Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

पत्रकार तथा संचारकर्मी सुरेन्द्र भण्डारी

सभामुख द्वारा शिक्षा पत्रकारिता पुरष्कार ग्रहण गर्दै।

सुरेन्द्र भण्डारी

पत्रकारिता एक चुनौती

सुरेन्द्र भण्डारी

रिपोर्टिंगको सिलसिलामा

सुरेन्द्र भण्डारी

पोखरा घुमघाम एक झलक

Wednesday, November 29, 2017

तीन शीर्ष पार्टीका तीन शीर्ष नेताको गृह जिल्ला झापाको चुनावी चर्चा





सुरुङ्गा (झापा) १२ मंसिर (रासस)  राजनीतिको केन्द्र भागमा रहेर सधैं चर्चामा रहने जिल्ला हो झापा । तीन शीर्ष पार्टीका तीन शीर्ष नेताको गृह जिल्ला हुनुसंगै मंसीर २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उनीहरुको उम्मेद्वारी रहेकाले यस पटक पनि झापा अझ बढी चर्चामा छ ।

 नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनसहित नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य सुरेन्द्रकुमार कार्की (राम कार्की), नेपाली कंग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा पनि चुनावी मैदानमा रहेकाले झापाको चुनावी चर्चा देशभर चुलिएको हो ।
पूर्व प्रधानमन्त्री समेत रहनुभएका ओली झापा क्षेत्र नम्वर ५ बाट चुनाव लड्दै हुनुहुन्छ । उहाँसंग नेपाली कांग्रेसका प्रत्यासी उम्मेद्वार डा खगेन्द्र अधिकारीसहित १४ जना प्रतिनिधि सभा सदस्यका उम्मेद्वार चुनावी मैदानमा हुनुहुन्छ ।
यता नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला झापा क्षेत्र नम्वर ३ बाट चुनाव लड्दै हुनुहुन्छ । उहाँसंग राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनसहित १२ जना  प्रतिनिधि सभा सदस्यका उम्मेद्वार चुनावी मैदानमा हुनुहुन्छ ।
झापा क्षेत्र नम्वर १ मा पनि नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य राम कार्की चुनाव लड्दै हुनुहुन्छ । पूर्व सञ्चारमन्त्री समेत रहनुभएका कार्कीसंग नेपाली कंग्रेसका केन्द्रीय सदस्य शर्मासहित सात जना प्रतिनिधि सभा सदस्यका उम्मेद्वार चुनावी मैदानमा हुनुहुन्छ । कार्की वाम गठवन्धनकातर्फबाट चुनाव लड्दै हुनुहुन्छ ।
नेपाली कांग्रेस र राप्रपाबीच देशव्यापी चुनावी तालमेल भएपनि झापामा  सिटौला र लिङ्देनबीचको हानथाप र कार्यकर्ताको तानातानले चुनावी तालमेल भङ्ग भएको छ । जसका कारण राप्रपाले वाम गठबन्धनसंग चुनावी तालमेल गरेको छ । लिङ्देन वाम गठबन्धनका तर्फबाट उम्मेद्वार बन्नुभएको हो । जसका कारण झापा अझ बढी चर्चामा रहेको छ ।

गणितीय हिसावले राजनीतिमा परिणाम निस्कँदैन – थेवे


एकनाथ पोखरेलको राजनीतिक प्ररणाबाट ०४१ सालदेखि नेपाली कंग्रेसको पार्टी  राजनीति सुरु गरेका देउमान थेवे (देउकुमार) अहिले नेपाली कांग्रेसको तर्फबाट झापा क्षेत्र नम्बर–४ प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रुपमा चुनावी मैदानमा छन् । पार्टीको आठौँ महाधिवेशनमा क्षेत्रीय सदस्यमा निर्वाचित भएका उनी ०४९ सालमा कुमरखोद गाविसको अध्यक्षमा (५ वडाध्यक्षसहित) निर्वाचित भए ।

