Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

पत्रकार तथा संचारकर्मी सुरेन्द्र भण्डारी

सभामुख द्वारा शिक्षा पत्रकारिता पुरष्कार ग्रहण गर्दै।

सुरेन्द्र भण्डारी

पत्रकारिता एक चुनौती

सुरेन्द्र भण्डारी

रिपोर्टिंगको सिलसिलामा

सुरेन्द्र भण्डारी

पोखरा घुमघाम एक झलक

Monday, June 29, 2015

झापामा सनपाटको खेती घट्दै

सुरुङ्गा(झापा) १४,असार ।  ११ हजार हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको सनपाट मजदुर अभावका कारण झापामा यसको खेती विस्तारै घट्दै गएको छ ।
जिल्ला कृषि बिकास कार्यालयले दिएको जानकारी अनुसार उत्पाद खर्चमा महंगो भएको र मजदुरसमेत अभाव भएका कारण झापामा अहिले ६ सय २० हेक्टर क्षेत्रफलमा मात्र सनपाटको खेती हुने गरेको छ । वैदेसिक रोजगारीको सिलसिलामा युवा विदेसिएपछि प्रत्येक वर्ष सनपाटको खेती  ५ हेक्टर घट्दै गइरहेको जिल्ला कृषि विकास कार्यालय झापाका कृषि प्राविधिक  शालीकराम भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार झापामा  तोषा र तीता पाटाको खेती हुँदैआएको छ ।

झापाको गौरीगञ्ज,वैगुनधुरा,कोरोवारी,राजगढ,घेरावारी लगायत गाविसमा  बसोवास गर्ने आदिवासी समुदायले मात्रै यसको खेती गर्ने गरेको भट्टराईले बताउनुभयो ।
कागज उद्योग तथा कुटीर उद्योगमा डाली तथा झोला,डोरी,वोरा आदि बनाउनका लागि यसको प्रयोग गरिने गरेपनि अहिले घरायसी काममा मात्र यसको प्रयोग हुन्छ उहाँले भन्नुभयो ।

Sunday, June 28, 2015

तीनलाख विरुवा रोप्दै मनकामना सामुदायिक वन



सुरुङ्गा (झापा)१३ असार । मनकामना सामुदायिक वन राजगढले वन दसको अवसर पारेर आफ्नो सामुदायिक वन क्षेत्रभित्र वृक्ष रोपण कार्य सुरु गरेको छ ।
 जिल्ला वन कार्यालय झापा र भिलेज होप नामक संस्थाको सहयोगमा वृक्ष रोपण कार्य सुरु गरेको मनकामना सामुदायिक वन राजगढका अध्यक्ष तुलसीप्रसाद ढकालले बताउनुभयो । ढकालका अनुसरा आफ्नो सामुदायिक वन क्षेत्रको ७२ हेक्टर खाली जमिनमा झण्डै तीनलाख विरुवा रोपिदैछ । समूहले कार्वन सञ्चितका लागि टीक,मसला, चाइनिज सिमल,लटर, टाँकी, खमारी, वाँस लगायतका विरुवा रोप्न सुरु गरेको र अहिले सम्ममा एकलाख ५० हजार विरुवा रोपिसकेको सामुदायिक वनका अध्यक्ष ढकालले बताउनुभयो ।
दिनानु दिन सामुदायिक वन अतिक्रमणको चपेटामा परेको र त्यसलाई रोक्दै सामुदायिक वनलाई जिल्लामा नै नमूना बनाउन यतिधेरै विरुवा एकै पटक रोप्न सुरु गरेको उहाँको भनाई छ । झण्डै पचास लाख रुपैयाँको लागतमा सुरु गरिएको वृक्ष रोपण अभियान १५ दिन भित्र सम्पन्न गर्ने बताइएको छ । सामुदायिक वनले एक महिना अगाडिबाट नै आफ्नो सामुदायिक वन क्षेत्र भित्र  चरिचरण बन्द गर्दै वन हेरालुको समेत व्यवस्था गरेर वृक्ष रोपण कार्य सुरु गरेको अध्यक्ष ढकालको भनाई छ ।

लक्ष्य भन्दा १६३ प्रतिशतले राजस्वमा वृद्धि 
मालपोतले उठायोे १६ करोड

सुरुङ्गा (झापा) १३ असार ।  मालपोत कार्यालय झापाले चालू आर्थिक वर्षको जेठ सम्ममा १६ करोड ४ लाख ३१ हजार  १ सय ५७ रुयैयाँ राजस्व संङ्कलन गरेको छ ।

