नै सञ्चालन गर्नुभएको छ । सोही उद्योगबाट उहाँ अहिले उद्योगपतिका नाममा चिनिनुहुन्छ । खर्च कटाएर बार्षिक १२ लाख भन्दा बढी बचत गर्न सफल उहाँ अहिले दमक क्षेत्रका लागि प्रेरणाकी स्रोत नै बन्नुभएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय झापामा आफ्नो उद्योगको नवीकरण गर्न आइपुग्नुभएकी ढुंगानाले अरुलाई पनि यही व्यवसायमा आत्मनिर्भर गराएकाले उनीहरुको पनि फर्म दर्ता गर्न आएकी हुँ भन्दै अगाडि भन्नुभयो–‘घरेलु उद्योगले घरमा नै वसिवसी महिलालाई मालिक पो बनाउदो रहेछ , उहाँहरुलाई पनि यही काम सिकाए अब उद्योगी बनाउछु ।’
२०५१ सालमा ६० वटा ढाका बुन्ने तान राखेर चर्चा बटुल्नुभएको उहाँ अहिले गाउँका प्रायः सबै महिलालाई निःशुल्क तान वितरण गर्दै टोपी, बर्को, साडी र चौवन्दी चोला बुन्न धागो समेत प्रदान गर्नुहुन्छ । उनीहरुले उत्पादन गरेका सबै वस्तु खरिद गर्दै बजारमा विक्री गर्ने काम उहाँको हुन्छ । ढाका टोपी बुन्नेलाई उहाँले एक हजार रुपैयाँसम्म दिने गर्नुभएको छ । त्यस्तै बर्को पनि सोही अनुसार नै बुट्टा हेरेर रकम प्रदान गर्छु उहाँले भन्नुभयो । साडी बुन्नेले २ हजार ५ सय रुपैयाँसम्म पाउने गरेका छन् भने चौबन्दी चोली बनाउनेले ४ सयदेखि माथि बुट्टा हेरेर खरिद गरिदिने गरेकी छु ढुंगानाले भन्नुभयो ।
तान बुनेरै दुई छोरालाई डिग्री हासिल गराएँ उहाँले भन्नुभयो । कुटुम्ब आएकाले छोरीलाई भने १२ कक्षा पास गरेपछि विवाह गरिदिनुप¥यो ढुङ्गानाले भन्नुभयो । ढुंगानाका एक छोरा दिनेश माइक्रोवाइलोजीमा डिग्री हासिल गर्दै अहिले झापामा खाद्य निरीक्षक भएर चितवनबाट भर्खर सरुवा हुनुभएको छ । अर्का छोरा लोचन कमर्समा डिग्री हासिल गर्दै आस्था क्याम्पस दमकमा प्राध्यापकका रुपमा कार्यरत रहेको उहाँले बताउनुभयो । आफ्नो सफताको श्रेय भनेकै ढाका बुनाई हो उहाँले थप्नुभयो–‘छोरा छोरी पढाए, बढाए र हुर्किए अब काम नगर्दा नि हुने हो नि, तर नानीकेटाकेटीलाई मैले ढाका बुनेर बेचेर हुर्काएकाले सकुन्जेल यही काम गर्छु ।’
स्थानीय महिलाले तयार पारेका दैनिक दुई सय बढी थान टोपी, बर्का, साडी, चौवन्दी चोलो खरिद गरेर त्यहाँका स्थानीयको जीवीकोपार्जनमा सघाउ पु¥याउने उहाँ बेरोजगार महिलालाई स्वावलम्बी बन्न प्रेरित गर्दै सीप सिकाउन अझैंपनि तल्लीन हुनुहुन्छ । आँखा धमिला भइसके उहाँले भन्नुभयो–‘अब त विहान वेलुका धेरैवेर हेर आँशु आउछ तरपनि यहाँ आउने दिदी वहिनीलाई तान बन्न सिकाइरहन्छु ।’
हिजो तान बुन्न शुरु गर्दा ढुंगान्नी बिग्रिछ भन्ने गाउँका आमा दिदीबहिनी पनि अहिले मसँगै सीप सिकेर स्वावलम्बी बनेको देख्दा खुशी लाग्छ उहाँले भन्नुभयो । गाउँका महिलालाई मात्र मैले सीप सिकाइन आफ्नै दुई छोरालाई पनि यही सीप सिकाएर घर गरिखान सजिलो बनाइदिएकी छु उहाँले भन्नुभयो –‘ विवाहपछि जेठी छोरी दीपा बिर्तामोडमा ढाका पसल सञ्चालन गरेर बसेकी छ, कान्छी छोरी बबिता पनि दमकमा ढाकाकै काम गर्छे ।’
आफ्नो श्रीमान कृष्णबहादुर ढुंगानालाई समेत यही व्यवसायमा संलग्न गराएर उहाँ अहिले दमक क्षेत्रमा परिचित ढाका उद्योगीका रुपमा चिनिनुभएको छ । काठमाडौंमा सम्पन्न सार्क शिखर सम्मेलनमा सम्मानित भइसक्नुभएकी उहाँ घरेलु तथा साना उद्योग कार्यालय झापाले बिर्तामोडमा आयोजना गरेको घरेलु सामग्री प्रदर्शनी कार्यक्रममा पनि प्रथम हुनुभएको थियो । त्यस्तै २०६८ सालमा नेपाल सरकारले समेत उनलाई उत्कृष्ट ढाका व्यवसायीको रुपमा सम्मान गरिसकेको छ ।

Thursday, September 8, 2016

घरको न घाटको भए चिल्ला गढवासी



सुरुङ्गा (झापा), २३ भदौ । कनकाई नदीमा आएको बाढीले झापाको शिवशताक्षी नगरपालिका–८ का धर्मानन्दा रिजालको एक बिगाह खेतसहित घर बगाएपछि उहाँ अहिले घरको न घाटको हुनुभएको छ ।

धार्मिक तथा पर्यटकीयस्थल चिल्लागढबाट केही दक्षिणमा रहेको उहाँको घर र एक बिगाह जमिन नदीले कटान गरेपछि उहाँ घरको न घाटको हुनुभएको हो । केही समय अघिसम्म आफैँले उब्जाएको अन्नले घर व्यवहार चलाउँदै आउनुभएका उहाँको अब सम्पत्तिका नाममा पशु मात्र छन् ।
पाँच जनाको परिवारसहित उहाँ अहिले छिमेकीको घरमा बस्तै आउनुभएको छ । “नदी कटानले भएको एक बिगाह खेत पनि बगायो” रिजालले कनकाइ माईको भङ्गालो देखाउँदै भन्नुभयो– ऊ यही नेर थियो मेरो घर ।

वर्षात्मा आएको माई खोलाको बाढीले धार परिर्वतन गरेसँगै कटान तीव्र पारेकाले रिजालसहित तुलसी तिम्सिना, श्रीप्रसाद सुब्बा, लालबहादुर सुब्बा, विष्णुप्रसाद अधिकारी र याममाया पोखरेल छिमेकिको आश्रयमा पुगेका हुन् ।

नदीमा पानीको सतह घटे पनि कटान नरोकिएपछि त्रस्त चिल्लागढवासीमध्ये डम्वर रिजाल, विष्णुमाया रिजाल, मित्रलाल खरेल र छविलाल पोखरेलले घर भत्काउने तयारी गरिरहेका छन् । दिनानुदिन कटान तीव्र भएसँगै स्थानीयले लगाएको धानबालीमा पनि वस्तु चराउन थालेका छन् ।

स्थानीयको शरणमा बसेका उनीहरुले आफूहरुलाई कसैले पनि आर्थिक सहयोग नगरेको बताएका छन् । नेपाल रेडक्रस सोसाइटीले एक÷एक थान त्रिपाल र जिल्ला दैवी प्रकोप उद्धार समितिले रु ५÷५ हजारबाहेक अन्य सहयोग कतैबाट नजुटेको तिम्सिनाले बताउनुभयो । “बाढीले घर पनि लाग्यो भएको खेत पनि बगायो” तिम्सिनाले भन्नुभयो– “अब के खाने कहाँ बस्ने ।”

