Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Monday, January 16, 2017

झापामा २१ हजार विद्युत मिटर माग


  नेपाल सरकारले विद्युत चुहावट नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिरहेका बेला झापामा सेवाग्राहीको माग अनुसार नेपाल विद्युत प्राधिकरणले विद्युत मिटर वितरण गर्न नसक्दा चुहावट नियन्त्रणमा समस्या देखिएको छ ।
नेपाल सरकार उर्जा मन्त्रालय मातहतमा रहेको नेपाल विद्युत प्राधिकरणले देशभर यस्तो अभियान चलाए पनि झापामा एक लाख ५८ हजार तीन सय ग्राहकले मात्र दैनिक महसुल बुझाएर विद्युत उपयोग गरिरहेका छन् ।
झापामा हाल  २१ हजार ग्राहकले विद्युत मिटर पाउनुपर्ने माग गर्दै प्राधिकरणमा आवेदन दिएका छन् । तर , प्राधिकरणले सवै सेवाग्राहीलाई विद्युत मिटर उपलव्ध गराउन सकेको छैन् ।  आवेदन दिएका अधिकांशलाई प्राधिकरणले लामो समयसम्म विद्युत मिटर उपलब्ध गराउन नसक्दा विद्युत चोरेर उपयोग गरिरहेको बताइएको छ ।
प्राधिकरणको तथ्यांक अनुसार नेपाल विद्युत प्राधिकरण भद्रपुर शाखा अन्तर्गत ४२ हजार तीन सय ग्राहकले नियमित विद्युत महसुल बुझाइरहेका छन् भने दमकका ६५ हजार र अनारमनी सेवा केन्द्रका ५१ हजार ग्राहकले मात्रै विद्युत मिटर लिएर नियमित विद्युत महसुल बुझाउने गरेका छन् ।
झापामा दमक, अनारमनी र भद्रपुरमा रहेका प्राधिकरणका सेवा केन्द्रले अहिले २०७१ सालमा परेका आवेदनको भर्खर मात्र विद्युत मिटर वितरण गरिरहेको छ । त्यस यता २१ हजार ग्राहकले विद्युत मिटर पाउनुपर्ने माग गर्दै सेवा केन्द्रमा आवेदन दिएको प्राधिकरण श्रोतले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरणले चुहावट नियन्त्रणका लागि अभियान नै सञ्चालन गरे पनि अधिकांशले प्राधिकरणको अभियानलाई असहयोग गरेको बताइन्छ । एक स्थानीयबासी भन्छन्–  ‘प्राधिकरणसँग विद्युत मिटर मागेको दुई वर्ष भयो अझंै विद्युत मिटर दिएको छैन , बिजुली चोरेर नबाले अब के गर्नु ?’ उल्टै उनले प्रतिप्रश्न गरे ।
नेपाल विद्युत प्राधिकरण भद्रपुर शाखाका प्रमुख रोशन खड्काका अनुसार भद्रपुरमा मात्रै पाँच हजार स्थानीयबासीले विद्युत मिटर पाउनुपर्ने माग गर्दै आवेदन दिएका छन् । उहँका अनुसार अहिले प्राधिकरणले २०७२ साल चैतसम्म परेका आवेदकलाई मात्र विद्युत मिटर बितरण गरिरहेको छ । भद्रपुर शाखाले दुई नगरपालिका सहित १५ वटा गाविसमा विद्युतसेवा प्रवाह गर्दै आएको बताइन्छ ।
यता अनारमनी सेवा केन्द्रमा पनि विद्युत मिटरका लागि आठ हजार आवेदन परेका छन् । विद्युत मिटर पर्याप्त नभएका कारण प्राधिकरणले माग अनुसार विद्युत मिटर वितरण गर्न नसकेको केन्द्रप्रमुख राजीवकुमार सिंहले बताउनुभयो ।
प्राधिकरणले चार नगरपालिका सहित १४ गाविसका सेवाग्राहीलाई सेवा प्रवाह गर्दै आएको  बताइन्छ ।
उता दमक वितरण केन्द्रका केन्द्र प्रमुख सुरेन्द्र साहका अनुसार दमक शाखामा पनि आठ हजार विद्युत मिटरको माग रहेको  छ । तर, प्राधिकरणले माग अनुसार विद्युत मिटर उपलब्ध गराउन नसकेको केन्द्र प्रमुख साहाले बताउनुभयो ।
दमक सेवा केन्द्रले तीन नगरपालिका सहित १४ गाविसमा विद्युत सेवा प्रवाह गर्दै आएको बताइन्छ । यता राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार झापामा विद्युत सेवा प्रयोग गर्नेको संख्या एक लाख ५१ हजार तीन सय ७४ घरधुरी रहेको छ ।

चुहावट नियन्त्रण अभियानका क्रममा ३१ लाख राजश्व  
विद्युत चुहावट नियन्त्रण अभियानका क्रममा सवैभन्दा बढी अनारमनी बितरण केन्द्रले राजश्व संकलन गरेको छ ।
प्राधिकरणका केन्द्र प्रमुख राजीवकुमार सिंहका अनुसार विद्युत मिटर वाईपास गर्ने र हुकिङ गरी विद्युत चोरी गर्नेहरुबाट प्राधिकरणले २० लाख रुपैयाँ भन्दा बढी राजश्व संकलन गरेको छ ।
उता भद्रपुर वितरण केन्द्रका सूचना अधिकारी जयराम आचार्यका अनुसार विद्युत चुहावट गर्ने एक सय १७ जनालाई कारवाही गरेर प्राधिकरणले पाँच लाख ६६ हजार पाँच सय रुपैयाँ राजश्व संकलन गरेको छ ।  मिटर बाइपास गर्नेबाट दुई लाख १९ हजार रुपैयाँ राजश्व संकलन भएको सूचना अधिकारी आचार्यले बताउनुभयो ।
त्यस्तै दमक शाखाले चुहावट नियन्त्रण अभियानका क्रममा एक सय ३४ जनालाई कारवाही गर्दै पाँच लाख ४९ हजार रुपैयाँ राजश्व संकलन गरेको बताइएको छ ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।