जुन लक्ष्य भन्दा १६३ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७१÷०७२ मा ९ करोड ८२ लाख ४ हजार रुपैयाँ राजस्व संङ्कलन गर्ने लक्ष्य लिएपनि ६ करोड २२ लाख २७ हजार एक सय ५७ रुपैयाँ प्रगति गर्दै लक्ष्य भन्दा १६३ प्रतिशतले बढी राजस्व संङ्कलन भएको जिल्ला मालपोत कार्यालय झापाका लेखापाल मीनराज पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार घरजग्गा रजिस्ट्रेसन मार्फत मात्रै १२ करोड ८३ लाख २२ हजार ७ सय ४९ रुपैयाँ र अन्य ३ करोड २१ लाख ८ हजार ४ सय  ८ रुपैयाँ गरी उक्त राजस्व सङ्कलन भएको हो । अघिल्लो आर्थिक वर्ष २०७०÷०७१ मा १२ करोड ८२ लाख राजस्व सङ्कलन भएको थियो ।

        कहाँबाट कति उठ्यो

पछिल्लो समय घर जग्गाको कारोवार बिर्तामोड नगरपालिकामा बढेका कारण सबैभन्दा बढी राजस्व बिर्तामोड नगरपालिकाले उठाएको छ । त्यस्तै  सबैभन्दा कम राजस्व कनकाई नगरपालिकाबाट उठेको मालपोत कार्यालय झापाका लेखापाल पोखरेलले बताउनुभयो ।

पोखरेलका अनुसार बिर्तामोड नगरपालिकाले मात्रै ३ करोड २२ लाख ५३ हजाार ६ सय ३७ रुपैयाँ राजस्व उठाएको छ भने सबैभन्न्दा कम कनकाई नगरपालिकाले ६० लाख ७३ हजार १ सय ७४ रुपैयाँ घरजग्गा रजिस्ट्रेसन मार्फत मात्रै राजस्व सङ्कलन गरेको छ ।

यता झापाकै पुरानो नगरपालिका भद्रपुरले भने ७२ लाख ५८ हजार ३ सय ५४ रुपैयाँ मात्र घरजग्गा रजिस्ट्रेसनमार्फत राजस्व सङ्कलन गरेको छ भने मेचीनगर नगरपालिकाले १ करोड ४२ लाख ७१ हजार, ४ सय ६ , शनिअर्जुन नगरपालिकाले १ करोड ८१ लाख ५ हजार ५ सय १९ रुपैयाँ राजस्व संङ्कलन भएको जिल्ला मालपोत कार्यालय झापाका सूचना अधिकारी राधाकृष्ण खतिवडा बताउनुभयो ।

यता जिल्ला विकास समितिले भने गाविसबाट २ करोड ३९ लाख ३१ हजार ७ सय ९५ रुपैयाँ राजस्व संङ्कलन गरेको खतिवडाले बताउनुभयो ।

झापामा यसवर्ष ९२ हजार मेट्रिकटन चैते धान उत्पादन,
वर्षे धान पनि १२ प्रतिशत क्षेत्रफलमा रोपियो

सुरुङ्गा (झापा) १३ असार । पर्याप्त वर्षा भएका कारण यस वर्ष झापाका चैते धानको उत्पादनमा वृद्धि भएको छ ।
जिल्ला कृषि विकास कार्यालय झापाले दिएको जानकारी अनुसार यसवर्ष झापाको  कूल खेतीयोग्य जमिन मध्ये १९ हजार ९ सय हेक्टर क्षेत्रफलमा  चैते धान लगाइएको थियो । जसमा  प्रतिहेक्टर ४.६ मेट्रिकटन धान उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय झापाका कृषि प्राविधिक शालिकराम भट्टराईले जानकारी दिनुभयो । भट्टराईका अनुसार यो वर्ष ९२ हजार मेट्रिकटन धान उत्पादन भएको छ । गत वर्ष प्रतिहेक्टर ४.१ मेट्रिकटन धान उत्पादन भएको भट्टराईले बताउनुभयो ।
झापामा  ९८ हजार ७ सय १६ हेक्टर क्षेत्रफल मध्ये ९० हजार हेक्टर जमिनमा धान खेति हुँदै आएपनि  यो वर्ष १९ हजार ९ सय हेक्टर क्षेत्रफलमा  मात्र चैते धान खेती गरिएको  जिल्ला कृषि विकास कार्यालय झापाले जनाएको छ ।
झापाको कुल खेतीयोग्य जमिनको ९१ प्रतिशत क्षेत्रफलमा वर्खे धान र २० प्रतिशत क्षेत्रफलमा मात्र चैते धान खेती हुने गरेको कृषि प्राविधिक भट्टराईले जानकारी दिनुभयो ।