०५४ सालमा (८ वडाध्यक्षसहित) दोस्रोपटक कुमरखोद गाविस अध्यक्ष बनेका उनले त्यहीबेला बागी उम्मेदवारको सामनासमेत गरे । नवौँ महाधिवेशनबाट क्षेत्रीय सभापति र पार्टीको जिल्ला सदस्य बनेका थेवेले १२औँ महाधिवेशनपछि झापा कांग्रेसको उपसभापतिको जिम्मेवारी कुशलतापूर्वक सम्हाले । पार्टीभित्र विकासप्रेमी, निडर र स्पष्टवक्ताका रुपमा छवि बनाएका उनले विभिन्न भातृसंस्थाको प्रमुख भएर कार्य गरेका छन्् । १३औँ महाधिवेशनमा महासमिति सदस्य बनेका उनी पार्टीको साह्रोगाह्रो पन्छाउने नेताका रुपमा झापामा चिनिन्छन् ।
०४६ सालमा जनपक्षीय उम्मेदवार बनेर उपप्रधानपञ्चमा चुनाव लडे, कुमरखोदमा । जुनबेला उनले ४३ मतले पराजित हुनुप¥यो । उनीसंग पराजीत हुँदाको समेत अनुभव छ ।  सोही वर्ष नेपाली कांग्रेस कुमरखोदको गाउँ उपसभापति उनी बनेका थिए  ।
आदिबासी जनजाति महासंघको केन्द्रीय सदस्यको जिम्मेवारीसमेत सम्हालिसकेका थेवे ‘रिक्स’ लिएर काम गर्ने नेताका रुपमा स्थापित छन् । जिल्लामा देखापर्ने विभिन्न खाले समस्यामा जुधेर काम गर्ने स्वभावले थेवेलाई कुशल वार्ताकारका रुपमा चिनाएको छ । जनपक्षीय एजेन्डामा सफलता हात पार्ने कौशल भएका थेवे ताप्लेजुङको आम्बेगुदिनमा २०२१ साल मंसीर २९ गते जन्मिएका हुन् । राजनीतिक परिवारमा हुर्किएका उनी जन्मथलो छोडेर झापा कुमरखोदलाई कर्मथलो बनाउदै ०३९ सालमा मधेश झरेका हुन् ।  कृतिमान र दधिमायाका छोरा देउमानको प्रारम्भिक शिक्षा आम्बेगुदिनको ओखरबोटे प्राविबाट सुरु भएको थियो । एसएलसी सम्मको मात्र अध्ययन गरेका उनले  भानु माविमा केही वर्ष अध्ययन गरे र सिनाम माविबाट एसएलसी दिए । ०३६ सालमा एसएलसी दिएका उनी सोही समय पक्राउ परे । नेविसंघको राजनीतिमा सक्रिय उनी चर्चित सिनाम काण्डपछि यातना पाएका व्यक्ति हुन् ।
 मंसीर २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वानमा झापा क्षेत्र नम्बर ४मा नेपाली कांग्रेसको उम्मेदवार रहेका उनी यतिबेला मतदातालाई घरघरमा पुगेर भेटिरहेका छन् । आदिबासी जनजाती समुदायको बाहुल्यता रहेको सो क्षेत्रमा उनले आफ्नो उम्मेदवारीको औचित्य, लक्ष्य र चुनावी एजेन्डाको बारेमा धेरै मतदातालाई बुझाउन भ्याइसकेका छन् ।  जनप्रिय नेताका रुपमा उनी त्यस ठाउमा मात्र होइन जिल्ला भर परिचित छन् ।
विकासप्रेमी नेताका रुपमा समेत परिचित थेवे कुमरखोदको गाविसको अध्यक्ष हुँदा त्यहाँ हेल्थपोष्ट भवन बनाए, विश्व बैंकको पैसाबाट । झापामा सबैभन्दा पहिलो भीएचएफ टेलिफोन भित्र्याउने उनै थेवे हुन् । ०४९ सालमा टेलिफोन लिएर झापा बजार पुग्दा सवै सब्जी बजार नै खाली भएको थियो, टेलिफोन हेर्न सबै भेला भएका थिए । सुरुंगा–झापा सडकको रेखांकन मात्रै थियो । आफैं समितिको संयोजक भएर काम सम्पन्न गराए ।  सुरुङ्गा–झापा सडकलाई दानाबारी हुँदै इलाम–कन्चनजंघा सडकमा परिणत गरेर हरेक साल बजेट छुट्याउने काम उनैले गरे ।
दुधे–महाभारा–कोरोबारी–बघाहाचौधरी सडक , दक्षिणतिरबाट पिच गरेर उनकै पहलमा ल्याएको छ । अहिलसम्म खाली उत्तरबाट सडक बनाउने परिपाटी थियो । त्यसलाई उनले फेरवदल गरिदिए र  दक्षिणबाट काम सुरु भयो  । उत्तर–दक्षिणका हरेक बाटाहरु थेवेकै अगुवाइमा बनेका छन्, अरुको अगुवाइमा होइन थेवेले  गर्वका साथ भने अझैं म यसक्षेत्रको विकासका लागि निरन्तर लागिरहन्छु । थेवे आफैंले नेपालकै सवैभन्दा लामो पुल कनकाई माइको कुमरखोद–महाभारालाई जोड्ने हुलाकीमार्गको पुल शिल्यान्यास गर्न भ्याए ।  ७२४ मिटरको उक्त पुल उनले शिल्यन्यास गरेपछि अहिले सो पुल निर्माणधीन अवस्थामा छ ।
पुल शिलान्यास गर्न पाउनु मेरा लागि शौभाग्य हो उनले भने – मलाई त्यहाँ बोलाइयो, म पुग्दा सबैथोक ठिक्क पारेको रहेछ, शिलान्यास गरेँ । त्यसपछि ठेकेदारले निरन्तर एक वर्षसम्म काम ग¥यो, पुरस्कृत नै गर्नुपर्छ जस्तो गरेर । तर, बीचमा ठेकेदारले फेरि धेरै ढिलासुस्ती गरिदियो । हामी यही विषयमा मन्त्रालयसम्म पनि डेलिगेशन गयौँ । र, ठेकेदारले अहिले फेरि काम सुरु गरेको छ । छिटो काम गराउन सकियो भने अबको दुई–अढाई वर्षमा पुल पूरा हुन्छ ।