Sunday, June 26, 2016

महमा झापा आत्म निर्भर


सुरुङ्गा (झापा) १२ असार ।   मौरीपालन व्यवसायबाट राम्रो आम्दानी हुन थालेपछि झापा जिल्लामा मौरीपालन व्यवसाय फस्टाउँदै गएको छ ।
सतासी महिला मौरीपालन सहकारी संस्था लिमिटेडमा आवद्ध अधिकांश महिलाहरु आफ्नै गाउँघरमा बसेर मौरीपालन गर्दा राम्रो आम्दानी गर्न सकिने भएपछि त्यहाँका महिला मौरी पालन व्यवसायमा आकर्षित भएसंगै यो व्यवसाय फस्टाउँदै गएको हो । जिल्ला कृषि विकास कार्यालय झापाले महिलाहरुलाई यो व्यवसाय सञ्चालन गर्न  प्राविधिक सहयोग गरेपछि शिवसताशीका अधिकांश महिला मौरीपालन गरिरहेका छन् । थेरै लगानीमा धेरै आम्दानी गर्न सकिने भएपछि झापामा मौरीका लागि प्रयाप्त चरनको क्षेत्र नभए पनि मौरी पालनमा कृषक जागरुक भएका हुन् ।
सेरेना प्रजातिको मौरी झापामा प्रभावकारी रुपमा पाल्न गाह्रो हुने भएपछि मेलिफेरा जातको मौरी यहाँका महिलाले पालन गरिरहेका छन् । चार फ्रेममा १ गोला घारबाट डेढ÷दुई वर्ष अघि मात्रै मौरी पालन ब्यवसाय शुरु गरेका यहाँका अधिकांश कृषकले अहिले ७५ देखि १०० घारसम्म प्रतिव्यक्ति मौरी पालन गरिरहेको बताउँछन् जिल्ला कृषि विकास कार्यालय झापाका वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिम्सिना । उनी भन्छन्– झापामा महुरी पालन व्यवसाय यसरी फस्टाउला भनेर हामीले सोचेकै थिएनौ तर यहाँका कृषकको सक्रियताले यो व्यवसाय हामीले सोचे भन्दा पनि राम्ररी फष्टाएर गएको छ ।
डेढवर्ष अघिबाट मौरीपालन व्यवसाय गर्दै आएकी शिवसाक्षी नगरपालिका वार्ड नं. ७ की मौरी पालक कृषक सन्तकुमारी मुखिया मौरीले आफूलाई मात्र नभई यहाँका विपन्न समुदायका महिलाको जीवनस्तर उकास्न वरदान नै सावित भएको बताउँछिन् । उनी भन्छिन् – व्यवसायिक मौरी पालन गर्न चाहने किसानलाई साना तथा मझौला कृषक आयस्तर आयोजनाले पनि सहयोग गरेकाले चुलो चौकामै सीमित रहने महिला अहिले आर्य–आर्जनको बाटोमा लागेको र आत्मनिर्भर भएको देख्दा खुशी लाग्छ ।
अहिले झापाका केही नगरपालिका र केही गाविसमा मौरीपालन फर्म सञ्चालन भएका छन् । युवा लक्षित कार्यक्रम अन्तर्गत नेपाल सरकारले अनुदान सहयोग गर्न थालेसँगै यहाँका कृषक मौरीपालन व्यवसायतर्फ आकर्षित भएको बताउँछन् जिल्ला विकास समिति झापाका योजना अधिकृत हिमराज सेढाई । उनी भन्छन् – मौरीपालन अन्य व्यवसायको तुलनामा सजिलो र धेरै आम्दानी हुने भएकाले किसानहरु यसतर्फ आकर्षित भएको मैले पाएको छु ।
 मौरीपालन व्यवसायलाई प्रोत्साहित गर्न जिल्ला कृषि विकास कार्यालयले मौरीका नयाँ घार खरिद गरेर व्यवसाय शुरु गर्न चाहने किसानहरुलाई ५० प्रतिशतसम्म अनुदान दिदैँ आएको छ । जिल्ला कृषि विकास कार्यालय झापाबाट सहयोग पाएपछि मौरीपालनमा सहजता भएको बताउँछन् स्थानीय अगुवा मौरीपालक महिला कृषक डिकुरादेवी गुरागाई । मौरीपालक कृषकका लागि चरनको समस्या रहे पनि झापाका अधिकांश कृषक मौरीको चरन क्षेत्र खोज्दै छिमेकी जिल्ला इलाम, मोरङ, सुनसरी, धनकुटासम्म जाने गरेको गुरागाईले बताइन् ।  अन्य कृषि व्यवसायभन्दा मौरी पालनमा जोखिम कम र बढी आम्दानी हुने भएकाले आफूले पनि मौरी पाल्न शुरु गरेको बताउँदै उनले भनिन् – चरनको दीर्घकालीन सोच नभएकाले यो व्यवसायमा पनि जटिलता थपिँदै गएको छ ।
शिवशताक्षीका कृषकले मह मात्र होइन मौरी नै विक्री गरेर पनि अहिले राम्रो आम्दानी गरिरहेका छन् । झापामा मौरी पालन व्यवसाय फस्टाउँदै गएपछि यहाँका कृषकले पछिल्लो समय मौरीको घार उत्पादन गर्दै विक्री वितरण गरिरहेका छन् । प्रतिघार मौरी ७ हजार रुपैयाँमा विक्री हुने गरेको र एक जना कृषकले वर्षमा १५ घारसम्म मौरी बेच्न सक्ने भएकाले कृषकलाई दोहोरो फाइदा हुन्छ जिल्ला कृषि विकास कार्यालय झापाका वालि संरक्षण अधिकृत राजेन्द्रप्रसाद खरेलले बताए ।
जिल्ला कृषि बिकास कार्यालय झापाले चालू आर्थिक वर्षमा युवा लक्षित मौरीपालन कार्यक्रममार्फत मौरीको आधुनिक घर निर्माण, मह मदानी लगायतका साम्रगी बनाउन समेत तालिम प्रदान गरेपछि कृषकमा मौरी पाल्न थप उत्साह मिलेको बताउँछन्– जिल्ला कृषि विकास कार्यालय झापाका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत तिम्सिना ।
जिल्लामा अहिले ५ हजारभन्दा बढी कृषकले व्यवसायिक मौरी पालन गरिरहेको बताउँछन् मौरी पालक कृषक तथा सतासी महिला मौरीपालन सहकारी संस्थाकी अध्यक्ष केशमाया थेवे ।


‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ दाहाललाई


यसवर्ष ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ झापाकी मौरी पालक कृषक देवी दाहाललाई प्रदान गरिने भएको छ ।
कृषि विकास मन्त्रालयले कृषिको माध्यमबाट दीगो आर्थिक वृद्धि तथा खाद्य सुरक्षा सुनिश्चित गर्न कृषि पेशामा सम्लग्न भएका व्यवसायी र अर्धव्यवसायी कृषकलाई थप प्रोत्साहन गर्न २०७१ सालबाट यो पुरस्कार प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७०÷०७१ को वजेट वक्तव्यको बुँदा नम्नर ९९मा व्यवस्था भए अनुरुप मन्त्रालयले देशभरबाट छनौट गरिने पाँच जनामध्ये एकजना कृषकलाई  सर्वोत्कृष्ट र चार जनालाई उत्कृष्ट पुरस्कार वितरण गर्दै आएको छ । सोही बमोजिम झापा शिवसताक्षी नगरपालिकाकी दाहाललाई मौरी पालन व्यवसायमा उत्कृष्ट कार्य गरेको भन्दै ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गर्न लागिएको कृषि विकास मन्त्रालयले जनाएको छ । पुरस्कारको राशी एक लाख रुपैयाँ रहेको छ । पुरस्कार असार १५ गते वितरण गरिँदैछ ।
मन्त्रालयले  देशबाट छनोट हुने सर्वोत्कृष्ट कृषकलाई रू. दुई लाख र चारजना उत्कृष्ट कृषकलाई रू. एक लाखको दरले पुरस्कार वितरण गर्दै आएको छ ।
पुरस्कार प्राप्त गर्नका लागि प्रत्येक जिल्लाबाट उत्कृष्ट तीनजना कृषकलाई जिल्ला कृषि विकास कार्यालयले आफ्नो विकास क्षेत्रमा पठाउँछन् र प्रत्येक विकास क्षेत्रबाट ५÷५ जना छनौट गरी राष्ट्रियस्तरमा पठाइन्छ । पाँच विकास क्षेत्रले पठाएका जम्मा २५ जनामध्ये कृषक मध्ये पाँचजना छनोट गरी पाँच जनालाई पुरस्कृत गर्ने गरिएको कृषि विकास मन्त्रालयले जनाएको छ । कृषकलाई दिइने पुरस्कार राष्ट्रपतिको हातबाट वितरण गरिने गरिएको छ ।

कसरी पाइन् दाहालले ‘राष्ट्रपति उत्कृष्ट                   कृषक पुरस्कार’

झापाको शिवशताक्षी नगरपालिका–७मा रहेकी देवी दाहाल २०६० सालबाट मौरीपालन व्यवसाय गर्दै आएकी छिन् । उनले २०६४ सालबाट व्यवसायिक मौरीपालन शुरु गरिन् । दाहालले आफूले मात्रै मौरीपालन गरिनन् यो व्यवसायमा छरछिमेक समेतलाई आवद्ध गराई अहिले मौरीपलक कृषि सहकारी संस्था नै सञ्चालन गरेर बसेकी छिन् । उनी अहिले सो सहकारी संस्थाको व्यवस्थापको रुपमा कार्यरत छिन् । दाहालले अहिले ११५ घार मौरी पालेकी छिन् । उनले अहिले यो व्यवसायबाट वार्षिक १३ लाख रुपैयाँसम्म बचत गर्दै आएकी छिन् । शुुरुमा २ घार मौरी पालेर व्यवसायमा प्रवेश गरेकी उनले महिला भएरपनि वार्षिक १३ लाख रुपैयाँसम्म वचत गर्न सक्ने सहासी महिलाका रुपमा उनी पुरस्कृत हुन लागेको जिल्ला कृषि विकास कार्यालय झापाका वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिम्सिनाले बताए ।
उनले यस अघि जिल्ला र क्षेत्रबाट उत्कृष्ट कृषकको रुपमा पुरस्कृत हुँदै ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’का लागि छनोट हुनुभएको हो जिल्ला कृषि विकास विकास कार्यालय झापाका प्रमुख तिम्सिनाले बताए  ।


महमा झापा आत्मनिर्भर


झापा महका लागि आत्मनिर्भर भएको छ । झापाका कृषकले व्यवसायिक मौरीपलन शुरु गरेसँगै झापा महका लागि आत्मनिर्भर भएको जिल्ला कृषि विकास कार्यालय झापाले जनाएको छ । झापामा पछिल्लो समय दुई हजार घार उन्नत जातको मौरी पालिँदै आएको छ । यहाँका कृषकले अहिले जिल्ला कृषि विकास कार्यालय झापाको सहयोगमा मेलिफेरा प्रजातिको मौरीपालन गरिरहेको जिल्ला कृषि विकास कार्यालय झापाका वरिष्ठ कृषि विकास अधिकृत तिम्सिनाले बताए । मेलिफेरा मौरीबाट
मात्रै यहाँका कृषकले वार्षिक रु. १ करोड ८० लाख रुपैयाँ आम्दानी गर्ने गरेको बताइएको छ ।
त्यस्तै सेरेना प्रजातिको लोकल मौरी यहाँका १५ सय भन्दा बढी कृषकले पालन गरिरहेको जिल्ला कृषि विकास कार्यालय झापाले जनाएको छ । जसबाट ४५ लाख मूल्य वरावरको मह उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालय झापाका वाली संरक्षण अधिकृत खरेलले बताए । नेपालमा उत्पादित मह चीनमा समेत निर्यात हुने गरेको जनाइएको छ । झापामा शिव सताक्षी नगरपालिकासहित कनकाई, शनिअर्जुन, बिर्तामोड नगरपालिका र वुधवारे गाविसका कृषकले व्यवसायिक मौरी पालन गर्दै आएको जिल्ला कृषि विकास कायालयको तथ्याङ्कमा उल्लेख छ ।  

Friday, June 24, 2016

झापामा डेढ करोड रुपैयाँको रवर उत्पादन


सुरुङ्गा(झापा)  असार  ।  झापामा पछिल्लो समय रवर खेती फस्टाउँदै गएको छ ।
 धान तथा अन्य वाली भन्दा रवर खेतीमा राम्रो आम्दानी हुन थालेपछि यहाँका कृषक रवर खेतीतर्फ आर्कसित भएका हुन् । औद्योगीक वालीका रुपमा चिनिएको रवर खेती  सामुदायिक वनलेसमेत लगाउन शुरु गरेको जिल्ला कन कार्यालय झापाका प्रमुख वोधराज सुवेदीले बताउनुभयो । झापामा अहिले २ सय ८० हेक्टर क्षेत्रफलमा रवर खेती हुने गरेको छ । रवर खेतीबाट झापामा आर्थिक २०७२÷०७३ मा रु एक करोड ४४ लाख रुपैयाँ आम्दानी भएको जिल्ला कृषि विकास कार्यालय झापाले जनाएको छ । चालू आर्थिक वर्षमा एक हजार विगाह क्षेत्रफलमा रवरका विरुवा लगाइएकाले आम्दानी दोव्वर हुने साना किसान प्राकृतिक रवर उत्पादक संघले जनाएको छ ।


