झापा, बैशाख १ ।
तपाइले चाहेको कुनै कुरा तपाइलाई कसैले सहजै दिएन वा तपाइको भनेको कुरा सुनेर पनि नसुने जस्तै गरी अटेरी ग¥यो भने तपाई हामी सबैले भन्ने एक मात्र शव्द हो ‘ कस्तो ढुंगाको जस्तो मुटु भएको’ मान्छे ।
कसैको निष्ठुरीपनलाई उपमा दिनुपर्यो भने हामी यसै भन्छौ । कठोर, नपग्लिने र निर्दयी मान्छेहरुका लागि ‘ढुंगा जस्तो मुटु’को उपमा हामी दिनपछि पर्दैनौं । तर ढुंगाको मुटु कस्तो हुन्छ, कसैले पनि देखेको हुँदैन । कसैले नदेखेको विषयलाई देखाउने विश्वमा वैज्ञानिक र उनीहरुजस्तै सिर्जना सोच्ने कलाकारहरु पनि छन् । सुनसरीको इटहरी उपमहानगर पालिका स्थित तालतलैया सिमसार क्षेत्रमा पुग्नेले चाही पक्कैपनि ढुङ्गाको मुटु देखेको हुनुपर्छ । किनकी त्यहाँ कलाकारहरुले यस्तो सोचे, जुन सोंचका कारण अहिले निकै मनमोहक विशाल ढुंगाको मुटु तयार भएको छ । निर्जिव ढुंगामा सजिव झै लाग्ने मुटु आकृति बनेपछि अहिले सुनसरीको इटहरीस्थित तालतलैयाको चर्चा चुलिएको छ । यो क्षेत्रमा ढुंगाको मुटु मात्र धड्किँदैन, ढुंगा नै हाँस्छ, ढुंगा नै रुन्छ र अनि ढुंगा नै जीवनका सारा अवयवहरुको बिषयमा बोलिरहन्छ, कलाकृतिमार्फत । यहाँ पुग्ने जो कोहीले मानव निर्मित ढुङ्गाको मुटु हेरेर आफ्नै मुटु धड्किएको महसुस गर्छन् ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाण्डौ, इटहरी उपमहानगरपालिका र उद्योग वाणिज्य संघ इटहरीको संयुक्त आयोजनामा पर्यटकीय क्षेत्र तालतलैयामा एकता मूर्तिकला कार्यशाला भएको थियो । जतिवेला देश तथा विदेशका मूर्तिकारहरुले आफ्नो कला प्रस्तुत गरेर इटहरी उपमहानगरपालिका २ र ३ को बीच भागमा रहेको चारकोसे जङ्गल क्षेत्रको मनोरम पर्यटकीय क्षेत्र तालतलैयामा आफ्नो कलाले मान्छेको मन मस्तिष्कलाई खिचेका छन् ।
प्राकृतिक ताल र बहुमूल्य जडीबुटी बुट्यान अनि वनभोजका लागि अत्यन्तै सुन्दर मानिएको तालतलैयामा मन लोभ्याउने स्थल निर्माण गर्ने उद्देश्यका साथ विदेशी पाँचसहित ३३ मूर्तिकारहरुले आकर्षक मूर्तिहरु निर्माण गरेका छन् । अमूर्त ढुङ्गामा मानिसलाई एकताको सूत्रमा बाँध्न जरुरी छ नभए देश बन्न सक्दैन भन्ने सन्देश प्रवाहका लागि छिनो, रेतीलगायतका उपकरणबाट तयार पारिएका जिवन्त मूर्ति इटहरीका लागि सम्पदा हुनेमा दुईमत छैन ।
एउटा खराव नियत बोकेको मानिसका लागि यिनै ढुङ्गाले कसैको ज्यान लिन सक्थ्यो, तर, कलाकारको हातमा परेपछि यिनै ढुङ्गाले इटहरीलाई जीवन्तता दिने काम गरेको छ त्यहाँ पुग्ने जो कसैले बोल्ने जनजीव्रोको भाषा नै भएको छ । १८ दिने सम्म लगाएर तालतलैया क्षेत्रमा ३५ वटा कलाकृति तयार पारिएका छन् ।