पुल निर्माणको काम अहिले जमिनमूनिको पूरा भइसकेको छ । माथि पनि केही पिल्लर बनिसके । यो पुल निर्माण सम्पन्न गराउन मेरो दायित्व छ उनले थपे म यो पलको काम सम्पन्न नहुन्जेल निरन्तर लागिरहेको छु । अहिले मसँग प्रतिष्पर्धा गर्ने उम्मेदवारलाई त्यो पुल कहाँनेर पर्छ भनेर सोध्ने हो भने उहाँलाई ठाउँ पनि थाहा छैन ठट्यौली पारामा उनले भने ।
देशको राजनीतिक अवस्थालाई समेत विश्लेषण गर्दै उनले भने हामी जुन परिस्थितिमा हामी छौँ, मुलुक दुई ध्रुवीकरणमा छ । एकातिर वामपन्थी गठबन्धन छ, उनीहरुले संविधान धरापमा पर्ने हुन् कि भन्ने शंका छ । अर्कोतिर लोकतान्त्रिक गठबन्धन छ । तसर्थ कांग्रेसलाई पक्कै मतदाताले भोट दिनुहुनेछ । लोकतन्त्र, प्रजातन्त्र बचाउनका लागि र संविधान संस्थागत गर्नका लागि पनि सबैले लोकतन्त्रको अगुवाई गर्ने पार्टीका उम्मेदवारलाई मतदान गरेर विजयी गराउनुहुने छ । म यही आग्रह गर्न चाहन्छु ।
आफ्नो रानजीतिक यात्राको स्मरण गर्दै उनले आफू नेपाली कांग्रेसको राजनीतिक धरातलबाटै हुर्किएको बताए । उनले विगत सम्झदै भने – म राजनीतिक परिवारकै सदस्य हुँ । मेरा पिता पनि राजनीति नै गर्नहुन्थ्यो । बुवाले २०१२÷१३ सालदेखि कांग्रेसको राजनीति गर्दै आएको थाहा पाएँ । १७ सालमा निर्दलीय पञ्चायती व्यवस्थाको पादुरभाव भएपछि २१ सालदेखि जनपक्षीय प्रधानपञ्च, जिल्ला विकास समितिको सदस्य हुँदै बुवाले ताप्लेजुङमा राजनीतिक भूमिका निर्वाह गर्नुभयो । म त्यही परिवारमा हुर्किएँ । मुलुक बदल्न राजनीति गर्नु पर्दोरहेछ भन्ने कुरा मैले त्यतिबेलै बुझेँ । मैले २०३५÷३६ सालमा विद्यार्थी राजनीति सुरु गरेँ, ताप्लेजुङको सिनाम माविबाट । त्यहाँबाट उत्पादन भएका धेरै विद्यार्थी अहिले राष्ट्रको उपल्लो तहमा पुगेका छन् । मैले पनि त्यही विद्यालयबाट शिक्षा लिएको हुँ । म सानै उमेरदेखि नेविसंघको राजीनितमा सहभागी भएको थिएँ ।
झापा झरेपछि म जुन ठाउँमा बसेँ, यो ठाउँ (कुमरखोद) कुनै समय जिल्लाको सदरमुकामसमेत थियो । यहाँ तराई मुलका बासिन्दाको बसोबास बढी छ । यहाँ विभिन्न जातजाति छन् । यहाँ बस्दा मैले सबै जाति, वर्गको भरपूर सहयोग पाएँ । यहाँ बस्ने मात्र होइन, अरुको खुशीमा रमाउने, आपतमा सघाउने पनि गरेँ । मैले पार्टीको जिम्मेवारी पनि तल्लो तहबाटै निर्वाह गरेको हुँ । एकैपटक माथि आएको होइन म । जिरोबाट राजनीति सुरु गरेको हुँ । २०४९ सालमा मलाई जनताले विश्वास गरेर गाविस अध्यक्ष बनाए । २०५४ मा फेरि दोस्रो पटक गाविस अध्यक्ष भएँ । साह्रै माया र प्रेरणा पाएँ मैले आदिबासी समुदायबाट पनि । मैले झापाको दक्षिणी क्षेत्रका बासिन्दाको औधि माया र प्रेरणा पाएको छु । म निरन्तर उहाँहरुका लागि काम गरिरहेको छु । मेरो निर्वाचन क्षेत्रभरका सबै जातजाति, वर्गबाट धेरै माया र स्नेह पाएको छु । लोकतन्त्रलाई विश्वास गर्ने मतदाता धेरै हुनुहुन्छ । नेपाली कांग्रेस पुरानो पार्टी हो । कांग्रेसको संघर्ष उहाँहरुले राम्ररी बुझ्नुभएको छ । चुनावी माहोल एकदमै राम्रो छ । मलाई भोट दिएर मतदाताले जिताउनेमा म पूर्ण विश्वस्त छु उनले भने –
मैले निरन्तर राजनीतिक जीवनयात्रा गरेँ, गरिरहेको छु । हिजो पञ्चायत कालमा प्रतिबन्धित अवस्थामा पनि पार्टी संगठनमा रहेर काम गरेँ । ४६ सालमा बहुदलीय व्यवस्था पुनःस्थापना भएपछि म पार्टी संगठनको तल्लो तहबाट संघर्ष गर्दै यो तहसम्म आइपगेको छु । विकास निर्माणकै कुरा गर्ने हो भने म २÷२ पटक गाविस अध्यक्ष भएर कमसेकम विकास निर्माणको पद्धति, प्रक्रियााई राम्ररी बुझेको छु । म निरन्तर जनताका माझमा छु । चाहे बाढी, पहिरो जाँदा होस्, चाहे आपत्–विपद् पर्दा । जन्ती, मलामीमा होस् या ओल्लो घर, पल्लो घरमा पूजापाठ हँुदा किन नहोस्, म जहाँ पनि पुगेकै छु । अहिले उम्मेदवार हुँदा मात्रै म घर–घरमा पुगेको होइन । मैले त जनताको सुख, दुःखमा साथ दिएको छु । अर्को कुरा– मैले निर्वाचनमा खर्च पनि गर्नु परेको छैन । स्वतस्फूर्त रुपमा यहाँका जनता र पार्टीका कार्यकर्ताले आफ्नै गोजीबाट २÷४ रुपैयाँ निकालेर सहयोग गरेर मलाई चुनावमा सघाउँदै हुनुहुन्छ । मलाई त्यतिसम्म सजिलो छ । अरुले चुनावमा धेरै खर्च हुन्छ भन्छन् तर, मैले त्यो खर्चको अनुभूति गर्नै पाएको छैन । मेरा शुभचिन्तकलाई राम्ररी थाहा छ, यो मान्छेले निरन्तर हामीसँग बसेर काम गरेको छ भन्ने कुरा साँच्चै मैले हरेक सुख, दुःखमा जनतालाई साथ दिएको छु, विकास निर्माणका काम गरेको छु । यही नै हो मेरो चुनाव जित्ने आधार र म तीन देखि ५ हजार बढी मतका साथ मेरा प्रतिष्पर्धीलाई जित्छुपनि ।

झण्डै १६ हजार मतले तपाइका प्रतिष्पर्धी अगाडि छन्नि भन्ने प्रश्नमा उनले भने –उहाँहरु स्थानीय तहको मतपरिणामलाई विश्लेषण गरेर खुशीयाली मनाउँदै हुनुहुन्छ । यसरी गणितीय हिसाबले हेर्ने हो भने त पहिलो संविधानसभाको निर्वाचनमा जसरी माओवादीले देशभर जित्यो, दोस्रो संविधानसभा निर्वाचनमा अरु दलले उम्मेदवारी नदिँदा पनि हन्थ्यो नि त ! तर, माओवादीले पहिलो संविधानसभा निर्वाचनमा जसरी देशभर जित्यो, ४ वर्ष नजित्दै परिणाम उल्टियो । त्यसैले म भन्छु– गणितीय हिसावले राजनीतिमा परिणाम निस्कँदैन । मैले अघिपनि भनेनि म ३ देखि ५ हजार मतले जित्छु, यो मेरो दाबी हो र जितेर देखाउछुपनि ।

Saturday, September 9, 2017

कञ्चनगढको अस्तित्व संकटमा

सुरुङ्गा (झापा), २५ भदौ । झापाको बाह्रदशी गाउँपालिका–६मा रहेको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल कञ्चनगढको अस्तित्व संकटमा परेको छ । 