 खाली जमिनमा रवर खेती गर्न यहाँका कृषक बढी इच्छुक छन् जिल्ला कृषि बिकास कार्यालय झापाका प्रमुख मेघनाथ तिम्सिनाले भन्नुभयो –‘ थोरै लगानीमा राम्रो आम्दानी हुने भएपछि यहाँका कृषक रवर खेतीतर्फ आर्कषित भएका हुन् ।
झापाको जामुनवारीसहित तीन वटा सामुदायिकवन वन र वुधवारे, शनिअर्जुन, धाइजन, पृथ्वीनगर, घेरावारी, राजगढ, खुदावारी, सुरुङ्गाका कृषकले व्यवसायिक रवर खेती गरिरहेको जिल्ला कृषि विकास कार्यालय झापाको तथ्याङ्कमा उल्लेख छ । झापाको सुरुङ्गामा लगाइएको ८ हेक्टर क्षेत्रफलको रवरले मात्रै वार्षिक ६ लाख रुपैयाँ आम्दानी दिने गरेको सामदायिक वन समूहका अध्यक्ष पर्शुराम गिरीले बताउनुभयो । नेपाली वजारमा रवरको अत्याधिक माग रहेको र पूर्वी नेपालमा यसको खेती हुनेगरेपनि सरकारले रवर उत्पादक कृषकलाई प्राथमिकतामा नराखेको कृषकको गुनासो छ ।
झापा, मोरङ र सुनसरीमा मात्रै १५ हजार हेक्टर क्षेत्रफलमा रवर उत्पादन हुने गरेको साना किसान प्राकृतिक रवर उत्पादक संघले जनाएको छ । २०४८ सालबाट झापामा रवर खेती शुरु गरिएको हो । २०४१ सालमा गोरखामा गोरखकाली रवर उद्योग स्थापना भएसंगै झापामा रवर खेती हुन थालेको संघका वाली उपाध्यक्ष शान्तिराम चिमरियाले बताउनुभयो । उहाँका अनुसार झापामा मासिक १० टन रवर उत्पादन हुने गरेको र यसको वजार मूल्य प्रतिकेजी एकसय ८० रुपैयाँ रहेको छ ।
नेपालमा वार्षिक १५ अर्व रुपैयाँ वरावरको रवर आवश्यक भएपनि नेपालमा उत्पादित रवरले ५ प्रतिशत मात्र हिस्सा ओगटेको छ रवर उत्पादक संघका अध्यक्ष पुष्पप्रसाद रेग्मीले भन्नुभयो ।
रवरको बिरुवा लगाएको सातबर्ष पछिबाट उत्पादन (चोप) दिने गर्छ । यसवाट २५ वर्षसम्म निरन्तर आम्दानी लिन सकिने कृषकले बताएका छन् ।
दक्षिण अमेरिकाको ब्राजिलबाट शुरु भएको मानिने रवर खेती २१ देखि ३५ डिग्री सेन्टिगे्रडसम्मको तापक्रममा राम्ररी फष्टाउने  गरेको छ । रबरबाट टायर, बेलन, कण्डम, इलेजर लगायत ५० हजार किसिमका सामाग्री निर्माण गर्न काम लाग्ने गरेको प्राबिधिक रुद्रप्रसाद पौडेले बताएका छन् । रबर सबैभन्दा बढी अक्सिजन फँयाक्ने र कार्वन सञ्चित गर्ने ५औंं वनस्पति हो ।
रबरको उत्पादन हुन छाडेपछि त्यसको काठबाट गुणस्तर काठ, दाउरा, जैविक तेल निकाल्न सकिने बिज्ञहरु बताउँछन् । अक्सिजनको भण्डारकोरुपमा रहेको रबरलाई स–साना टुक्रा जमिन वा करेसावारीमा पनि रोप्न सके आर्थिक स्तरमा वृद्धिका लागि सहयोगी हुने प्राबिधिक पौडेलले बताएका छन् ।

धुवाँ घर बनाउन ५ कृषकलाई अनुदान
झापाली कृषक रवर खेतीतर्फ आर्कसित भएसंगै जिल्ला कृषि विकास कार्यालयले कृषकलाई रवन प्रशोधन भट्टी(धुवाँ घर)मा अनुदान दिएको छ ।
जिल्ला कृषि विकास कार्यालय झापाका प्रमुख मेघनाथ तिम्सिनाका अनुसार  राष्ट्रिय औद्योगीक वाली विकास कार्यक्रम मार्फत तीन जना र जिल्ला कृषि विकास कार्यालयले दुई जनालाई अनुदान दिएको हो ।
रवन प्रशोधन भट्टी (धुवाँ घर) निर्माणमा अनुदान पाउने कृषकहरुमा वालकृष्ण सापकोटा घेरावारी–९,चन्द्रप्रकाश दाहाल पृथ्वीनगर–४,प्राकृतिक रवर सहकारी संस्था वुधवारे, ओमप्रकाश वास्तोला वुधवारे–७ र शान्तिराम चिमरिया धाइजन रहेका छन् ।
कृषकलाई रवर खेतीमा सहजताका लागि ‘रवर स्मोक हाउस’ निर्माणमा सहयोग पु¥याइरहेको  बताइएको छ ।  जमिन वाँझो रहदै गएको क्रममा चुरे क्षेत्रको तल्लो भूभाग र खाली रहेको सामुदायिक वन क्षेत्रमा समेत रवर खेती गरी आम्दानी बढाउन सकिने  जिल्ला कृषि बिकास कार्यालय झापाका वरिष्ठ कृषि विकास अधिकृत तिम्सिनाले बताउनुभयो । प्रशोधन र रवर जन्य घरेलु वढाउन तर्फ प्राविधिक पक्षलाई सवल वनाई कृषकहरुलाई छिमेकी राष्ट्रको अवलोकन गराई रवरमा औद्योगीक फड्को मान सकिने समेत उहाँको भनाई छ ।

Wednesday, June 22, 2016

चट्याङ लागेर सरकार घाइते


सुरुङ्गा (झापा) ८ असार । रागा चराउदै गर्दा चट्याङ लागेर झापामा एक व्यक्ति गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा तोपगाछी– ४ निवासी ५५ वर्षीय सरकार सोरेन रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोरेनलाई मंगलवार चट्याङ लागेको बताइएको छ । चट्याङ लागेर गम्भीर घाइते भएका उनको अहिले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक राजन लिम्वूले जानकारी दिनुभयो ।
चट्याङ लागेर घाइते बनेका सरकारको कम्मर मुनी सम्पूर्ण भाग नचल्ने र घाँटी मुनी डढेको प्रहरी नायव उपरीक्षक लिम्बूले बताउनुभयो ।

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु


सुरुङ्गा (झापा) ८ असार । पूर्व – पश्चिम राजमार्ग  अन्र्तगतको धाइजन – ६ सडक खण्डको देवनीय पुल नजिकै मोटरसाइकलको ठक्करबाट आज दिउसो एक पैदल यात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गरामनी– ३ निवासी ५५ वर्षीय ज्ञानवहादुर लिम्वू रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । लिम्वूलाई मंगलवार राति पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको मे ५ प ३४९६ नम्वरको मोटरसाइकलले ठक्कर दिएको र उपचारको क्रममा आज दिउसो बिर्तामोडस्थित विएण्डसी हस्पिटलमा मृत्यु भएको बताइएको छ ।
दुर्घटनामा सम्लग्न मोटरसाइकल र चालकलाई इलाका प्रहरी कार्यालय चारआलीको नियन्त्रणमा राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापले जनाएको छ । 

मापसे’ गर्दा रु ८ लाख जरिवाना !


सुरुङ्गा (झापा) ८ असार ।  मादक पदार्थ सेवन गरेर सवारी चलाउने झापाका ७९३ सवारी चालक  कारवाहीमा परेका छन् ।

 जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार चालू आर्थिक वर्षको  असार ६ गतेसम्ममा उनीहरु कारवाहीमा परेका हुन् । कारवाहीमा परेका सवारी चलकहरुबाट प्रहरीले रु ७ लाख ९३ हजार रुपैयाँ राजश्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिनुभयो । गत वैशाख महिना सम्ममा ६७९ जना, जेठमा ७६ र असारको ६ गते सम्ममा  ३८ जना कारवानहीमा परेको प्रहरी निरीक्षक गिरीले बताउनुभयो ।
अघिल्लो आर्थिक वर्षमा प्रहरीले ९०३ लाई कारवाही गरेको थियो । जसवाट ९ लाख ३ हजार  रुपैयाँ राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको तथ्याङ्कमा उल्लेख छ ।
मादक पदार्थ सेवन गरेर सवारी नचलाउन आग्रह गर्दै प्रहरीले सवारी चलाउदा सवारी दर्ता किताव र सवारी चालक अनुमति पत्र अनिर्वाय रुपमा बोक्न समेत आग्रह गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गिरीले आज एक सूचना जारी गर्दै ट्राफिक नियम उल्लङ्घन गरे सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६० र १६४ बमोजिम कारवाही गर्ने बताउनुभएको छ । 

Tuesday, June 7, 2016

अस्पताल परिसरमा नै सूर्तीजन्य पदार्थ


अस्पलात, विद्यालय तथा सरकारी कार्यालय परिसर एकसय मिटर भित्र सूर्ती जन्य पदार्थ वेचविखन गर्न नपाइने प्रावधान छ ।
 तर झापाको बिर्तामोडमा रहेका अस्पता
ल परिसरबाट ठूलो परिमाणमा सूर्तीजन्य पदार्थ बरामत गरिएको छ । सूर्ती जन्य पदार्थ नियन्त्रण तथा नियमन सम्वन्धी जिल्ला स्तरीय समितिले आज बिर्तामोडमा अनुगमन गरी त्यस्ता पदार्थ वरामद गरेको हो । बिर्तामोडको मनमोहन, विएण्डसी, कनकाई, विर्तासिटी, तथा ट्राफिक प्रहरी कार्यालय बिर्तामोड र यातायात कार्यालयको एकसय मिटर परिसरमा रहेका पसलहरुमा अनुगमन गरिएको थियो । सो क्रममा एकसय ५० प्याकेट गुड्खा , ६० प्याकेट खैनी, ५० वट्टा चुरोट, एकसय प्याकेट तुलसी र १२ लिटर घरेलु मदिरा वरामद गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत व्रजेश मेहताले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा पसलमा देखाएर राखिएका सूर्ती जन्य पदार्थ मात्र चेतावनी स्वरुप नियन्त्रणमा लिइएको र कानूनले वन्देज गरेको त्यस्ता सूर्तीजन्य पदार्थ पुनः बिक्री वितरण गरेको पाइएमा जरिवाना सहित कारवाही गरिने जनाइएको छ । वरामद साम्रगी इलाका प्रहरी कार्यालय बिर्तामोडमा नष्ट गरिएको प्रहरी नायव उपरीक्षक खड्गवहादुर खत्रीले बताउनुभयो ।
झापामा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको सूर्ती जन्य पदार्थ नियन्त्रण तथा नियमन सम्वन्धी जिल्ला स्तरीय समितिले यस अघिपनि भद्रपुर धुलावारी लगायतका स्थानमा अनुगमन गरी सूर्तीजन्य पदार्थ वरामद गरेको थियो । अनुगमनका क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोड र यातायात कार्यालय मेचीलाई धुम्रपान तथा सूर्तीजन्य सेवन निषेधित क्षेत्र लेखिएको वोर्ड समेत प्रदान दिइएको थियो । अनुगमनमा समितिका सदस्य जिल्ला शिक्षा कार्यालयका सहायक जिल्ला शिक्षा अधिकारी उद्धव विष्ट, जिल्ला विकास समिति झापाका योजना अधिकृत दीपक दाहाल, जिल्ला कृषि विकास कार्यालय झापाका लेखा अधिकृत विरेन्द्र वहादुर वस्नेत , घरेलु कार्यालयका अधिकृत चन्द्र  मिश्र, सञ्चारकर्मी तथा प्रहरीको सहभागीता रहेको थियो ।