सिमसार क्षेत्रमा प्राकृतिक वातावरण, देशको परिस्थिति लगायतका भावहरु समेटिएर मूर्तिहरु निर्माण गरिएको छ । विगतमा चल्दै आएको विभिन्न देव देवताहरुको मूर्ति मात्र बनाउने परम्परालाई रुपान्तरण गर्दै विभिन्न फरक भाव समेटिएका मूर्तिहरु निर्माण भएपछि इटहरीको पुग्ने जो कोही एक पटक ढुङ्गाको मुटु हेर्न तालतलैया पुग्ने गरेका छन् । सिमसार क्षेत्रमा झण्डै ५६ लाख रुपैयाँ खर्च गरेर मानव निर्मित विभिन्न प्रकारका मूर्तिले आन्तरिक तथा वाह्रय पर्यटकको मन लोभ्याएको छ । कुनैबेला सिमसार भनिने यो क्षेत्र अहिले मानव निर्मित मुटु लगायत विभिन्न कला कृतिका कारण धनसार क्षेत्र भएको छ।
क – कस्का सृजना छन्
झापाका हिम्मत नेम्वाङले एकता र प्रेममूलक मूर्ति तयार गरेका छन् । तर, इजरायली ७२ वर्षीया नागरिक तानिया प्रेमीगंरले ढुंगालाई खोपेर बनाएको मुटु यहाँको मुख्य आर्कषण हो । जीवीत झंै देखिने ढुङ्गाको यो मुटुले संसारका जुनसुकै देशमा बस्ने मानिसहरुका लागि उत्तिकै महत्व छ भन्ने सन्देश दिन खोजिएको छ ।
त्यस्तै चितवनका कलाकार दीपक रसाईलीले निर्माण गरेको मूर्तिमा देशको भू–दृश्य देख्न सकिन्छ । मुलुकको भौगोलिक सुन्दरता कल्पना गरेर आम नेपालीलाई जिम्मेवारी पनि मूर्तिमार्फत उनले सुम्पिएका छन् । रुपन्देहीका मूर्तिकार बुद्ध थारुले निर्माण गरेको मुर्तिमा आमा र बच्चाको माया झल्किएको छ । आमा र बच्चाको मायालाई उदाहरणका रुपमा दिंदै उनले मायाको महत्व र भाव झल्काउने कोशेली मूर्तिमार्फत छाडेका छन् । भारतका मूर्तिकार अनुपकुमार गुप्ताले निर्माण गरेको मूर्तिमा ग्रीन पीसको भाव देख्न सकिन्छ । भारतीय भएर पनि उनले नेपालको अहिलेको परिस्थितिलाई चित्रण गर्न सफल देखिएका छन् । काठमाण्डौका कलाकार सुदर्शन विक्रम राणाले निर्माण गरेको मूर्तिमा एकता र मित्रताको महत्व झल्किएको छ । चितवनका अर्का मूर्तिकार दिनेश्वर महतोले तयार गरेको मूर्तिमा प्रकृति र संस्कृतिलाई एकैपटक देख्न सकिन्छ ।