बाह्रदशी सामुदायिक वन आसपासको निजी जमिन खनेर माटो बिक्री गर्न थालेपछि कञ्चनगढको अस्तित्व संकटमा परेको हो । केही समयअघिसम्म कञ्चनगढ आसपासको सार्वजनिक जग्गासमेत कटान गरेर माटो इँटाभट्टालाई बिक्री गर्ने गरिएको थियो । सो कार्य भने अहिले स्थानीयवासीको चर्काे विरोधपछि रोकिएको छ । तर, निजी जग्गाको माटो कटान गरेर बिक्री गर्दा भूक्षय हुन सक्ने भन्दै स्थानीयवासीले विरोध जनाइरहेका छन् । माटो दिनानुदिन कटान गरेर बिक्री गर्दा अग्लो डाँडो भत्कने भन्दै त्यस्तो कार्य रोकिनुपर्ने गौरीशंकर शिवालय गायत्री स्वरुपाश्रमका अध्यक्ष मधुराम पनेरु बताउनुहुन्छ । 

समुद्री सतहबाट ३०० मिटर उचाइमा रहेको कञ्चनगढमा शिवालय मन्दिर, दुर्गा, काली एवं श्रीकृष्णको मन्दिरसमेत रहेको छ । यहाँ प्रत्येक वर्ष शिवरात्रि, बालाचतुर्दशीमा मेला लाग्ने गर्छ । अग्लो भूभागमा मठ मन्दिर रहेको र वरिपरिको जमिन कटान गरेर माटो बिक्री गर्दा टापूमा परिणत भएको कञ्चनगढ आसपासको जमिन भत्किन थालेपछि मन्दिर र अन्य पुरातात्विक सम्पदाको विनाश हुने भन्दै बाह्रदशी आसपासको जमिन कटान बन्द गर्नुपर्ने माग गर्दै सर्वसाधारणले बाह्रदशी गाउँपालिकालाई ज्ञापनपत्र बुझाएका छन् । 

Friday, September 8, 2017

वाढी पीडित विद्यार्थीलाई शैक्षिक सामग्री

सुरुङ्गा(झापा) २४ भदौ ।  झापा गाँउपालिकाका बाढी पीडित विद्यार्थीका लागि धुमुर्स – सुन्तली फाउण्डेशनले शुक्रवार शैक्षिक समाग्री वितरण गरेको छ ।
फाउण्डेशनले १३ वटा विद्यालयका १ हजार १ सय ५० जना विद्यार्थीलाई शैक्षिक समाग्री वितरण गरेको हो । बाढीले पाठ्य पुस्तक, विद्यालय पोशाक लगायतका सामाग्रीहरु बगाएपछि दैनिक पठन –पाठनमा समस्या भोग्दै आएका  बालबालिकाहरुलाई एक थान स्कूल व्याग, कपी, डट, पेन्सिल, टिफिन बक्क लगायतका सामाग्री हस्तान्तरण गरिएको थियो ।
सिमलवाडी, नमूना, लक्ष्मी, भानुभक्त, भृकुटी रामजानकी लगायतका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पठन – पाठनमा सहज होस् भन्दै फाउण्डेशनले शैक्षिक सामग्री वितरण गरेको फाउण्डेसनका सदस्य विकाशराज पाण्डेले बताउनुभयो ।
साउनको अन्तिम साता आएको वाढीले यहाँका १ हजार २ सय बालबालिकाको शैक्षिक सामाग्रीमा क्षति पुगेको गाउँपालिकाका अध्यक्ष जयनाराण शाहले बताउनुभयो । उनीहरुलाई गाउँपालिकाले पनि शैक्षिक लगायतका सामग्री वितरणको तयारी गरिरहेको उहाँले बताउनुभयो ।

शिक्षा दिवसमा सम्मान


सुरुङ्गा(झापा) २४ भदौ ।  संघीय नेपाल समृद्धिको आधार, स्तरीय शिक्षा सबैको अधिकार भन्ने मूल नाराका जिल्ला शिक्षा समिति झापाले शुक्रवार शैक्षिक क्षेत्रमा आवद्ध व्यक्ति तथा संघ संस्थालाई सम्मान गर्दै ३८ औ अन्तराष्ट्रिय शिक्षा दिवस मनाएको छ ।
दिवसको अवसरमा  उत्कृष्ट स्रोत केन्द्रको रुपमा आदर्श मावि स्रोत केन्द्र मेचीनगर सम्मानित भएको छ । त्यसैगरी उत्कृष्ट माध्यमिक विद्यालय (सामुदायिक तर्फ) हिमालयन मा.वि. दमक र कनकाई मावि सुरुङ्गा, (संस्थागत तर्फ) सिद्धार्थ बोर्डिङ स्कूल दमक, उत्कृष्ट प्राथमिक विद्यालय तर्फ जनता प्रा.वि. कचनकवल, उत्कृष्ट आधारभूत विद्यालय तर्फ कृष्ण आधारभूत विद्यालय मेचीनगर सम्मानित भएका छन् ।
उत्कृष्ट गुरुकुलमा श्री कृष्ण द्घेपायन गुरुकुल वेद विद्याश्रम भद्रपुर , ,उत्कृष्ट मदरसामा श्री मदरसा इस्लामिया फिजुल उलुम सम्मानित भएका छन् । उत्कृष्ट सामुदायिक सिकाई केन्द्र तर्फ राजगढ सामुदायिक सिकाई केन्द्र र उत्कृष्ठ बाल क्लवको रुपमा बाल सुवोधिनी आधारभूत विद्यालयको बाल क्लव सम्मानित भएका छन् ।
यसैबीच कार्यक्रममा २०७३ सालको एसइ परीक्षामा झापामा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थी  सिमरा सुवेदी, सविना भण्डारी, प्रमिला उप्रेती र पूर्णिमा तामाङ्गलाई सम्मान गरिएको थियो । त्यसैगरी २०७३ साल कै कक्षा ८ को जिल्ला स्तरीय परीक्षाबाट झापामा उत्कृष्ठ अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थीहरु इसा साउदेन, सुरेश शर्मा, प्रवेश मिश्र, पदम कुमारी राजवंशी, पुष्कर दाहाल र नगेन बोहोरालाई नगद २ हजारसहित प्रमाण पत्रले सम्मान गरिएको थियो ।
जिल्ला समन्वय समिति झापाका प्रमुख तथा जिल्ला शिक्षा समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, उपप्रमुख मिना उप्रेती, नेपाल शिक्षक महासंघ झापाका अध्यक्ष तेजप्रसाद चौँलागाई लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद बरालले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