च्याउ खाएकामध्ये तीनजनाले नयाँ जीवन पाए



 पाँचथरमा जङ्गलबाट ल्याएको च्याउ खाएर सिकिस्त भएकामध्ये तीनजनाले नयाँ जीवन पाएका छन् ।

च्याउ खाएर १० जनाको मृत्यु भएको समाचार आइरहेका बेला बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार गराएका तीन जनाले भने नयाँ जीवन पाएका हुन् ।

पाँचथर याङ्नाम–२ का ५३ वर्षीय टीकाराम मगर, २० वर्षीय गणेश मगर र १८ वर्षीय रमेश मगर सफल उपचारपछि घर फर्किएका छन् । उनीहरूसँगै सिकिस्त भएका अन्य बिरामीको भने मृत्यु भएको थियो । बिएन्डसीमा डा भूगोल प्रसाईं, डा पेन्चा नेम्वाङ, डा सुमित यादव, डा विकास थापा, डा आश्विनी यादवसहितको टोलीले उनीहरूको उपचार गरेको थियो ।

च्याउ खाएर सिकिस्त भएका आठ जनालाई उपचारका लागि बिएन्डसीमै ल्याइए पनि अन्य पाँच जनाका आफन्तले भने स्वेच्छाले बिरामीलाई उपचारका लागि दमकको अस्पतालमा लगेका थिए । त्यहाँ उपचारका लागि लगिएका पाँचै जनाको मृत्यु भएको जनाइएको छ 

लगातार ५४ औं पटक रक्तदान गर्ने ओमप्रकाश


रगतको अभाव टार्न नेपाल रेडक्रस सोसाइटी सहित विभिन्न संघ–संस्थाले समय– समयमा रक्तदान कार्यक्रमको आयोजना गर्छन् । त्यसरी आयोजना गरिएको रक्तदान कार्यक्रममा अझैं पनि धेरै मानिस रक्तदान गर्न डराउँछन् ।
तर, झापाको बिर्तामोडका एक व्यक्ति त्यस्ता छन्– जसले अहिलेसम्म ५४ पटक रक्तदान गरिसकेका छन् । शनिअर्जुन–६ स्थानी घर भएका ओमप्रकाश लुइँटेल पेशाले व्यवसायी हुन् । उनले अहिलेसम्म ५४ पटक रक्तदान गरिसकेका छन् । २२ वर्षको उमेर हुँदादेखि रक्तदान गर्न शुरु गरेका उनी ४० वर्षको हुँदा सम्ममा ५४ पटक रक्तदान गरिसकेका हुन् । मानवको सर्वाेत्तम कार्य नै सेवा सम्झने उनी रक्तदानलाई नै प्रमुख ठान्छन् र निरन्तर रक्तदान कार्यक्रममा सहभागिता जनाइरहन्छन् । स्वास्थ्य शरीर रहुञ्जेल निरन्तर रक्तदान गरिरहने उनको लक्ष्य सयपटक रक्तदान गर्नु रहेको छ । लुइँटेलले २०५५ सालमा पहिलो पटक रक्तदान गरेका थिए । उनको रक्त समूह ओ पोजेटिभ हो । पहिलोपटक रक्तदान गर्दा आफू कमजोर भएका कारण अलिअलि रिंगटा लागेको सुनाउँदै उनले भने– ‘शरीर स्वास्थ्य राख्नु छ भने निरन्तर रक्तदान गरिरहनुपर्छ, अहिले म पूर्णरुपमा स्वस्थ छु ।’ रक्तदान गर्न मानसिक रुपमा त्यो वेला म तयार थिइन क्यारे त्यही भएर मलाई रिंगटा लागेको रहेछ विगत सम्झँदै उनले भने– ‘अहिले मेरो एक पाउण्ड व्लड ४ मिनेटमा तयार हुन्छ ।’ जतिधेरै रक्तदान ग¥यो उनी नै स्वास्थ्यलाई फाइदा पुग्दो रहेछ, म अहिले हट्टाकट्टा छु, अनि निरोगी पनि लुइँटेलले भने ।  
तीन–तीन महिनाको अन्तरालमा रक्तदान गर्ने लुइँटेलले पछिल्लो समय २०६२ सालबाट निरन्तर रक्तदान गरिरहेका छन् । २०६२÷०६३ सालको जनआन्दोलनका समयमा झापामा रगतको धेरै अभाव भएको थियो । सो समयमा समेत उनले रक्तदान गरेर मृत्युको मुखमा पुगेकालाई नयाँ जीवन दिएका छन् । उनले अस्पतालमा रगत अभाव भएर मृत्युको मुखमा पुगेकालाई पनि रगत दिएर बचाएका छन् । नेपाल रेडक्रस सोसाइटीसँग समन्वय गरेर लुइँटेलले निरन्तर रक्तदान गर्न थालेपछि अहिले उनलाई रेडक्रसले मात्र होइन जसलाई रगत अभाव भएको हो उनीहरुका आफन्तलेसम्म सिँधै फोन गर्ने गरेका छन् । उनलाई सवैभन्दा बढी फोन जब सवारी दुर्घटना हुन्छ, त्यो समयमा आउने गरेको छ ।
रगत अभाव हुँदा नेपाल रेडक्रस सोसाइटी, अस्पताल र विरामीका आफन्तले पनि फोन गर्ने गरेको बताउँछन् उनी । पछिल्लो समय २०७२ साल असार २४ गते उनले एक सुत्केरीको जीवन बचाएको बताए । सुत्केरी महिलालाई ‘फ्रेस व्लड’ चाहिएको रहेछ कतै नपाएपछि मलाई वीएण्डसी हस्पिटल बिर्तामोडबाट  फोन आयो मैले त्यो समय तुरुन्त ‘व्लड’ दिएर उनको ज्यान बचाए लुइँटेलले भने ।
झापाको बिर्तामोडमा नेपाल रेडक्रस सोसाइटीले सञ्चालनमा ल्याएको व्लड वैंक भवनको उद्घाटन हुँदा आयोजना गरिएको रक्तदान कार्यक्रममा आफूले एक महिना २९ दिनको अन्तरालमा पनि रक्तदान गरेको छु भने ।
निरन्तर रक्तदान गर्न रुची राख्ने उनको रक्तदान गरेको प्रमाण स्वरुप नेपाल रेडक्रस सोसाइटीले दिएको सानो कार्ड मात्रै छ । उनी जतिपटक रक्तदान गर्छन् त्यही कार्डमा रेडक्रसका कर्मचारीले विवरण भरेर हस्ताक्षर गरिदिन्छन् । रक्तदान गरेको प्रमाण उनीसँग त्यति मात्रै छ । त्यो भन्दा धेरै उनीसँग अरु केही प्रमाण छैन । समाजका लागि आफूले केही गर्न नसकेको बताउँदै लुइँटेलले भने– म पेशाले व्यवसायी हुँ, अरु समय व्यवसाय हेर्नु पर्ने हुन्छ कसैलाई रगत नपाएर आपत परे दौडिएर रगत दिन जान्छु ।’ समाजसेवामा रुची राख्ने उनी आफ्नो कार्यव्यस्तताले केही गर्न नपाएको बताउँदै उनी भन्छन् – म सजिलो बचत तथा ऋण सहकारी संस्थामा पनि आवद्ध छु । त्यही सहकारीबाट वार्षिक रुपमा आफ्नै अगुवाईमा रक्तदान कार्यक्रमको आयोजना गराउँछु । अरुलाई पनि रक्तदान गर्न प्रोत्साहन गर्ने उनी नेपाल रेडक्रस सोसाइटीसहित विभिन्न संघ–संस्थाले आयोजना गरेका कार्यक्रममा रक्तदान गर्न शुरुमा नै पुग्छन् । नेपाल रेडक्रस सोसाइटीको विशिष्ट सदस्य समेत रहेका उनी कसैलाई कुनै समूहको रगतको अभाव भएको सुने भने पनि आफैं रगत खोजी दिने काम गर्छन् । रक्तदान नै जीवन दान हो भन्ने मर्मलाई उनले राम्ररी बुझेका छन् । उनीसँग अरु–अरु रक्त समूहका रक्तदाता मानिसको सम्पर्क छ । जसलाई जुन व्लड चाहिएको हो तुरुन्त त्यसको जोहो गर्न उनलाई समय लाग्दैन । उनी चनाखो पनि छन्– नेगेटिभ व्लड ग्रुपसँग । त्यही भएर उनी सँधै डायरीमा त्यस्ता रक्तदाता  व्यक्तिको सम्पर्क नम्बर लिएर हिंड्छन् । जस्तो नाम त्यस्तै काम बिर्तामोडका औषधि व्यवसायी रणदेव हजामले भने– उनी अत्यन्त समाजसेवी व्यक्ति हुन् । त्यस्ता मानिसको सँधै हामीले सम्मान गर्न जान्नुपर्छ । उनको नामको शुरुवात नै ओमबाट शुरु भएको र अन्त्य पनि प्रकाशमा पुगेर हुन्छ हजामले भने– ओमप्रकाशले अहिलसम्म रक्तदान गरेर धेरैको जीवनमा प्रकाश छरेका छन् ।
यता नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडका सभापति सजेश शिवाकोटीले यस्ता दातालाई सम्मान गर्नुपर्छ भने । उनले यस्ता दाताको सम्मान गर्नु पनि आफूहरुको प्रमुख दायित्व रहेको बताउँदै रक्तदाता दिवसका दिन लुइँटेलसहित दिपेश वैधलाई हामीले केही गर्ने सोच बनाएका छौं भने । समाजसेवामा अग्रपंक्तिमा रहेका लुइँटेल आफू मात्रै रक्तदान गर्दैनन् जुन संस्थामा आवद्ध छन् त्यही संस्थालाई रक्तदान गर्न लगाएर नेपाल रेडक्रस सोसाइटीलाई पनि महत्वपूर्ण सहयोग पु¥याएको शिवाकोटीले बताए । बिर्तामोडमा निर्माण भएको व्लड वैंक स्थापना गर्न पनि महत्वपूर्ण सहयोग लुइँटेलको छ भन्दै भने– लुइँटेल जस्तै रक्तदान गरिरहने बिर्तामोडका दिपेश वैध र सन्तोष अग्रवाल पनि अग्रपंक्तिमा हुनुहुन्छ । उहाँहरुले पनि ५० पटक भन्दामाथि रक्तदान गरेको मैले सुनेको छु शिवाकोटीले भने । रक्तदाताको पहिचान खुल्ने गरी हामी अब तथ्याङ्क संकलन गरेर अघि बढ्ने रेडक्रसको भावी योजना रहेको शिवकोटीले बताए । 

लुकी–लुकी वजारमा


मधु न्यौपाने र सम्पदा बानियाँको अभिनयमा तयार पारिएको सुन्दर सपना एल्बम्को लुकी–लुकी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सुन्दर पन्तको शब्द र तारावीर पाण्डेको स्वर तथा संगीतमा सजिएको उक्त म्युजिक भिडियो सार्वजनिक भएको हो । म्युजिक भिडियोको छायांकन ज्ञानेन्द्र शर्माले गरेका छन् । योदिन एमएलको निर्देशनमा उक्त म्युजिक भिडियो तयारी गरिएको हो । अभिनयकर्ता न्यौपाने झापाको डाँगीवारीका वासिन्दा हुन् भने सम्पदा काठमाडौंकी स्थायी बासिन्दा हुन् । गायक तारावीर पनि झापाली हुन् ।

