Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

पत्रकार तथा संचारकर्मी सुरेन्द्र भण्डारी

सभामुख द्वारा शिक्षा पत्रकारिता पुरष्कार ग्रहण गर्दै।

सुरेन्द्र भण्डारी

पत्रकारिता एक चुनौती

सुरेन्द्र भण्डारी

रिपोर्टिंगको सिलसिलामा

सुरेन्द्र भण्डारी

पोखरा घुमघाम एक झलक

Monday, January 23, 2017

प्रेमीकासंग एउटै डोरीमा झुण्डिएका लोकनाथको बल्ल सुरुभयो काज किरिया



सुरुङ्गा (झापा) ११ माघ ।  नागरिक समाजले दवाव दिएपछि मृत्यु भएको चार दिनपछि वल्ल कनकाई नगरपालिका–७ निवासी लोकनाथ भट्टराई(इश्वरी)को हिन्दू परम्परा अनुसार हिजो अपराह्रानबाट काजकिरिया सुरु भएको छ ।

अन्तरजातीय प्रेमसम्वन्धका कारण आत्महत्या गरेको भनिएका  कनकाई नगरपालिका– ७, मन्सापुर निवासी भट्टराईको काजक्रिया नहुँदा पीडित परिवारमा थप पीडा थपिएको थियो ।  भट्टराई परिवारले विगत १२ वर्षदेखि पुज्दै आएका पुरोहित सोही ठाउँ निवासी रोहिणीप्रसाद गौतमले उनको काज किरिया नगरिदिएपछि मृतक भट्टराईको काजक्रिया हुन नसकेको बताइएको छ । उनको काज किरियाका लागि हिजो सोमवार दिउँसो नागरिक समाजको टोलीले भट्टराईको घरमा गएर पुरोहित यादवप्रसाद खतिवडालाई काजक्रिया गराउन आग्रह गरेपछि अपराह्र ३ वजेबाट  उनको काजकिरिया थालिएको हो ।
हिजो अपराह्रबाट मृतकका ठूलोवुवा लीला भट्टराई भतिजाको काजकिरियाका लागि कोरोढिकुरो गरेर कोरामा वस्नुभएको सामाजिक अगुवा कुमारप्रसाद खरेलले बताउनुभयो । भट्टराईको काजकिरिया गराउन गंगा उप्रेती, धनपति चुडाल लगायतले पुरोहित गौतमलाई अनुरोध गरेपनि  उनले आफूले नभ्याउने भन्दै उनको काज किरिया नगराएपछि अर्को पुरोहितको व्यवस्थापन गरिएको खरेलले बताउनुभयो ।
स्थानीय समाजसेवी गोपाल सिवाकोटीले भन्नुभयो  ‘हामी तुरन्तै ‘मन्सापुरे समाज’ गठन गरी एउटा हिन्दुले अर्को हिन्दुलाई उपहास गरेको र  अन्तरजातीयताको नाममा गरिएको विभेदको अन्त्यका लागि  चाँडै हिन्दु महासंघमा समेत छलफल गरी यस्तो सामाजिक अन्योलताको अन्त्यका लागि अभियान चलाइने बताउनुभयो । भट्टराईले पुज्दै आएका पुरोहित गौतमलाई  अब अन्य व्यक्तिले समेत नपुज्ने बताइएको छ ।
गत शुक्रवार भट्टराई र सोही ठाउँ निवासी अस्मिता तोलाङ्गी स्थानीय विरीङ्ग नदीको किनारामा सिसौको रुखमा एउटै डोरीले पासो लगाई आत्महत्या गरेका थिए ।
मृतकको लास पोष्टमार्टम गरेपछि वैदिक परम्पराअनुसार दाहसस्कार गर्ने समयमा पुजेका पुरेतलाई खवर गर्दा आफू नभ्याउने भन्दै पन्छिएको र अन्य पुरोहितले पनि काजक्रिया गर्न नमान्दा पीडित परिवारमा शोक माथि शोक थपिएको थियो ।