माओवादी केन्द्रका नेता कार्यकर्ता धमाधम पार्टी परित्याग गर्दै





सुरुङ्गा(झापा) २४ भदौ ।  नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य तुलसीप्रसाद ओलीसहित १३ जना  नेता तथा कार्यकर्चाले पार्टी परित्याग गरेका छन् ।
 पार्टी विधान विपरित सञ्चालन भएको भन्दै ओलीसहित १३ जना  ले पार्टी परित्याग गरेका हुन् । उनीहरुले शुक्रवार संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन ।
पार्टी परित्याग गर्नेहरुमा साविक हल्दिवारी १ का अध्यक्ष जीवन तामाङ, २ का अध्यक्ष भैरव राजवंशी, २ का चुनाव परिचालन आर्थिक संयोजक शेरवहादुर श्रेष्ठ, ३ का भीमवहादुर घिमिरे, ४ का विजय राजवंशी, ४ कै उपाध्यक्ष खड्गवहादुर तामाङ,६ का सचिव रामवहादुर श्रेष्ठ, ८ का अध्यक्ष तेजवहादुर खतिवडा रहनु भएको छ ।
 त्यस्तै साविक हल्दिवारी २ का अखिल नेपाल महिला संघ क्रान्तिकारी सचिव अमिना राजवंशी, साविक हल्दिवारी ९ का अध्यक्ष जगदीश साह, पूर्व हल्दिवारी कोषाध्यक्ष धनवहादुर विष्ट र हल्दिवारी गाउँपालिका दलित मुक्ति मोर्चा अध्यक्ष डिल्ली परियारले पनि पार्टी परित्याग गर्नुभएको छ । 

वृक्षरोपण आयोजनालाई डेढ करोडको क्षति



सुरुङ्गा(झापा), २३ भदौ । साउन अन्तिम साता वर्षासँगै आएको हावाहुरीका कारण रतुवामाई वृक्षरोपण आयोजनाका एक हजार ८०२ वटा मसला, साल र टिकका रुख ढलेका छन् ।

हावाहुरीले रुख लडाउँदा आयोजनालाई झण्डै रु एक करोड ५० लाख मूल्य बराबरको क्षति भएको छ । दुई हजार ७५३.७६ हेक्टर क्षेत्रफलमा सञ्चालित रतुवामाई वृक्षरोपण आयोजना नेपालकै दोस्रो ठूलो वृक्षरोपण आयोजना हो ।

हावाहुरीले लडाएका रुख एक महिना बित्न लाग्दासमेत रतुवा माई वृक्षरोपण आयोजनाले व्यवस्थापन गर्न सकेको छैन । ढलेका रुख चोरी हुने सम्भावना छ । वृक्षरोपण आयोजनाका प्रमुख खेमलाल विश्वकर्मा कानूनी प्रक्रिया लामो भएका कारण ढलेका रुखको व्यस्थापन गर्न नसकिएको बताउनुहुन्छ ।

“झन्झटिलो प्रक्रियाका कारण समयमै रुखको व्यवस्थापन गर्न नसकिएको हो,” उहाँले भन्नुभयो । काठ चोरी हुनसक्ने भएकाले समयमै यसको व्यवस्थापन गर्न स्थानीयवासीले माग गरेका छन् ।

पढाइबाट वञ्चित शकुन्तला यसरी जान थालिन् विद्यालय

सन्दर्भ शिक्षा दिवसः


सुरुङ्गा (झापा), २३ भदौ । “भाइ स्कूल गएको देख्दा मलाई पनि स्कूल जान मन लाग्थ्यो ।

म आमासँग स्कूल जान्छु भनेर रुन्थेँ । बुबा–आमा घर बनाउने काम गर्न बिहानै हिँड्नु हुन्थ्यो । म दिनभर एक्लै तीनजना भाइलाई हेरेर घरमै बस्नुपथ्र्याे । भाइसँगै स्कूल जान कहिलेकाहीँ जिद्दी गर्दा आमाले मलाई बेस्सरी कुट्नु पनि भएको छ ।”

“तँ स्कूल गइस् भने भाइ कस्ले हेर्छ  ? भन्दै आमाले मलाई झपार्नु हुन्थ्यो”, बाह्रदशी गाउँपालिका–६ सुकुम्वासी टोलकी १३ वर्षीया शकुन्तला हस्दाको भनाइ हो यो ।

तेह्र बर्षकी उनी बल्ल अहिले साबिक डाँगीवारी–९ मा रहेको गौरीशंकर माध्यमिक विद्यालयमा कक्षा १ मा अध्ययन गर्छिन् । उनीसँगै उनका तीन भाइ पनि कक्षा १ मा पढ्छन् भने उनको एउटा भाइ सुन्दर कक्षा २ मा अध्ययनरत छन् । शकुन्तलासँगै सुनिल, वुधन र लुखीराम भने कक्षा १ मा अध्ययनरत छन् ।

पढ्ने मन भएर पनि आमा–बुबाका कारण स्कूल जान नपाएकी शकुन्तला अहिले ढिलै भए पनि स्कूल जान पाउँदा औधी खुशी छिन् । चारजना भाइलाई साथमा लिएर विद्यालय जाँदै गर्दा विद्यालयको प्राङ्गणमा भेटिएकी उनले भनिन्, “मलाई स्कूल पढ्न पाइएला जस्तो लागेकै थिएन, यो स्कूलबाट जानुभएका सर मिसले बुवा–आमालाई भनिदिएपछि म स्कूल आउन थालेकी हुँ ।”
झापाको बाह्रदशी गाउँपालिका–६ सुकुम्वासी टोलकी १३ वर्षीया शकुन्तला हस्दा चार भाईलाई लिएर गौरीशंकर मावि पढ्न जाँदै । 

शकुन्तलाकी एक दिदी जमुना पनि छिन् । उनी अहिले आमा–बुबासँगै मजदुरी गर्न हिँड्छिन् । उनले पनि गौरीशंकर माविमा कक्षा ३ मा पढ्दापढ्दै स्कूल छाडेको शकुन्तलाले बताइन् । उनले भनिन्, “दिदीले पनि यही स्कूल पढेकी हो । ऊ पनि स्कूल आउन त मन गर्छे, हामी सबै स्कूल आउन थालेपछि दिदी आमाबुबासँग लेवर काममा जान्छे ।”