Monday, June 6, 2016

विद्यालयलाई प्रोजेक्टर र मासिक सातहजार दिने


 झापाको शनिअर्जुन नगरपालिकामा – ६ मा रहेको नवज्योति प्राथकिम विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि स्थानीय एक दाताले प्रोजेक्टर प्रदान गर्ने उद्घोष गर्नुभएको छ ।
शनिअर्जुन–६ निवासी कञ्चन सापकोटाले प्रोजेक्टरको माध्यमबाट वालवालिकालाई अध्ययन गराउदा सिकाई बढी प्रभावकारी हुने भन्दै विद्यालयलाई प्रोजेक्टर प्रदान गर्ने बताउनुभयो । उहाँले प्रोजेक्टरको माध्ययमबाट वालवालिकालाई पठान पाठन गराउने शिक्षक नियुक्ति गर्न आग्रह गर्दै उक्त शिक्षकलाई आफूले मासिक  सात हजार रुपैयाँ प्रदान गर्ने बिद्यालयमा आज आयोजित कार्यक्रममा उद्घोष गर्नुभयो ।
त्यस्तै सोही ठाउँ निवासी चन्द्रकला थापाले विद्यालयमा सरस्वतीको मन्दिर निर्माण गरिदिने घोषणा गर्नुभएको छ । उहाँले विद्यालयमा अध्ययनरत वालवालिकालाई पूजा गर्न सरस्वतीको मन्दिर अति आवश्यक रहेछ केही महिनाभित्रै म यस विद्यालयमा मन्दिर निर्माण गरिदिन्छु भन्नुभयो ।
सहारा नेपाल वचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडको संयोजनमा भएको रक्तदान कार्यक्रममा स्थानीयदाताले विद्यालयलाई सहयोग गर्ने उद्घोष गरेका थिए ।

सवा दुईलाख पर्यटक आउँदा साढे सत्तरीलाख संकलन



झापाको कनकाई नगरपालिकामा रहेको जामुनखाडी सामुदायिक वन उपभोक्ता समूहले सञ्चालनमा ल्याएको जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रको यस वर्ष २ लाख ३५ हजार ३ सय आन्तरिक तथा वाह्रय पर्यटकले अबलोकन गरेका छन् ।

यो गत वर्षको तुलनामा बढी हो । अघिल्लो आर्थिक वर्ष

२ लाख २१ हजार ३ सय ८८ जना पर्यटकले मात्रै सिमसार क्षेत्रको अवलोकन गरेको जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रका कार्यालय सचिव अमर चौहानले बताउनुभयो । चालू आर्थिक वर्ष २०७२÷०७३ को साउनदेखि वैशाखसम्म सिमसार क्षेत्र आएका पर्यटकका कारण रु ७० लाख ५९ हजार रुपैयाँ आर्थिक संकलन भएको कार्यालय सचिव चौहानले बताउनुभयो । अघिल्लो आर्थिक वर्ष सो समयमा ४७ लाख ४७ हजार ७ सय ६० रुपैयाँ मात्रै आर्थिक संकलन भएको थियो ।
असुरक्षित बन्य जन्तुलाई संरक्षण गरेर राखिएको र सिमसार क्षेत्रलाई व्यवस्थित गर्दै लगिएका कारण यहाँ पर्यटक आवागमनमा वृद्धि भएको हो सामुदायिक वन समूहका अध्यक्ष पर्शुराम गिरीले बताउनुभयो । उहाँका अनुसार सिमसार क्षेत्र २६.५४ हेक्टर क्षेत्रफलमा फैंलिएको छ । जहाँ दुर्लव बन्य जन्तु(अजिङ्गर,गिद्ध,वन हुचिल, चितल,मृग,भालू,दुम्सी, कछुवा, चरी वाघ, पानीऔत लगायत २२ प्रजाति) संरक्षण गरिएर राखिएको छ । त्यस्तै सिमसार क्षेत्रमा नौका विहार, वाल उद्यान, मृगस्थली, झोलुङ्गे पुल, आर्कषक वनभोजस्थल भएका कारण पनि यहाँ पर्यटकको संख्यामा वृद्धि भएको समूहका अध्यक्ष गिरीले बताउनुभयो ।
जामुनखाडी सामुदायिक वन ४३४ हेक्टर क्षेत्रफलमा फैंलिएको छ । जसलाई समूहले ५ वटा व्लकमा विभाजन गरेको र १ नम्वर ब्लकमा सिमसार क्षेत्र रहेको बताइएको छ । पछिल्लो समय जामुनखाडी सिमसार क्षेत्र पूर्वकै महत्वपूर्ण पर्यटकीय स्थालका रुपमा विकास हुँदै गएको छ ।

कोच सङ्ग्राहलय निर्माणका लागि रु ४० लाखको निःशुल्क जग्गा प्रदान


 तत्कालीन घैलाडुब्बा गाविसका प्रधानपञ्च टेकनारायण राजवंशीको स्मृतिमा उहाँका छोरा तथा नातेदारले आठ कठ्ठा जमिन निःशुल्क प्रदान गरेका छन् ।
कनकाई नगरपालिका – ९ घैलाडुब्बामा कोच सङ्ग्राहलय, सूचना केन्द्र र सभाहल निर्माणका लागि रु ४० लाख मूल्य बराबरको जग्गा कोच राजवंशी सांस्कृतिक संरक्षण तथा पर्यटन प्रवद्र्धन केन्द्रलाई प्रदान गरेका हुन् । स्थानीय प्रेमप्रसाद राजवंशीको अध्यक्षतामा पर्यटन प्रवद्र्धन केन्द्रको स्थापना गर्दै उक्त मूल्य बराबरको जग्गा राजवंशीका छोरा तथा आफन्तले निःशुल्क प्रदान गरेका हुन् । जग्गा प्रदान गर्ने छोरा तथा नातेदारहरुमा रतनलाल, खगेन्द्रप्रसाद, प्रेमप्रसाद, राजेन्द्रप्रसाद, सूर्यप्रसाद, सीताराम, विमल, विष्णुप्रसाद र दलबहादुर राजवंशी रहेको स्थानीय समाजसेवी राजेन्द्रप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
यो संगै घैलाडुब्बामा पूर्वमै ठूलो र सुविधा सम्पन्न कोच संग्राहलय निर्माण गरिने भएको छ ।

Saturday, April 23, 2016

पूर्वमै पहिलो पटक झापामा रात्रि क्रिकेट प्रतियोगिता /उपाधि दीघलवैंक भारतलाई


सुरुङ्गा (झापा) ११ वैशाख  । देशमा भइरहेको क्रिकेटको उल्लेख्य प्रगतिसंगै गाउँ गाउँमा यसको चर्चा चुलिएको छ । पछिल्लो समय वैशाख ६ गते भएको विश्व क्रिकेट लिग च्या
म्प्यासिप अन्र्तगत नेपालले  नामिवियालाई पराजीत गरेसंगै क्रिकेटको चर्चा सहरदेखि गाउँसम्म चुलिएको हो ।

यसैक्रममा क्रिकेटका पारखी युवाले दक्षिणी झापाको सरणातीमा पूर्वमै पहिलो पटक नाइट सर्टपिच क्रिकेट प्रतियोगिताको आयोजना गरेका छन् । खुल्ला लिग च्याम्प्यासिप अन्र्तगरगत शुक्रवार राति भएको खेलमा  हरुवाडाँगा भारतलाईपछि पार्दै दीगलवंैक भारतले उपाधि हात पारेको छ । उपाधिसंगै दीघलवैंकले नगाद १५ हजारसहित रुपैयाँ ट्रफी र प्रमाणपत्र हात पा¥यो ।
यता उपविजेतामासीमेत बनेको हरुवाडाँगाले नगद १० हजार सहित ट्रफी र प्रमाणपत्र हात पा¥यो । प्रतियोगिता अन्तर्गत  ५ विकेटको क्षतिमा हरुवाडाँगाले ३७ रनको तार्गेट दीघलवैंकलाई दिएको थियो । उत्त तार्गेटलाई ५ विकेटको क्षतिमा अन्तिम ओभरको तीन वल वाँकी रहँदा दीगलवैंकले विजय सुनिश्चित गरेको थियो ।
आइसीसी क्रिकेटको नियम अनुसार खेलाइएको खेलमा  नेपालका तर्फबमाट ८ वटा (चप्रामारी, दुर्गापुर, राजगढ, रुइमारी, सरणामती, पुरानो झापा वजार, बिर्तामोड, पूर्ण तुङ्ग विर्तासिटी हस्पिटल) सहभागी थिए । त्यस्तै भारतका तर्फबाट ६ वटा ( धन्तोला , कुठीमारी, स्याटोला , हरुवाडाँगा , महमारी, दीघलवैंक) टिमको सहभागी रहेको महेन्द्र निम्न माध्यमिक विद्यालय पन्थापाडाका शिक्षक एलएलवी कुटुवालले जानकारी दिनुभयो ।
शनिवार साँझ  ७ः३० वजेबटा शुरु भएको खेल आज विहान मात्र सकिएको थियो । रातभर भएको प्रतियोगिताको उद्घाटन खेल बिर्तामोड र स्यामटोला भारतवीच भएको थियो । सुरुवाती खेल ८÷८ ओभरको खेलाइए पनि त्यसपछि समय अभावका कारण ६÷६ आभरको मात्रै खेल खेलाइएको महेन्द्र निमाविका शिक्षक कटुवालले बताउनुभयो । महेन्द्र निमाविको खेल मैदानमा भएको प्रतियोगिताको प्रथम सेमी फाइनल खेल हरुवाडाँगा र विर्तासिटी हस्पिटलवीच भएको थियो । जसमा ४ विकेटको क्षतिमा ४६ रनको तार्गेट हरुवाडाँगाले विर्तासिटीलाई दिएको थियो । सम्पूर्ण विकेटको क्षतिमा ३५ रनमा मात्र सिमित रहेर विर्ता सिटीले हार व्यहोरेको थियो ।
 त्यसैगरी प्रतियोगिताको दोस्रो सेमी फाइनल खेल आयोजक टीम पन्थापाडा ए र दीगलवंैकवीच भएको थियो । जसमा आयोजक टीम पन्थापाडाले सात विकेटको क्षतिमा ४४ रन जाडेको थियो । ४५ रनको तार्गेटसंगै मैदानमा उत्रिएको दीघलवंैकले ४ विकेटको क्षमतिमा ५.४ ओभरमा विजय सुनिश्चित गरेको थियो । प्रतियोगिताको  म्यानअफदी सिरिज विजयी टिमका राजेश साहा घोषित भएका थिए भने वेस्टवलर पनि विजयी टिमकै सज्जाद हुसेन घोषित भए ।
आइसिसी क्रिकेटको नियम अनुसार खेलाइएको खेलमा छक्का हान्न नपाउने , छक्का हान्दा आउट हुने र सानो वाउण्ड्री , ९ ÷९ जना खेलाडी र ६ ओभरको खेल खेलाइएको थियो ।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १५ हजार पुरस्कार नेपाका एमालेका स्थानीय नेता एलपीसावाँ लिम्वूले प्रदान गरेका थिए भने म्यान अफद सिरिजको नगद दुई हजार एक सय राशीको पुरस्कार तासा इन्टरनेशनल मेनपावर बिर्तामोडले प्रदान गरेको थियो ।
त्यस्तै दुई हजार एक सय राशीकै अर्काे वेष्ट वलरको पुरस्कार नेपाली काँग्रेसका स्थानीय नेता जयनारायण साहाले प्रदान गरेको खेल आयोजक टीमका संयोजक रहमदतुल्लाले जानकारी दिनुभयो । क्रिकेटको विकासमा समर्थन जनाउन पूर्वमा नै पहिलो पटक रात्रि क्रिकेट प्रतियोगिताको आयोजना गरिएको पनि अध्यक्ष रहमदतुल्लाले बताउनुभयो ।