                    झापामा १२ प्रतिशत रोपाई भयो
मनसुन सक्रिय भएर असारको सुरुवात देखिनै झापामा पानी पर्न थालेसंगै यहाँका कृषकले १२ प्रतिशत क्षेत्रफलमा रोपाई गरेका छन् । गत वर्षभन्दा मनसुन राम्रो भएका कारण १२ प्रतिशत क्षेत्रफलमा रोपाई भएको जिल्ला कृषि विकास कार्यालय झापाका कृषि प्राविधिक भट्टराईले जानकारी दिनुभयो । गत वर्ष असार १५ सम्ममा ५ प्रतिशत क्षेत्रफलमा मात्र रोपाई भएको थियो । झापामा अघिल्लो वर्ष ८८ हजार हेक्टर क्षेत्रफलमा वर्खे धान लगाईको थियो । जसमा प्रतिहेक्टर ४.१५ मेट्रिकटन धान उत्पादन भएको जिल्ला कृषि बिकास कार्यालय झापाले जनाएको छ ।

Tuesday, June 16, 2015

गिरी अब सम्पादक भण्डारी सहसम्पादक,निरौला उपसम्पादक



सुरुङ्गा(झापा)१ असार ।  पूर्वाञ्चल राष्ट्रिय दैनिकको सम्पादकको जिम्वेवारी पत्रकार एकराज गिरीलाई प्रदान गरिएको छ ।
पत्रकार एकराज गिरी

श्रीअन्तु प्रकाशन प्रा लि सञ्चालक समितिको बैठकले यस अघि कार्यकारी सम्पादकको जिम्वेवारीमा रहेका गिरीलाई बढुवा गरी सम्पादकको जिम्वेवारी दिएको हो । गिरीले २०५४ सालदेखि पूर्वाञ्चल दैनिकमा समाचारदाताबाट पत्रकारिता सुरु गरेका हुन् । उनी अहिले नेपाल पत्रकार महासंघ झापाका सचिव समेत छन् । शिक्षामा स्नातकोत्तर (डीग्री) हासिल गरेका गिरीलाई कार्यक्षमताको मूल्यांकनको आधारमा सम्पादकको जिम्वेवारी दिइएको प्रधान सम्पादक मदन ढकालले जानकारी दिए ।
प्रकाशक भरतलाल गिरीको अध्यक्षतामा भएको वैठकले उपसम्पादक सुरेन्द्र भण्डारीलाई बढुवा गरी सह सम्पादकको जिम्वेवारी दिएको छ ।
पत्रकार -  सुरेन्द्र भण्डारी
भण्डारीले २०६२ सालबाट पूर्वाञ्चल दैनिकमा राजगढ समाचारदाताको रुपमा पत्रकारिता सुरु गरेका हुन् । उनी अहिले नेपाल पत्रकार महासंघ झापाको कार्यसमिति सदस्यसमेत रहेका छन् । शिक्षा संङ्कायमा स्नातक गरिरहेका भण्डारी यस अघि २०६५ सालबाट कार्यालय प्रतिनिधि हुँदै उपसम्पादकको रुपमा पूर्वाञ्चल दैनिकको डेस्कमा रहेर काम गर्दै आएका थिए ।

त्यस्तै कार्यालय प्रतिनिधि तुलसीप्रसाद निरौलालाई कार्यालय प्रतिनिधिबाट उप सम्पादकमा बढुवा गरिएको छ ।
पत्रकार  तुलसीप्रसाद निरौला
२०६३ साल मंसीरबाट पूर्वाञ्चल दैनिकमा डाँगीवारी समाचार दाताको रुपमा काम सुरु गरेका उनी २०७० सालबाट पूर्वाञ्चल दैनिकको डेस्कमा रहेर काम गर्दै आएका छन् । नेपाल पत्रकार महासंघ झापाको सदस्यसमेत रहेका उनी मानविकी संङ्कायमा स्नातक गरिरहेका छन् ।

Monday, June 15, 2015

भद्रपुर उच्च माविका लागि अस्थायी टहरा बनाउँदै विद्यार्थी


सुरुङ्गा(झापा)३२ जेठ । एकीकृत नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी झापाले भद्रपुरमा रहेको भद्रपुर उच्च माध्यमिक विद्यालयको  चार कोठे अस्थाई टहरा निर्माण कार्य सुरु गरेको छ ।
गत वैशाख १२ गते गएको भूकम्पले विद्यालय भवनको माथिल्लो ४ वटा कोठामा बस्न नमिल्ने गरी चर्किएपछि विद्यार्थी संगठनले जनश्रमदान गरी पठनपाठनमा सहज बनाउन अस्थायी टहरा निर्माण कार्य सुरु गरेका हुन् ।