Monday, January 16, 2017

झापामा २१ हजार विद्युत मिटर माग


  नेपाल सरकारले विद्युत चुहावट नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिरहेका बेला झापामा सेवाग्राहीको माग अनुसार नेपाल विद्युत प्राधिकरणले विद्युत मिटर वितरण गर्न नसक्दा चुहावट नियन्त्रणमा समस्या देखिएको छ ।
नेपाल सरकार उर्जा मन्त्रालय मातहतमा रहेको नेपाल विद्युत प्राधिकरणले देशभर यस्तो अभियान चलाए पनि झापामा एक लाख ५८ हजार तीन सय ग्राहकले मात्र दैनिक महसुल बुझाएर विद्युत उपयोग गरिरहेका छन् ।
झापामा हाल  २१ हजार ग्राहकले विद्युत मिटर पाउनुपर्ने माग गर्दै प्राधिकरणमा आवेदन दिएका छन् । तर , प्राधिकरणले सवै सेवाग्राहीलाई विद्युत मिटर उपलव्ध गराउन सकेको छैन् ।  आवेदन दिएका अधिकांशलाई प्राधिकरणले लामो समयसम्म विद्युत मिटर उपलब्ध गराउन नसक्दा विद्युत चोरेर उपयोग गरिरहेको बताइएको छ ।
प्राधिकरणको तथ्यांक अनुसार नेपाल विद्युत प्राधिकरण भद्रपुर शाखा अन्तर्गत ४२ हजार तीन सय ग्राहकले नियमित विद्युत महसुल बुझाइरहेका छन् भने दमकका ६५ हजार र अनारमनी सेवा केन्द्रका ५१ हजार ग्राहकले मात्रै विद्युत मिटर लिएर नियमित विद्युत महसुल बुझाउने गरेका छन् ।
झापामा दमक, अनारमनी र भद्रपुरमा रहेका प्राधिकरणका सेवा केन्द्रले अहिले २०७१ सालमा परेका आवेदनको भर्खर मात्र विद्युत मिटर वितरण गरिरहेको छ । त्यस यता २१ हजार ग्राहकले विद्युत मिटर पाउनुपर्ने माग गर्दै सेवा केन्द्रमा आवेदन दिएको प्राधिकरण श्रोतले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरणले चुहावट नियन्त्रणका लागि अभियान नै सञ्चालन गरे पनि अधिकांशले प्राधिकरणको अभियानलाई असहयोग गरेको बताइन्छ । एक स्थानीयबासी भन्छन्–  ‘प्राधिकरणसँग विद्युत मिटर मागेको दुई वर्ष भयो अझंै विद्युत मिटर दिएको छैन , बिजुली चोरेर नबाले अब के गर्नु ?’ उल्टै उनले प्रतिप्रश्न गरे ।
नेपाल विद्युत प्राधिकरण भद्रपुर शाखाका प्रमुख रोशन खड्काका अनुसार भद्रपुरमा मात्रै पाँच हजार स्थानीयबासीले विद्युत मिटर पाउनुपर्ने माग गर्दै आवेदन दिएका छन् । उहँका अनुसार अहिले प्राधिकरणले २०७२ साल चैतसम्म परेका आवेदकलाई मात्र विद्युत मिटर बितरण गरिरहेको छ । भद्रपुर शाखाले दुई नगरपालिका सहित १५ वटा गाविसमा विद्युतसेवा प्रवाह गर्दै आएको बताइन्छ ।
यता अनारमनी सेवा केन्द्रमा पनि विद्युत मिटरका लागि आठ हजार आवेदन परेका छन् । विद्युत मिटर पर्याप्त नभएका कारण प्राधिकरणले माग अनुसार विद्युत मिटर वितरण गर्न नसकेको केन्द्रप्रमुख राजीवकुमार सिंहले बताउनुभयो ।
प्राधिकरणले चार नगरपालिका सहित १४ गाविसका सेवाग्राहीलाई सेवा प्रवाह गर्दै आएको  बताइन्छ ।
उता दमक वितरण केन्द्रका केन्द्र प्रमुख सुरेन्द्र साहका अनुसार दमक शाखामा पनि आठ हजार विद्युत मिटरको माग रहेको  छ । तर, प्राधिकरणले माग अनुसार विद्युत मिटर उपलब्ध गराउन नसकेको केन्द्र प्रमुख साहाले बताउनुभयो ।
दमक सेवा केन्द्रले तीन नगरपालिका सहित १४ गाविसमा विद्युत सेवा प्रवाह गर्दै आएको बताइन्छ । यता राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार झापामा विद्युत सेवा प्रयोग गर्नेको संख्या एक लाख ५१ हजार तीन सय ७४ घरधुरी रहेको छ ।