Friday, April 22, 2016

चालकको आन्दोलनले पढाई प्रभावित


सुरुङ्गा (झापा) १० वैशाख । तबल बृद्धि, दसैँ खर्च र  निःशुल्क शिक्षाको माग गर्दै निजी विद्यालय
चालक संघ झापाले आजबाट आन्दोलन शुरु गरेको छ ।
  तीन सूत्रीय माग राख्दै चालक तथा सहचाकलले  आन्दोलन शुरु गरेसंगै  झापाका निजी बिद्यालयको पढाई पूर्ण रुपमा प्रभावित भएको छ ।
चालक संघ आन्दोलित हुँदै आजबाट सवारीसाधन नचलाउदा निजी विद्यालयको पठनपाठन प्रभावित भएको हो ।
निजी विद्यालय चालक संघ झापा अध्यक्ष पदमलाल तामाङले प्याब्सन, एनप्याब्सन र हिसान झापालाई मागबारे जानकारी गराएपनि कुनै चासो नदिएका कारण आफूहरु आन्दोनमा उत्रनु परेको बताउनुभयो ।  ‘हामीले न्यूनतम् माग राखेका छौँ’ अध्यक्ष तामाङले भन्नुभयो – माग पूरा नभएकाले बाध्य भएर आन्दोलनमा उत्रिएका हौं ।
झापामा निजी विद्यालयका चालकहरुले ५÷६ हजार र सहचालकले ३÷४ हजार रुपैयाँ मात्रै तलव पाउने गरेको अध्यक्ष तामाङले बताउनुभयो । ‘कुनै – कुनै विद्यायलमा ८ देखि १२ हजार रुपैयाँ सम्म पनि तलव छ’ उहाँले भन्नुभयो – काम एउटै भएपछि सबैको तलब समान हुनुपर्छ भन्ने हाम्रो माग हो ।
चालक संघले आन्दोलनको कार्यक्रम अन्तरगत बैशाख १० गतेदेखि माग पूरा नभएसम्म विद्यालयको सवारी नचलाउने र चलाउन समेत नदिने निर्णय गरेको छ । यदि कसैले जोरजबरजस्ती गरेर विद्यालयका सवारी चलाए त्यसबाट आउने परिणामको जवाफदेही स्वयम् विद्यालय नै हुनुपर्ने चेतावनी समेत दिएको छ । त्यस्तै, वैशाख ११ गते ¥याली र १२ गते प्याब्सन तथा एनप्याब्सनको कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको संघले जनाएको छ ।
जिल्लाभरका करिब १ सय ६७ जना चालकहरु संगठित भइसकेको र हुनेक्रम जारी रहेको अध्यक्ष तामाङले बताउनुभयो । झापामा ४ सय ११ वटा निजी विद्यालय रहेको जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले बताउनुभयो ।

Tuesday, April 19, 2016

जलविद्युत आयोजनामा लगानी गर्न पूर्वका नागरिक आकर्षित



सुरुङ्गा (झापा) ७ बैशाख  । रु  ११ अर्ब ८६ करोड रुपैयाँको लागतमा साहस उर्जा (प्रा.) लि.ले आफ्नो शतप्रतिशत लगानी रहने गरी सोलुखोला(दुधकोशी) जलविद्यूत आयोजना सञ्चालन गर्ने भएपछि झापासहित पूर्वी नेपालका नागरिक जलविद्युत आयोजनामा लगानी गर्न आकर्षित भएका छन् ।
हाइड्रो भेञ्चर (प्रा.)लि.द्वारा प्रवद्र्धित ८६ मेघावाटको सोलुखोला(दुधकोशी) जलविद्यूत सञ्चालन गरिने भएपछि यहाँका नागरिक आयोजनामा लगानी गर्न इच्छुक भएका हुन् । निजी क्षेत्रबाट बन्न लागेको नेपालकै सबैभन्दा ठूलो र तथ्यांक अनुसार उच्च प्रतिफल दिने आयोजनाको रुपमा पहिचान भएको साहस ऊर्जाका सञ्चालक सदस्य एवम् हाइड्रो भेञ्चरका अध्यक्ष मीनराज कँडेलका अनुसार ४ हजार जना भन्दा बढीले शेयर खरिद गरिसकेका छन् । त्यसमा अधिकांश पूर्वी नेपालका नागरिक रहेको बताइएको छ ।

झापाका मात्र ७ सय जना भन्दाबढी सर्वसाधारणले साहस ऊर्जाको हाइड्रो भेञ्चरद्वारा प्रवद्धित सोलु खोला जलविद्युत आयोजनामा लगानी गरेको साहसका सञ्चालक सदस्य महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो ।
 सहकारी संस्था, सहकारीकर्मी तथा अन्य सर्वसाधारणले शेयर खरिद गरिरहेको गिरीले बताउनुभयो ।

झापाको बिर्तामोड(चारपाने)स्थित सहारा नेपाल (साकोस)ले समेत उक्त हाइड्रोमा लगानी गरेको बुझिएको छ । कम लगानीमा उच्च प्रतिफल दिने अनुमान गरिएको उक्त आयोजनाको शेयर सदस्य बनेर लगानी गर्ने अन्तिम समयसीमा वैशाख मसान्त तोकिएको छ । सहारा नेपाल (साकोस)मा फारम भरेर शेयर रकम जम्मा गर्नेको चाप पनि बढेको पाइएको छ । सो अवधिमा साहस उर्जाले ३० प्रतिशत रकम जम्मा गर्नुपर्नेमा त्यो लगभग पूरा भइसकेको जनाइएको छ । ७० प्रतिशत लगानी बैंकले गर्नेछन् । त्यसका लागि जेठबाट सम्झौताको काम अघि बढ्ने सञ्चालक समितिले जनाएको छ ।
आयोजनाको मुख्य ड्याम(बाँध) सोलुखुम्बुको कांगेल र तिङ्ला गाविसकोबीचमा पर्ने सोलुखोलामा रहने बताइएको छ  । त्यहाँबाट ४६ सय मिटर लामो टनेलमा छिराइएको पानी १६५५ मिटर लामो फलामे पाइप (पेनस्टोक) हुँदै सोलुखुम्बुकै पञ्चन गाविसमा बनाइने पावर हाउसमा खसाइने जनाइएको छ । त्यहाँ उत्पादित विद्युत सोलुकै तिङ्ला सवस्टेशन मार्फत राष्ट्रिय प्रशारण लाइनमा जोडिनेछ । पावर हाउसबाट तिङ्ला सवस्टेशनको दुरी १२ किलोमिटर मात्र रहेको छ ।

सन् २०२०को मार्चसम्ममा सोलुखोला जलविद्युत आयोजना निर्माण पूरा भई विद्युत उत्पादन शुरु गर्ने गरी साहस ऊर्जाले एक बर्षअघि नै सरकारसँग सम्झौता(पीपीए) गरिसकेको छ । तर त्यो भन्दा  एक ÷डेढ बर्ष अगावै आयोजनाको निर्माण पूरा भई विद्युत उत्पादन हुने अध्यक्ष कँडेलले बताउनुभयो ।

अहिले बाटोको ट्रयाक खोल्ने, बाटो बनाउने लगायतका आधारभूत काम भइरहेको जनाइएको छ । असोजबाट काम दू्रत गतिमा अघि बढ्ने बताइएको छ । ०७० सालमा स्थापित साहस उर्जाले गुल्मीमा पाँच मेघावाटको विद्युत आयोजना निर्माण पूरा गरी एक बर्षदेखि सञ्चालनमा ल्याइसकेको  छ । निजी क्षेत्रको सक्रियतामा सामुदायिक तथा सहकारी तहमा साझेदारी (पीपीसीपी) अवधारणा अन्तर्गत बजारमा छरिएर रहेको पूँजीलाई एकत्रित गरी जलविद्युत उत्पादनमा लगाउने ध्येयका साथ साहस उर्जाले काम गरिरहेको सञ्चालकको भनाइ छ ।
‘सोलुखोला(दुधकोशी) जलविद्युत आयोजना निजी क्षेत्रबाट बन्न लागेको नेपालकै सबैभन्दा ठूलो आयोजना भएकोले यो झापासहित पूर्वेली मात्र होइन आम नेपालीको गौरबको आयोजना हो’– साहसका सञ्चालक सदस्य महेन्द्रकुमार गिरीले भन्नुभयो – यसले लगानीकर्तालाई उच्च प्रतिफल त दिने नै छ, मुलुकलाई ऊर्जा संकट मुक्त गर्न ठूलो योगदान पु¥याउनेछ ।’

निजी, समुदाय र सहकारीको सहकार्यमा जलविद्युत परियाजनाको सञ्चालन र विकास गर्ने उद्देश्यले आफूहरुले काम गरिरहेको बताउँदै साहस उर्जा सञ्चालक समिति अध्यक्ष हिमप्रसाद पाठकले भन्नुभयो – ‘प्रतिफलको सुनिश्चितता गर्दै मुलुकको आर्थिक समृद्धिका लागि योगदान पु¥याउनेछौं ।’

राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा पूर्व सांसद डा. डिल्लीराज खनाल र पूर्व अर्थसचिव रामेश्वर खनाल मुख्य सल्लाहकार रहेको साहस उर्जाको सञ्चालकमा पाठक, कँडेल र गिरी सहित परितोष पौड्याल, भोजबहादुर साह, मुक्तिराम पाण्डे र जिज्ञासा सुवेदी रहनुभएको छ । 