बाग्लुंगका मूर्तिकार ओम खत्रीले जैविक विविधता र एकता अनि तालहरु समेटिएको दुईवटा ढुङ्गाबाट फरक भाव झल्कने मूर्ति तयार गरेका छन् । उनले निर्माण गरेको मूर्ति हेर्दा हिलोमा फुलेको कमलको महत्व सँगै जीवन र मृत्युलाई पनि कलाबाटै तुलना गर्ने प्रयास गरिएको छ । इलामका विष्णुप्रसाद श्रेष्ठले एउटै मूर्तिमा पोखरी भित्रबाट उम्रदै गरे पालुवा र वृद्धि अनि विकासको बारेमा जियोमेट्रीकल र अर्गा्निक कुरालाई समेटेर प्रकृतिको महत्व झल्काउने मूर्ति तयार गरेका छन् । भोजपुरका नारदमणी हार्ताम्छालीे नेपालका अग्रज मुर्तिकार हुन् । उनले निर्माण गरेको मूर्तिमा आदरभाव झल्कन्छ । नमस्कार आकारमा उनले निर्माण गरेको मूर्तिमा भौगोलिक सुन्दरता, समुदाय, पुस्तान्तर र बाद, प्रतिवाद अनि सम्वादको भावना झल्किएको छ । चितवनका प्राज्ञ लालकाजी लामाले भौगोलिक एकतालाई जोड दिँदै हिमाल, पहाड र तराईलाई सूत्रबद्ध गर्ने प्रयास गरेका छन् । इलामका विजयकुमार श्रेष्ठले निर्माण गरेको मूर्ति अमूर्त छ । तर, त्यहाँ अन्तर विचारको कारण उब्जने समस्या र समाधानका लागि एकताको आवश्यकतालाई पनि जोड दिइएको छ ।
काठमाण्डौकी सुनिता राणाले जीवको संरक्षणलाई जोड दिने कलाकृति बनाएकी छिन् । सिंगो ढुंगालाई जीवनसँग कलामार्फत तुलना गरिएको छ ।
कलाकार राजन काफ्लेको मूर्तिमा मायाप्रेम र सरप्राइजको भाव देख्न सकिन्छ । मूर्तिमा घाम छाया, खस्रो मसिनो, सकारात्मक नकारात्मक भावलाई उतार्ने प्रयास गरिएको छ । यस्तै, गंगाधार सारुले आफ्नो मूर्तिकलामा प्रकृतिको सुन्दर शैलीमा चित्रण गरेका छन् ।
मोरंग पथरीका मञ्जुल बराइलीले मृत्यु शैयामा पृथ्वी भन्ने शीर्षकमा कृति तयार गरेका छन् । मूर्तिमा युद्ध, वन विनाश, प्रदुषणको चित्रण गरी त्यसको कारक तत्व मानिस नै भएको र मानिसले नै जोगाउन पनि सक्छ भन्ने सन्देश दिइएको छ ।
मलेशियाका मूर्तिकार म्याक्सिनले बनाएको मूर्तिमा महिलाको आकृति देख्न सकिन्छ । मकवानपुरका लक्ष्मण भूजेलको मूर्तिमा पत्रे बीजलाई प्रस्तुत गरी त्यहाँ मानव चित्रण गर्न खोजिएको छ ।
गुल्मीका हरिराम अधिकारीले तयार गरेको मूर्तिमा आँसु र हाँसोको सहज मिश्रण गरिएको छ । इटहरीका प्राज्ञ धनबहादुर याक्खाले तयार गरेको मूर्तिमा प्रकृति र नारीको बारेमा चित्रण गरिएको छ । कलाकार राजु पिठाकोटेले तीनवटा मूर्ति तयार गरी तीन पुस्तालाई सहज रुपमा चित्रण गरेका छन् । मानवचक्र पनि उनको मुर्तिमा पाउन सकिन्छ । चितवनका भीमबहादुर श्रेष्ठ जीवन र जगतका बारेमा पनि मूर्तिमार्फत चित्रण गर्न सफल भएका छन् ।
सुनसरीको इटहरीमा रहेको तल तलैया सिमसार क्षेत्रलाई जस्तै अन्य पर्यटकीय क्षेत्रको विकास र विस्तार गर्ने हो भने पूर्वका धेरै पर्यटकीय क्षेत्र धनसार हुनेमा दुईमत छैन ।
0 comments:
Post a Comment