चुहावट नियन्त्रण अभियानका क्रममा ३१ लाख राजश्व  
विद्युत चुहावट नियन्त्रण अभियानका क्रममा सवैभन्दा बढी अनारमनी बितरण केन्द्रले राजश्व संकलन गरेको छ ।
प्राधिकरणका केन्द्र प्रमुख राजीवकुमार सिंहका अनुसार विद्युत मिटर वाईपास गर्ने र हुकिङ गरी विद्युत चोरी गर्नेहरुबाट प्राधिकरणले २० लाख रुपैयाँ भन्दा बढी राजश्व संकलन गरेको छ ।
उता भद्रपुर वितरण केन्द्रका सूचना अधिकारी जयराम आचार्यका अनुसार विद्युत चुहावट गर्ने एक सय १७ जनालाई कारवाही गरेर प्राधिकरणले पाँच लाख ६६ हजार पाँच सय रुपैयाँ राजश्व संकलन गरेको छ ।  मिटर बाइपास गर्नेबाट दुई लाख १९ हजार रुपैयाँ राजश्व संकलन भएको सूचना अधिकारी आचार्यले बताउनुभयो ।
त्यस्तै दमक शाखाले चुहावट नियन्त्रण अभियानका क्रममा एक सय ३४ जनालाई कारवाही गर्दै पाँच लाख ४९ हजार रुपैयाँ राजश्व संकलन गरेको बताइएको छ ।

उत्कृष्ट शिक्षा पत्रकारिता पुरस्कारबाट राससकर्मी भण्डारी पुरस्कृत


यसवर्षको लक्ष्मी उत्कृष्ट शिक्षा पत्रकारिता पुरस्कारबाट सुरेन्द्र भण्डारी पुरस्कृत हुनुभएको छ ।

स्वर्गीय हरिनारायण गुप्ताको स्मृतिमा स्थापित उक्त पुरस्कारबाट भण्डारी आज पुरस्कृत हुनुभएको हो  । पुरस्कृत भण्डारीलाई पूर्व शिक्षा मन्त्री गिरिराजमणि पाखेरेलले नगद पाँच हजार एक सय रुपैयाँसहित सम्मानपत्र  प्रदान गर्नुभयो ।
विगत ११ वषदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकार भण्डारी नेपाल पत्रकार महासंघ  झापाका सदस्य हुनुहुन्छ । उहाँलाई शिक्षा क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गरिएको थियो ।
त्यस्तै विगत अढाई दशकदेखि पत्रकारिता क्षेत्रमा संलग्न रहनुभएका  यलम्बर टाइम्सका सम्पादक दिपीन राई पनि पुरस्कृत हुनुभएको छ ।
कार्यक्रममा बोल्दै पूर्व शिक्षा मन्त्री पोखरेलले  शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ ।
उहाँले एक्लो प्रयासमा मात्र शिक्षामा देखिएका समस्याको आमूल परिवर्तन हुन नसक्ने भएकाले शिक्षा ऐन नै संशोधन गर्दै अघि बढेको र यसलाई थप प्रभावकारी बनाउन विद्यार्थीदेखि अभिभावक, शिक्षक र सरकार नै गम्भीर बन्नुपर्ने बताउनु भएको छ ।
नीतिगत सुधार भए पनि व्यवहारमा त्यसलाई कार्यान्वयन गर्न सकिएन भने त्यसले कुनै अर्थ नराख्ने उहाँको भनाइ थियो ।

ब्लग सेयर गर्नुहोला।