Friday, April 15, 2016

जन्माएकी छोरीले नै आमालाई अन्माइन्


सुरुङ्गा (झापा) ३ बैशाख । आमा वुवाले आफ्ना छोरा छोरीको विवाह गरिदिएको तपाई हामी सबैले देखेका छौं । तर, आफैंले जन्माएकी छोरीले आमालाई अन्माइन् भन्दा तपाईलाई पत्यार नलाग्न सक्छ ।
यो यथार्थ झापाको बिर्तामोड नगरपालिकाको  हो । बिर्तामोड नगरपालिका–७ बिर्तामोड निवासी ३७ वर्षीया अंम्विका कार्की शिवाकोटीको विवाह छोरी १८ वर्षीया अप्सना शिवाकोटीले गरिदिएकी हुन् । भारतको राजस्थानका प्रकाश राहुल खटवानीसंग अप्सनाले आमा अम्विकाको विवाह गरेर आज अन्माइदिएकी छन् । एकवर्ष अघि सामाजिक सञ्जाल फेसवुक मार्फत उनीहरुको चीनजान भएपछि उनीहरुको प्रेम झाङिगदै गएको थियो ।
 अप्सनाले आफ्नी आमा र प्रकाशबीचको प्रेम सम्वन्ध बढ्दै गएको थाहा पाएपछि सामाजिक परम्परा अनुसार आज झापाको शनिअर्नुन नगरपालिकामा रहेको पूर्वको पशुपतिनाथका नामले परिचित अर्जुनधारा जलेश्वरधाममा  आमाको विवाह गर्दै अन्माएकी हुन् ।  धाम परिसरमा अप्सनाले हिन्दू संस्कार अनुसार नै आमा अम्विका र प्रकाशबीचमा विवाह गराएपछि हेर्नेको घुँइचो लाग्यो ।
सामाजिक संघ संस्थामा सक्रिय अम्विका अहिले वीरता लेडी जेसीज बिर्तामोड, गोदावारी समाज लगायत थुप्रै संघ संस्थामा आवद्ध छिन् । सामाजिक क्षेत्रकी अगुवा अम्विकाको विवाह छोरीले गर्दैछिन भन्ने सुनेर धाम परिसरमा धेरै स्थानीयवासीको उपस्थिति थियो । आफ्नै विवाह गर्ने उमेरमा किन गरिन् त आमाको विवाह अप्सनाले ? धेरै जनाको प्रश्नको सहजै हाँसीहाँसी उत्तर दिदै अप्सनाले भनिन् –  आमालाई गाह्रो नहोस् भनेर मैले आमाको विवाह गरिदिएकी हुँ ।
अंम्विकाको विवाह  २०५३ सालमा बिर्तामोड निवासी खगेन्द्र शिवाकोटीसंग भएको थियो । तर, उनीहरुको दाम्पत्य जीवन धेरैदिन टिक्न सकेन । २०६७ सालमा खगेन्द्रको आफ्नै घरको छतबाट झरेर दुखद् निधन भएपछि अम्विका र अप्सना मात्र घरमा बस्तै आएका थिए ।
अक्थ्थोलोजी (नेत्र रोग विशेषज्ञ) अध्ययनको सिलसिलामा अप्सना पनि भारतको वेङ्लोरमा अध्ययनका लागि गएपछि अम्विका पछिल्लो समय एक्लै बस्तै आएकी थिइन् । बिर्तामोडमा नै व्यवासय सञ्चालन गर्दै आउनुभएकी आमालाई म अध्ययन गर्न भारत गएपछि असहज नहोस् भनेर आमा र मेरो सल्लाहमा नै मैले उहाँको विवाह गरिदिएकी हुँ अप्सनाले भनिन् ।
आफ्नै जन्म दिने आमालाई अन्माउदै अप्सनाले भनिन्– ‘आमाको वाँकी जीवन हासीखुशी बितेको हेर्न चाहान्छु , आमालाई दाम्पत्य जीवनको शुभकामना ।’

Tuesday, April 12, 2016

ढुंगाको मुटु हेर्नेभए तालतलैया जाऔं


झापा, बैशाख १ ।
तपाइले चाहेको कुनै कुरा तपाइलाई  कसैले सहजै दिएन वा तपाइको भनेको कुरा सुनेर पनि नसुने जस्तै गरी अटेरी ग¥यो भने तपाई हामी सबैले भन्ने एक मात्र शव्द हो  ‘ कस्तो ढुंगाको जस्तो मुटु भएको’ मान्छे ।
 कसैको निष्ठुरीपनलाई उपमा दिनुपर्यो भने हामी यसै भन्छौ । कठोर, नपग्लिने र निर्दयी मान्छेहरुका लागि ‘ढुंगा जस्तो मुटु’को उपमा हामी दिनपछि पर्दैनौं । तर  ढुंगाको मुटु कस्तो हुन्छ, कसैले पनि देखेको हुँदैन ।  कसैले नदेखेको विषयलाई देखाउने विश्वमा वैज्ञानिक र उनीहरुजस्तै सिर्जना सोच्ने कलाकारहरु पनि छन् । सुनसरीको इटहरी उपमहानगर पालिका स्थित तालतलैया सिमसार क्षेत्रमा पुग्नेले चाही पक्कैपनि ढुङ्गाको मुटु देखेको हुनुपर्छ । किनकी त्यहाँ  कलाकारहरुले यस्तो सोचे, जुन सोंचका कारण अहिले निकै मनमोहक विशाल ढुंगाको मुटु तयार भएको छ । निर्जिव ढुंगामा सजिव झै लाग्ने मुटु आकृति बनेपछि अहिले सुनसरीको इटहरीस्थित तालतलैयाको चर्चा चुलिएको छ । यो क्षेत्रमा ढुंगाको मुटु मात्र धड्किँदैन, ढुंगा नै हाँस्छ, ढुंगा नै रुन्छ र अनि ढुंगा नै जीवनका सारा अवयवहरुको बिषयमा बोलिरहन्छ, कलाकृतिमार्फत । यहाँ पुग्ने जो कोहीले मानव निर्मित ढुङ्गाको मुटु हेरेर आफ्नै मुटु धड्किएको महसुस गर्छन् ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाण्डौ, इटहरी उपमहानगरपालिका र उद्योग वाणिज्य संघ इटहरीको संयुक्त आयोजनामा पर्यटकीय क्षेत्र तालतलैयामा एकता मूर्तिकला कार्यशाला भएको थियो । जतिवेला देश तथा विदेशका मूर्तिकारहरुले आफ्नो कला प्रस्तुत गरेर   इटहरी उपमहानगरपालिका २ र ३ को बीच भागमा रहेको चारकोसे जङ्गल क्षेत्रको मनोरम पर्यटकीय क्षेत्र तालतलैयामा  आफ्नो कलाले मान्छेको मन मस्तिष्कलाई खिचेका छन् ।


प्राकृतिक ताल र बहुमूल्य जडीबुटी बुट्यान अनि वनभोजका लागि अत्यन्तै सुन्दर मानिएको तालतलैयामा मन लोभ्याउने स्थल निर्माण गर्ने उद्देश्यका साथ विदेशी पाँचसहित ३३ मूर्तिकारहरुले आकर्षक मूर्तिहरु निर्माण गरेका छन् । अमूर्त ढुङ्गामा मानिसलाई एकताको सूत्रमा बाँध्न जरुरी छ नभए देश बन्न सक्दैन भन्ने सन्देश प्रवाहका लागि छिनो, रेतीलगायतका उपकरणबाट तयार पारिएका जिवन्त मूर्ति इटहरीका लागि सम्पदा हुनेमा दुईमत छैन ।


एउटा खराव नियत बोकेको मानिसका लागि  यिनै ढुङ्गाले कसैको ज्यान लिन सक्थ्यो, तर, कलाकारको हातमा परेपछि यिनै ढुङ्गाले इटहरीलाई जीवन्तता दिने काम गरेको छ त्यहाँ पुग्ने जो कसैले बोल्ने जनजीव्रोको भाषा नै भएको छ । १८ दिने सम्म लगाएर तालतलैया क्षेत्रमा ३५ वटा कलाकृति तयार पारिएका छन् ।

सिमसार क्षेत्रमा प्राकृतिक वातावरण, देशको परिस्थिति लगायतका भावहरु समेटिएर  मूर्तिहरु निर्माण गरिएको छ । विगतमा चल्दै आएको विभिन्न देव देवताहरुको मूर्ति मात्र बनाउने परम्परालाई रुपान्तरण गर्दै विभिन्न फरक भाव समेटिएका मूर्तिहरु निर्माण भएपछि इटहरीको पुग्ने जो कोही एक पटक ढुङ्गाको मुटु हेर्न तालतलैया पुग्ने गरेका छन् ।  सिमसार क्षेत्रमा झण्डै ५६ लाख रुपैयाँ खर्च गरेर मानव निर्मित विभिन्न प्रकारका मूर्तिले आन्तरिक तथा वाह्रय पर्यटकको मन लोभ्याएको छ । कुनैबेला सिमसार भनिने यो क्षेत्र अहिले मानव निर्मित मुटु लगायत विभिन्न कला कृतिका कारण धनसार क्षेत्र भएको छ।


क – कस्का सृजना छन्

झापाका हिम्मत नेम्वाङले एकता र प्रेममूलक मूर्ति तयार गरेका छन् । तर, इजरायली ७२ वर्षीया नागरिक  तानिया प्रेमीगंरले ढुंगालाई खोपेर बनाएको मुटु यहाँको मुख्य आर्कषण हो । जीवीत झंै देखिने ढुङ्गाको यो मुटुले संसारका जुनसुकै देशमा  बस्ने मानिसहरुका लागि उत्तिकै महत्व छ भन्ने सन्देश दिन खोजिएको छ ।
त्यस्तै चितवनका कलाकार दीपक रसाईलीले निर्माण गरेको मूर्तिमा  देशको भू–दृश्य देख्न सकिन्छ । मुलुकको भौगोलिक सुन्दरता कल्पना गरेर आम नेपालीलाई जिम्मेवारी पनि मूर्तिमार्फत उनले सुम्पिएका छन् । रुपन्देहीका मूर्तिकार बुद्ध थारुले निर्माण गरेको मुर्तिमा आमा र बच्चाको माया झल्किएको छ । आमा र बच्चाको मायालाई उदाहरणका रुपमा दिंदै उनले मायाको महत्व र भाव झल्काउने कोशेली मूर्तिमार्फत छाडेका छन् । भारतका मूर्तिकार अनुपकुमार गुप्ताले निर्माण गरेको मूर्तिमा ग्रीन पीसको भाव देख्न सकिन्छ । भारतीय भएर पनि उनले नेपालको अहिलेको परिस्थितिलाई चित्रण गर्न सफल देखिएका छन् । काठमाण्डौका कलाकार सुदर्शन विक्रम राणाले निर्माण गरेको मूर्तिमा एकता र मित्रताको महत्व झल्किएको छ । चितवनका अर्का मूर्तिकार दिनेश्वर महतोले तयार गरेको मूर्तिमा  प्रकृति र संस्कृतिलाई एकैपटक देख्न सकिन्छ ।