Wednesday, July 12, 2017

सार सकिन लाग्दा झापामा २३ प्रतिशत मात्र रोपाई


झापा, असार २९ । असार सकिन लाग्दा पनि झापामा २३ प्रतिशत मात्र रोपाई भएको छ ।

धन उत्पादनका लागि मुलुककै धेरै धान उत्पादन हुने जिल्लाका रुपमा चिनिएको झापामा हाल सम्म २३ प्रतिशत मात्र रोपाई भएको जिल्ला कृषि विकास कार्यालय झापाका प्रमुख प्रकाश डाँगीले बताउनुभयो । स्थानीय निर्वाचनका कारण रोपाइँ प्रभावित भएको उहाँको भनाई छ । वीऊ राख्ने समय र रोप्ने समयमा   किसान चुनावी कार्यक्रममा सहभागी भएका कारण रोपाई प्रभावित भएको हुनसक्छ डाँगीले भन्नुभयो ।
झापामा ८७ हजार ५ सय हेक्टर क्षेत्रफलमा वर्षे धान खेती हुने गरेको छ भने २० हजार ३ सय हेक्टर क्षेत्रफलमा चैते धान खेती  हुने गरेको छ ।

नेपालीले बाँझो राखेको जमिनमा लाखौं कमाउँछन् भारतीय नागरिक



झापा,असार २८ । रोजगारीको खोजीमा दैनिक १५ सय भन्दा बढी   युवा विदेसिरहेका बेला कृषि कर्मका लागि नेपाल छिरेका भारतीय नागरिकले तरकारी खेती गरेर मनग्य आम्दानी गरिरहेका छन् भन्दा अचम्म लाग्न सक्छ । तर, झापाका विभिन्न ठाउँमा भारतीय नागरिकले जग्गा भाडामा लिएर तरकारी खेती गर्दै मासिक ३० हजार भन्दा बढी बचत गर्ने गरेका छन् ।  मौसमी तथा बेमौसमी तरकारी खेती गरेर झापाकै स्थानीय वजारमा तरकारी विक्री गर्दै उनीहरुले वार्षिक तीन लाख रुपैयाँ भन्दा बढी भारत लाने गरेका छन् ।

विहार राज्यको सितामारी जिल्लाबाट आउनु भएका  राम ज्योति यादवले झापाको बिर्तामोड नगरपालिकामा तरकारी खेती गरेको झण्डै ३२ वर्ष भयो । उहाँले स्थानीय गौरावती राजवंशीको बिर्तामोड नगरपालिका – ३ स्थित बिर्तावजारमा रहेको सात कठ्ठा जग्गा वार्षिक २५ हजार रुपैयाँमा भाडामा लिएर तरकारी खेती गरिरहनुभएको छ । तरकारी खेतीबाटै मासिक ३० हजार रुपैयाँ बचत गरिरहेको यादवले बताउनुभयो ।



 यादव आफ्ना बुवा रामफल यादवसंग झापामा कृषिकर्म गर्नुहुन्छ ।  उहाँका श्रीमती मीनादेवीसंग रहेका दुई छोरा विशाल र करुण त्यहाँस्थित होस्टलमा वसेर अध्ययन गरिहेका छन् भने दुई छोरी पूजा र रवीना भारतकै स्थानीय विद्यालयमा अध्ययन गर्ने गरेका छन् ।  उनीहरुको पढाइखर्च र घर खर्च कटाएर पनि रामज्योतिले झापामा तरकारी खेती गरेर सरदर मासिक ३० हजार रुपैयाँ बचत गर्ने गरेको बताउनुभयो ।

दूध बेच्न भारतीय बजार धाउँदै

सुरुङ्गा (झापा), २८ असार । झापा गाउँपालिका–६ का पुण्यप्रसाद पौडेल १६ वर्षदेखि भारतको दिघल बैंक बजारमा दूध बिक्री गर्दैआउनुभएको छ । उहाँले दैनिक १५० लिटर दूध बिक्री गर्नुहुन्छ । 


नेपालमा भन्दा भारतीय बजारमा मूल्य बढी पाइने भएपछि उहाँ दूध बिक्री गर्न भारतीय बजार धाउँदै आउनुभएको हो । “झापाका विभिन्न बजारमा दूधको मूल्यमा एकरुपता छैन,” उहाँले भन्नुभयो– “हामी कृषकबाट प्रतिलिटर रु ४० मा दूध खरिद गरी डेरीलाई रु ३८ देखि रु ३९ का दरले बेच्छौँ, त्यही दूध उनीहरु रु ५५ मा बिक्री गर्छन ।” 
कनकाई नगरपालिकाको सुरुङ्गास्थित अमृत दुग्ध विकास संस्थामा काम गर्दागर्दै जागिर छाडेर पौडेलले दूध बेच्न थाल्नुभएको हो । पौडेल अहिले भारतीय बजारमा प्रतिलिटर ३० देखि ३५ भारतीय रुपैयाँमा दूध बिक्री गर्नुहुन्छ । उहाँ गाउँघरमा ‘दूधवाला’ का नामले परिचित हुनुहुन्छ । 
“दूध बेचेरै परिवारको पालनपोषण गर्दैआएको छु,” उहाँले भन्नुभयो ।

पौडल मात्र होइन भारतसँग सीमा जोडिएका घेरावारी, शरणामती, कुमरखोद, केचना, बनियानीलगायत ठाउँका कृषक दूध बेच्न भारतीय बजार धाउने गरेका छन् । अधिकांश कृषक आफैँ दूध बेच्न भारतीय बजार जाने गरेका छन् भने केहीले दूध संकलकमार्फत दूध बेच्ने गरेका छन् ।

पछिल्लो समय सरकारले पशुपालक कृषकका लागि अनुदान दिन शुरु गरेपछि जिल्लाका पशुपालक कृषकको संख्या बढेसँगै दूध उत्पादनमा समेत वृद्धि भएको छ । आव २०७२/७३ मा रु चार अर्ब ५० करोड बराबरको दूध उत्पादन भएको जिल्ला पशुसेवा कार्यालयका सूचना अधिकारी कुमारसिंह खत्रीले बताउनुभयो । सो आवमा जिल्लामा दुई हजार ३०० मेट्रिक टन दूध उत्पादन भएको थियो ।

उत्पादन भएको दूधमध्ये ८० प्रतिशत जिल्लामै खपत हुन्छ । पाँच हजार लिटरभन्दा बढी दूध खपत गर्दै आएका एनएमसी डेरी र ऋतिका डेरीबाट कृषक लाभान्वित भएका छन् । जिल्लामा नश्ल सुधारका लागि १२ वटा सामुदायिक प्रजनन केन्द्र, १७ वटा सेवा केन्द्र र निजी क्षेत्रले समेत काम गर्दै आएका कार्यालयले जनाएको छ । 