झापाको भद्रपुर उच्च माध्यमिक विद्यालयको भवन भूकम्पले चर्किएरपछि अस्थायी टहरा निर्माण गर्दै विद्यार्थी । तस्बिर ः सुरेन्द्र भण्डारी,(सुरुङ्गा)झापा–रासस

रक्त सञ्चार सेवा भवन निर्माणका लागि प्रसाई परिवारद्वारा एकलाख सहयोग


सुरुङ्गा(झापा)३२ जेठ । झापाको बिर्तामोडस्थित नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार सेवा भवन निर्माण पूरा गर्नका लागि स्व. सिके प्रसाईं र श्रीमती गिरीराजकुमारी प्रसाईंको नाममा प्रसाईं परिवारले एक लाख रुपैयाँ प्रदान गरेको छ ।
आज एक कार्यक्रमका बीच विवेक केशरी प्रसाईं र संगीता प्रसाईंले आफ्ना माता पिताको नाममा उक्त रकम रेडक्रस झापाका सभापति लोकराज ढकाल र बिर्तामोड उपशाखाका सभापति सजेश शिवाकोटीलाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो ।
भवन निर्माणका लागि जिल्ला शाखाले १० लाख रुपैयाँ उपलब्ध गराएको र २२ लाख भन्दा बढी रकम बिर्तामोड क्षेत्रकै दाताहरुबाट जुटाइएको रेडक्रस उपशाखा बिर्तामोडका सचिव एकराज गिरीले जानकारी दिनुभयो ।

दुई नावालिकालाई अनुचित कार्य गरेको आरोपमा १३ वर्षीय वालक पक्राउ


सुरुङ्गा(झापा)३२ जेठ । दक्षिणी झापाको जलथलबाट प्रहरीले आज दिउँसो दुई नावालिकालाई  जवरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय वालकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जलथल–२ निवासी सुवाश तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनले छिमेकी राई थरका दुई नावालिकालाई चिया वगानमा लगेर जवरजस्ती करणी गरेको बताइएको छ ।

Sunday, June 14, 2015

अर्नाको आक्रमणबाट एकको मृत्यु, चार घाइते



सुरुङ्गा (झापा), ३२ जेठ । जङ्गली अर्नाको आक्रमणबाट आज बिहान झापाको विर्तामोडमा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।

चारआलीको जङ्गलबाट निस्किएको अर्नाले आक्रमण गर्दा विर्तामोड नगरपालिका–९ निवासी १८ वर्षीय बोलु सतारको मृत्यु भएको र चार जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ ।


अर्नाको आक्रमणबाट ५८ वर्षीय केरकेरु राजवंशी, ६० वर्षीया ललिता राजवंशी, उनकै छोरी ३० वर्षीया पूर्णिमा राजवंशी, सतार र गरामनी–७ निवासी दीपक चम्लगाईं घाइते भएको भएका छन् । घाइते चार जनाको विर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटना न्यूनीकरणका लागि बिर्तामोडमा ट्राफिक सचेतना


सुरुङ्गा (झापा) ३१ जेठ । पैदल यात्रीलाई जेब्रा क्रसिङबाट मात्र बाटो काट्न, सवारी चालकलाई सिट बेल्ट बाँध्न, मोटरसाईकल चालकलाई हेलमेटको क्लिप लगाउन,सवारी चलाउँदा आवश्यक कागजात बोक्न अनुरोध गर्दै झापाको बिर्तामोडमा ‘टिम रिभोलुशन’का पदाधिकारीले आज सचेतना मुलक कार्यक्रम सञ्चालन गरेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापासंग सहकार्य गर्दै ‘टिम रिभोलुशन’का पदाधिकारीले आज विहान झण्डै ४ घण्टा सचेतना कार्यक्रम सञ्चालन गरे ।

झापामा ३९ करोड रुपैयाँको अदुवा उत्पादन



सुरुङ्गा (झापा)३१ जेठ । अदुवा बिक्रीबाट झापामा यस आर्थिक बर्षमा ३९ करोड ५६ लाख ७५ हजार रुपैयाँ भित्रिएको छ ।
जिल्ला कृषि विकास कार्यालय झापाले दिएको जानकारी अनुसार ४ हजार ६ सय ५५ मेट्रिकटन अदुवा निर्यात भएसंगै उक्त रकम भित्रिएको हो ।
 जिल्लाको ३५० हेक्टर क्षेत्रफलमा कृषकले उत्पादन गरेको अदुवा पूर्वी नाका काँकरभिट्टा हुँदै भारत निर्यात भएसंगै अदुवा बिक्रीबाट ३९ करोड रुपैयाँ नेपाल भित्रिएको जिल्ला कृषि बिकास कार्यालय झापाका सूचना अधिकारी शालीकराम भट्टराईले जानकारी दिनुभयो ।