बाग्लुंगका मूर्तिकार ओम खत्रीले जैविक विविधता र एकता अनि तालहरु समेटिएको दुईवटा ढुङ्गाबाट फरक भाव झल्कने मूर्ति तयार गरेका छन् । उनले निर्माण गरेको मूर्ति हेर्दा हिलोमा फुलेको कमलको महत्व सँगै जीवन र मृत्युलाई पनि कलाबाटै तुलना गर्ने प्रयास गरिएको छ । इलामका विष्णुप्रसाद श्रेष्ठले एउटै मूर्तिमा पोखरी भित्रबाट उम्रदै गरे पालुवा र वृद्धि अनि विकासको बारेमा जियोमेट्रीकल र अर्गा्निक कुरालाई समेटेर प्रकृतिको महत्व झल्काउने मूर्ति तयार गरेका छन् । भोजपुरका नारदमणी हार्ताम्छालीे नेपालका अग्रज मुर्तिकार हुन् । उनले निर्माण गरेको मूर्तिमा आदरभाव झल्कन्छ । नमस्कार आकारमा उनले निर्माण गरेको  मूर्तिमा भौगोलिक सुन्दरता, समुदाय, पुस्तान्तर र बाद, प्रतिवाद अनि सम्वादको भावना झल्किएको छ । चितवनका प्राज्ञ लालकाजी लामाले भौगोलिक एकतालाई जोड दिँदै हिमाल, पहाड र तराईलाई सूत्रबद्ध गर्ने प्रयास गरेका छन् । इलामका विजयकुमार श्रेष्ठले निर्माण गरेको मूर्ति अमूर्त छ । तर, त्यहाँ अन्तर विचारको कारण उब्जने समस्या र समाधानका लागि एकताको आवश्यकतालाई पनि जोड दिइएको छ ।
काठमाण्डौकी सुनिता राणाले जीवको संरक्षणलाई जोड दिने कलाकृति बनाएकी छिन् । सिंगो ढुंगालाई जीवनसँग कलामार्फत तुलना गरिएको छ ।

कलाकार  राजन काफ्लेको मूर्तिमा मायाप्रेम र सरप्राइजको भाव देख्न सकिन्छ । मूर्तिमा घाम छाया, खस्रो मसिनो, सकारात्मक नकारात्मक भावलाई उतार्ने प्रयास गरिएको छ । यस्तै, गंगाधार सारुले आफ्नो मूर्तिकलामा प्रकृतिको सुन्दर शैलीमा चित्रण गरेका छन् ।
मोरंग पथरीका मञ्जुल बराइलीले मृत्यु शैयामा पृथ्वी भन्ने शीर्षकमा कृति तयार गरेका छन् । मूर्तिमा युद्ध, वन विनाश, प्रदुषणको चित्रण गरी त्यसको कारक तत्व मानिस नै भएको र मानिसले नै जोगाउन पनि सक्छ भन्ने सन्देश दिइएको छ ।

मलेशियाका मूर्तिकार म्याक्सिनले बनाएको मूर्तिमा महिलाको आकृति देख्न सकिन्छ । मकवानपुरका लक्ष्मण भूजेलको मूर्तिमा पत्रे बीजलाई प्रस्तुत गरी त्यहाँ मानव चित्रण गर्न खोजिएको छ ।
गुल्मीका हरिराम अधिकारीले तयार गरेको मूर्तिमा आँसु र हाँसोको सहज मिश्रण गरिएको छ । इटहरीका प्राज्ञ धनबहादुर याक्खाले तयार गरेको मूर्तिमा प्रकृति र नारीको बारेमा चित्रण गरिएको छ । कलाकार राजु पिठाकोटेले तीनवटा मूर्ति तयार गरी तीन पुस्तालाई सहज रुपमा चित्रण गरेका छन् । मानवचक्र पनि उनको मुर्तिमा पाउन सकिन्छ । चितवनका भीमबहादुर श्रेष्ठ जीवन र जगतका बारेमा पनि मूर्तिमार्फत चित्रण गर्न सफल भएका छन् ।

सुनसरीको इटहरीमा रहेको तल तलैया सिमसार क्षेत्रलाई जस्तै अन्य पर्यटकीय क्षेत्रको विकास र विस्तार गर्ने हो भने पूर्वका धेरै पर्यटकीय क्षेत्र धनसार हुनेमा दुईमत छैन ।

Thursday, April 7, 2016

हुलाकी मार्गको भद्रपुर – राजगढ सडक खण्डको शिलन्यास


सुरुङ्गा(झापा) २५ चैत ।   बहुप्रतिक्षित हुलाकी मार्गको भद्रपुर – राजगढ सडक खण्ड बन्ने पक्का भएको छ ।
१० वर्ष अघि शिलन्यास गरिएको उक्त सडक खण्डको आज पुनः शिलन्यास गरिएसंगै हुलाकी मार्ग बन्ने पक्का भएको हो ।  हुलाकी मार्ग आयोजन अन्र्तगत निर्माण हुन लागेको सो सडक खण्डको आज राप्रपा नेपालका महामन्त्री राजेन्द्र लिङ्देनले शिलन्यास गर्नुभयो ।
हुलाकी मार्ग पहिलो चरणमा २० किलोमिटर निर्माण सम्पन्न हुने भएको छ । उक्त सडक खण्डको शून्य किलोमिटर अर्थात जलथलको बडावारीमा आज  आयोजित कार्यक्रमका बीच पण्डितद्वय अर्जुन भट्टराई र कुश्माखर आचार्यले विधिवत रुपमा वेदका मन्त्र उच्चारण गरेपछि सडकको शिलन्यास गरिएको थियो ।
२०७५ साल साउन १२ गतेभित्र सडकको निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भएको निर्माण कम्पनीका निर्माण व्यवसायी तेजकुमार कुरुङ्वाङ्गले बताउनुभयो । १३ प्रतिशत कर वाहेक उक्त सडक रु २६ करोड ४३ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको  आयोजनका इन्जिनियर उपेन्द्र दासले बताउनुभयो । उहाँका अनुसार हुलाकी राजमार्गको झापा खण्डमा पहिलो पटक सडक कालोपत्रे हुन लागेको हो । झापामा हुलाकी मार्ग अन्र्तगत  ५० किलोमिटर हुलाकी मार्ग पर्दछ । सो खण्डको २० किलोमिटर सडक तत्काल निर्माण हुने र सडकको चौडाई साढे १० मिटर भएपनि कालोपत्रे साढे पाँच मिटर मात्र हुने आयोजनाका इन्जिनियर दाशले बताउनुभयो ।
हुलाकी माग भारत सरकारको सहयोगमा निर्माण हुन लागेको बताइएको छ  । उक्त सडकको निर्माणको ठेक्का आशिष याक्थुम्वा जेवी फिदिम – १ पाँचथरले लिएको बताइएको छ ।
सडक निर्माणका लागि २०७२ साल माघ १३ गते नेपाल सरकार र निर्माण व्यवसायी कन्दङ्वाबीच सम्झौता भएको बताइएको छ  ।
सडक शिल्यास कार्यक्रममा बोल्दै राप्रपा नेपालका महामन्त्री लिङ्देनले सडक निर्माणका क्रममा सबैलाई सहयोग पु¥याइदिन आग्रह गर्नुभयो । उहाँले यो सडक पटक पटक निर्माण हुने भनिएपनि प्राविधिक कारणले निर्माण हुन नसकेको र यस पटक निर्माण कार्य सुरु भइसकेकाले सबैको सहयोग आबश्यक रहेको धारणा राख्नुभयो । निर्माण व्यवसायी कन्दङ्वाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन झरेन्द्र पराजुलीले गर्नुभएको थियो ।

Monday, April 4, 2016

दामाटारका महिलाले झोलुङ्गे पुल बनाएपछि आठसय उपभोक्ता लाभान्वित


सुरुङ्गा (झापा) २२ चैत ।  कुनै समय चुल्हा चैका र घर धन्दामा मात्र सीमित  रहन्छन भनिन्थ्यो महिलाहरुलाई । तर, तिनै महिलाहरु अहिले पुरुषहरु सरह राजनीतिक क्षेत्रमा होस् या त सामाजिक क्षेत्र वा आर्थिक क्षत्रमा नै किन नहोस् पुरुषले जस्तै उत्कृष्ठ काम गर्दै समाज रुपान्तरणमा महत्वपूर्ण योगदान पु¥याउन सफल भएका छन् ।
महिलाको सक्रियतामा समाजमा भए गरिएका कामले सकारात्मक प्रभाव पार्न थालेपछि उनीहरुलाई हेर्ने दृष्टिकोणमा परिर्वतन हुन थालेको छ । पुरुषको तुलनामा अघि बढेका महिलाहरु पछिल्ला दिनमा उदाहरणको रुपमा समाजमा गनिन थालेका छन् । महिलाहरुले विकास निर्माणको क्षेत्रमा यस्तै एउटा उदाहरण पेश गरेका छन् झापाको बुधबारे गाविस वडा नम्बर १ दामाटार खोलाको झुलुङ्गे पुल निर्माण गरेर ।
स्थानीय सामुदायिक संस्थाको पहलमा महिलाहरुको मात्रै समिति बनाई बुधबारे – १ स्थित दामाटार खोलामा झोलुङ्गे पुल निर्माण भएपछि त्यहाँका २०१ घरधुरीका ८ सय बढी उपभोक्ताको दिनचर्या नै फेरिएको छ अहिले । विभिन्न चरणमा यस अघि गरिएका पुल निर्माणका प्रयासहरु असफल भएपछि निराश बनेका त्यहाँका स्थानीय उपभोक्ताको बषौँ देखिको सपना पुरा गरिदिए त्यहाँका महिलाहरुले । दातृ संस्था  हेल्भेटासको रु २५ लाख ९० हजार, जिल्ला विकास समिति झापा र बुधबारे गाविसको ८४÷ ८४ हजारको आर्थिक सहयोग पाएपछि महिलाहरु झोलुङ्गे पुल निर्माणमा जुटे र पुल निर्माण गरी छाड्ने अठोटका साथ लागि परे फलस्वरुप उनीहरुले आफ्नो अठोट पुरा गरेरै छाडेको बताउनुहुन्छ दामाटार झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिकी अध्यक्ष यमुना चापागाई । सार्वजानिक काममा सबैको सहमति र सरकार्यमा अघि बढ्नुपर्ने हुँदा चुनौति  त हुन्छ नै । तर, त्यस्ता चुनैतिलाई पनि थाँती राख्दै त्यहाँका महिलाले पुल निर्माण गरेरै छाडे ।
बालबालिकालाई विद्यालय जान, बिरामी भएपछि उपचार गर्न दैनिक आवजजावत लगायतका समस्याबाट बषौँदेखि प्रताढित स्थानीय उपभोक्ता पुल निर्माणसँगै अहिले हर्षित भएका छन् । बषौँ देखिको समस्या पुल निर्माणसँगै दुर भएको छ भन्नुहुन्छ पुल निर्माण समितिकी अध्यक्ष चापागाइँ ।
कष्टपूर्ण दैनिकीबाट गुजारा चलाईरहेका उपभोक्ताका लागि झोलुङ्गे पुल अहिले त्यस क्षेत्रका स्थानीयका लागि वरदान नै साबित भएको छ । त्यस कार्यमा अहोरात्र खटेर त्यहीका महिलाहरुले ८ सय बढीको सपनालाई पुरा गरेका छन् । केही गर्छु भन्ने भावनाले अघि बढे हरेक कार्यमा महिलाहरु पनि उत्तिकै सक्षम छन् भन्ने उदाहरण यसलाई मान्न सकिन्छ । पुरुषको तुलनामा विश्वसनीय काम गरेर महिलाहरुले प्रस्तुत गरेको कार्यलाई उदाहरण मानेर विकास निर्माणको पाटोमा झापाका महिलाको उल्लेख्य सहभागीता रहेको मान्न सकिन्छ ।

ब्लग सेयर गर्नुहोला।