Friday, May 5, 2017

जगद्गुरु श्रीबालसन्त मोहनशरण देवाचार्य महाराजसंग

जगद्गुरु श्रीबालसन्त मोहनशरण देवाचार्य महाराजसंग रेडियो सनराइजका लागि अन्र्तरवार्ता लिइसकेपछि प्रसाद ग्रहण गर्दै ।

जगद्गुरु श्रीबालसन्त मोहनशरण देवाचार्य महाराजसंग


जगद्गुरु श्रीबालसन्त मोहनशरण देवाचार्य महाराजसंग रेडियो सनराइजका लागि अन्र्तरवार्ता लिइसकेपछि प्रसाद ग्रहण गर्दै । 

शिक्षा मन्त्री गिरीराजमणि पोखरेलसंग

जिल्ला शिक्षा कार्यालय झापाले गरेको सम्मानपछि शिक्षा मन्त्री गिरीराजमणि पोखरेलसंग 

Monday, January 23, 2017

प्रेमीकासंग एउटै डोरीमा झुण्डिएका लोकनाथको बल्ल सुरुभयो काज किरिया



सुरुङ्गा (झापा) ११ माघ ।  नागरिक समाजले दवाव दिएपछि मृत्यु भएको चार दिनपछि वल्ल कनकाई नगरपालिका–७ निवासी लोकनाथ भट्टराई(इश्वरी)को हिन्दू परम्परा अनुसार हिजो अपराह्रानबाट काजकिरिया सुरु भएको छ ।

अन्तरजातीय प्रेमसम्वन्धका कारण आत्महत्या गरेको भनिएका  कनकाई नगरपालिका– ७, मन्सापुर निवासी भट्टराईको काजक्रिया नहुँदा पीडित परिवारमा थप पीडा थपिएको थियो ।  भट्टराई परिवारले विगत १२ वर्षदेखि पुज्दै आएका पुरोहित सोही ठाउँ निवासी रोहिणीप्रसाद गौतमले उनको काज किरिया नगरिदिएपछि मृतक भट्टराईको काजक्रिया हुन नसकेको बताइएको छ । उनको काज किरियाका लागि हिजो सोमवार दिउँसो नागरिक समाजको टोलीले भट्टराईको घरमा गएर पुरोहित यादवप्रसाद खतिवडालाई काजक्रिया गराउन आग्रह गरेपछि अपराह्र ३ वजेबाट  उनको काजकिरिया थालिएको हो ।
हिजो अपराह्रबाट मृतकका ठूलोवुवा लीला भट्टराई भतिजाको काजकिरियाका लागि कोरोढिकुरो गरेर कोरामा वस्नुभएको सामाजिक अगुवा कुमारप्रसाद खरेलले बताउनुभयो । भट्टराईको काजकिरिया गराउन गंगा उप्रेती, धनपति चुडाल लगायतले पुरोहित गौतमलाई अनुरोध गरेपनि  उनले आफूले नभ्याउने भन्दै उनको काज किरिया नगराएपछि अर्को पुरोहितको व्यवस्थापन गरिएको खरेलले बताउनुभयो ।
स्थानीय समाजसेवी गोपाल सिवाकोटीले भन्नुभयो  ‘हामी तुरन्तै ‘मन्सापुरे समाज’ गठन गरी एउटा हिन्दुले अर्को हिन्दुलाई उपहास गरेको र  अन्तरजातीयताको नाममा गरिएको विभेदको अन्त्यका लागि  चाँडै हिन्दु महासंघमा समेत छलफल गरी यस्तो सामाजिक अन्योलताको अन्त्यका लागि अभियान चलाइने बताउनुभयो । भट्टराईले पुज्दै आएका पुरोहित गौतमलाई  अब अन्य व्यक्तिले समेत नपुज्ने बताइएको छ ।
गत शुक्रवार भट्टराई र सोही ठाउँ निवासी अस्मिता तोलाङ्गी स्थानीय विरीङ्ग नदीको किनारामा सिसौको रुखमा एउटै डोरीले पासो लगाई आत्महत्या गरेका थिए ।
मृतकको लास पोष्टमार्टम गरेपछि वैदिक परम्पराअनुसार दाहसस्कार गर्ने समयमा पुजेका पुरेतलाई खवर गर्दा आफू नभ्याउने भन्दै पन्छिएको र अन्य पुरोहितले पनि काजक्रिया गर्न नमान्दा पीडित परिवारमा शोक माथि शोक थपिएको थियो ।