Monday, June 1, 2015

झापामा बढ्दो यौन हिंसा



सुरुङ्गा(झापा) १८ जेठ ।  बालिका बलात्कारको आरोपमा पक्राउ परेका कृष्ण प्रणामी मन्दिर माइधारका सञ्चालक मोहनानन्द सुवेदीको घटना सेलाउन नपाउदै झापामा आफ्नै वावुले १२ वर्षीया छोरीलाई बलात्कार गर्ने गरेको  घटना आज सार्वजनिक भएको छ ।
श्रीमती वैदेसिक रोजगारीको सिलसिलामा तीन वर्ष अगाडि कुवेत गएसंगै गरामनी –९ निवासी राई थरका एक व्यक्तिले आफ्नै छोरीलाई जवरजस्ती करणी गर्ने गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडमा आज उजुरी परेसंगै घटना सार्वजनिक भएको हो ।
कुवेत गएकी आमा घर फर्किए लगत्तै घटनाका वारेमा पीडित बालिकाले आमालाई सुनाएपछि राईले तीन दिन अघि आत्महत्या गर्न घाँटीमा पासो लगाएर झुण्डिने प्रयाससमेत गरेको प्रहरीले जनाएको छ । राई झुण्डिने क्रममा गाउँलेले देखेपछि डोरी काटेर उनको उद्धार गरिएको बताइएको छ । गाउँलेले उनलाई उद्धार गरेपनि आफ्नो कर्तुत छल्न उनी फरार भएको स्थानीयबासीको आरोप छ ।

अब न्यूरो सम्वन्धी सम्पूर्ण उपचार बिर्तामोडमा नै हुने


सुरुङ्गा (झापा) १८ जेठ ।  न्यूरो सम्वन्धी सम्पूर्ण उपचारका लागि अब मेची अञ्चलवासीले अन्यत्र जानु नपर्ने भएको छ ।
मेची अञ्चलमा नै पहिलो पटक पाँच अर्ब रुपैयाँको लागतमा गत फागुनबाट सञ्चालनमा आएको सात सय  शैयाको  ‘बी एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर’बिर्तामोडले न्यूरो सर्जरी सेवा सुरु गरेसंगै अञ्चलवासीले उपचारका लागि अन्यत्र जानु नपर्ने भएको हो । निजीस्तरको नेपालकै ठूलो र सुविधा सम्पन्न अस्पतालको रुपमा सञ्चालनमा आएको उक्त अस्पतालले पहिलो पटक झापा खुदुनाबारी–१ निवासी ८५ वर्षीय कृष्णप्रसाद ढुङ्गेलको टाउकोको जटिल शल्यक्रिया गर्दै न्यूरो सर्जरी सम्वन्धी सेवा आजबाट सुचारु गरेको अस्पतालका  कार्यकारी निर्देशक दुर्गा प्रसाईले जानकारी दिनुभयो ।


अस्पतालका न्यूरो सर्जन डा. चन्द्रप्रकाश लिम्बूले ढुङ्गेलको टाउकाको सफल शल्यक्रिया गर्नुभएको आज अस्पताल प्रशासनले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ । ८५ वर्षीय ढुङ्गेलको हड्डीमा प्वाल पारेर टाउकोभित्र जमेको रगत निकालिएको बताइएको छ ।

गौशाला निर्माणका लागि मन्दिरलाई गाई प्रदान

 
सुरुङ्गा(झापा) १८ जेठ । दक्षिणी झापाको राजगढ–३ मा रहेको दक्षिणेश्वर शिवालय मन्दिरमा गौशाला सञ्चालानर्थ एक दाताले गाई प्रदान गर्नुभएको छ ।
शिवालय मन्दिरमा आज आयोजित एक समारोहकाबीच विश्व हिन्दू महासंघका धु्रवप्रसाद शिवाकाटीले मन्दिरमा गौशाला सञ्चालानर्थ गाई प्रदान गर्नुभएको हो ।
  महर्शी वैदिक फाउण्डेशनका राष्ट्रिय कुलपति पुष्पलाल निरौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै दाता शिवाकोटीले हिन्दू संस्कारमा गाईको महत्व आमा समान भएकाले गौ संरक्षण गरिनुपर्छ भन्दै मन्दिरलाई आफूले गाई दिएको बताउनुभयो ।

ब्लग सेयर गर्नुहोला।