Monday, January 16, 2017

झापामा २१ हजार विद्युत मिटर माग


  नेपाल सरकारले विद्युत चुहावट नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिरहेका बेला झापामा सेवाग्राहीको माग अनुसार नेपाल विद्युत प्राधिकरणले विद्युत मिटर वितरण गर्न नसक्दा चुहावट नियन्त्रणमा समस्या देखिएको छ ।
नेपाल सरकार उर्जा मन्त्रालय मातहतमा रहेको नेपाल विद्युत प्राधिकरणले देशभर यस्तो अभियान चलाए पनि झापामा एक लाख ५८ हजार तीन सय ग्राहकले मात्र दैनिक महसुल बुझाएर विद्युत उपयोग गरिरहेका छन् ।
झापामा हाल  २१ हजार ग्राहकले विद्युत मिटर पाउनुपर्ने माग गर्दै प्राधिकरणमा आवेदन दिएका छन् । तर , प्राधिकरणले सवै सेवाग्राहीलाई विद्युत मिटर उपलव्ध गराउन सकेको छैन् ।  आवेदन दिएका अधिकांशलाई प्राधिकरणले लामो समयसम्म विद्युत मिटर उपलब्ध गराउन नसक्दा विद्युत चोरेर उपयोग गरिरहेको बताइएको छ ।
प्राधिकरणको तथ्यांक अनुसार नेपाल विद्युत प्राधिकरण भद्रपुर शाखा अन्तर्गत ४२ हजार तीन सय ग्राहकले नियमित विद्युत महसुल बुझाइरहेका छन् भने दमकका ६५ हजार र अनारमनी सेवा केन्द्रका ५१ हजार ग्राहकले मात्रै विद्युत मिटर लिएर नियमित विद्युत महसुल बुझाउने गरेका छन् ।
झापामा दमक, अनारमनी र भद्रपुरमा रहेका प्राधिकरणका सेवा केन्द्रले अहिले २०७१ सालमा परेका आवेदनको भर्खर मात्र विद्युत मिटर वितरण गरिरहेको छ । त्यस यता २१ हजार ग्राहकले विद्युत मिटर पाउनुपर्ने माग गर्दै सेवा केन्द्रमा आवेदन दिएको प्राधिकरण श्रोतले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरणले चुहावट नियन्त्रणका लागि अभियान नै सञ्चालन गरे पनि अधिकांशले प्राधिकरणको अभियानलाई असहयोग गरेको बताइन्छ । एक स्थानीयबासी भन्छन्–  ‘प्राधिकरणसँग विद्युत मिटर मागेको दुई वर्ष भयो अझंै विद्युत मिटर दिएको छैन , बिजुली चोरेर नबाले अब के गर्नु ?’ उल्टै उनले प्रतिप्रश्न गरे ।
नेपाल विद्युत प्राधिकरण भद्रपुर शाखाका प्रमुख रोशन खड्काका अनुसार भद्रपुरमा मात्रै पाँच हजार स्थानीयबासीले विद्युत मिटर पाउनुपर्ने माग गर्दै आवेदन दिएका छन् । उहँका अनुसार अहिले प्राधिकरणले २०७२ साल चैतसम्म परेका आवेदकलाई मात्र विद्युत मिटर बितरण गरिरहेको छ । भद्रपुर शाखाले दुई नगरपालिका सहित १५ वटा गाविसमा विद्युतसेवा प्रवाह गर्दै आएको बताइन्छ ।
यता अनारमनी सेवा केन्द्रमा पनि विद्युत मिटरका लागि आठ हजार आवेदन परेका छन् । विद्युत मिटर पर्याप्त नभएका कारण प्राधिकरणले माग अनुसार विद्युत मिटर वितरण गर्न नसकेको केन्द्रप्रमुख राजीवकुमार सिंहले बताउनुभयो ।
प्राधिकरणले चार नगरपालिका सहित १४ गाविसका सेवाग्राहीलाई सेवा प्रवाह गर्दै आएको  बताइन्छ ।
उता दमक वितरण केन्द्रका केन्द्र प्रमुख सुरेन्द्र साहका अनुसार दमक शाखामा पनि आठ हजार विद्युत मिटरको माग रहेको  छ । तर, प्राधिकरणले माग अनुसार विद्युत मिटर उपलब्ध गराउन नसकेको केन्द्र प्रमुख साहाले बताउनुभयो ।
दमक सेवा केन्द्रले तीन नगरपालिका सहित १४ गाविसमा विद्युत सेवा प्रवाह गर्दै आएको बताइन्छ । यता राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार झापामा विद्युत सेवा प्रयोग गर्नेको संख्या एक लाख ५१ हजार तीन सय ७४ घरधुरी रहेको छ ।

चुहावट नियन्त्रण अभियानका क्रममा ३१ लाख राजश्व  
विद्युत चुहावट नियन्त्रण अभियानका क्रममा सवैभन्दा बढी अनारमनी बितरण केन्द्रले राजश्व संकलन गरेको छ ।
प्राधिकरणका केन्द्र प्रमुख राजीवकुमार सिंहका अनुसार विद्युत मिटर वाईपास गर्ने र हुकिङ गरी विद्युत चोरी गर्नेहरुबाट प्राधिकरणले २० लाख रुपैयाँ भन्दा बढी राजश्व संकलन गरेको छ ।
उता भद्रपुर वितरण केन्द्रका सूचना अधिकारी जयराम आचार्यका अनुसार विद्युत चुहावट गर्ने एक सय १७ जनालाई कारवाही गरेर प्राधिकरणले पाँच लाख ६६ हजार पाँच सय रुपैयाँ राजश्व संकलन गरेको छ ।  मिटर बाइपास गर्नेबाट दुई लाख १९ हजार रुपैयाँ राजश्व संकलन भएको सूचना अधिकारी आचार्यले बताउनुभयो ।
त्यस्तै दमक शाखाले चुहावट नियन्त्रण अभियानका क्रममा एक सय ३४ जनालाई कारवाही गर्दै पाँच लाख ४९ हजार रुपैयाँ राजश्व संकलन गरेको बताइएको छ ।

उत्कृष्ट शिक्षा पत्रकारिता पुरस्कारबाट राससकर्मी भण्डारी पुरस्कृत


यसवर्षको लक्ष्मी उत्कृष्ट शिक्षा पत्रकारिता पुरस्कारबाट सुरेन्द्र भण्डारी पुरस्कृत हुनुभएको छ ।

स्वर्गीय हरिनारायण गुप्ताको स्मृतिमा स्थापित उक्त पुरस्कारबाट भण्डारी आज पुरस्कृत हुनुभएको हो  । पुरस्कृत भण्डारीलाई पूर्व शिक्षा मन्त्री गिरिराजमणि पाखेरेलले नगद पाँच हजार एक सय रुपैयाँसहित सम्मानपत्र  प्रदान गर्नुभयो ।
विगत ११ वषदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकार भण्डारी नेपाल पत्रकार महासंघ  झापाका सदस्य हुनुहुन्छ । उहाँलाई शिक्षा क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गरिएको थियो ।
त्यस्तै विगत अढाई दशकदेखि पत्रकारिता क्षेत्रमा संलग्न रहनुभएका  यलम्बर टाइम्सका सम्पादक दिपीन राई पनि पुरस्कृत हुनुभएको छ ।
कार्यक्रममा बोल्दै पूर्व शिक्षा मन्त्री पोखरेलले  शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ ।
उहाँले एक्लो प्रयासमा मात्र शिक्षामा देखिएका समस्याको आमूल परिवर्तन हुन नसक्ने भएकाले शिक्षा ऐन नै संशोधन गर्दै अघि बढेको र यसलाई थप प्रभावकारी बनाउन विद्यार्थीदेखि अभिभावक, शिक्षक र सरकार नै गम्भीर बन्नुपर्ने बताउनु भएको छ ।
नीतिगत सुधार भए पनि व्यवहारमा त्यसलाई कार्यान्वयन गर्न सकिएन भने त्यसले कुनै अर्थ नराख्ने उहाँको भनाइ थियो ।

ब्लग सेयर गर्नुहोला।