Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Wednesday, November 29, 2017

तीन शीर्ष पार्टीका तीन शीर्ष नेताको गृह जिल्ला झापाको चुनावी चर्चा





सुरुङ्गा (झापा) १२ मंसिर (रासस)  राजनीतिको केन्द्र भागमा रहेर सधैं चर्चामा रहने जिल्ला हो झापा । तीन शीर्ष पार्टीका तीन शीर्ष नेताको गृह जिल्ला हुनुसंगै मंसीर २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उनीहरुको उम्मेद्वारी रहेकाले यस पटक पनि झापा अझ बढी चर्चामा छ ।

 नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनसहित नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य सुरेन्द्रकुमार कार्की (राम कार्की), नेपाली कंग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा पनि चुनावी मैदानमा रहेकाले झापाको चुनावी चर्चा देशभर चुलिएको हो ।
पूर्व प्रधानमन्त्री समेत रहनुभएका ओली झापा क्षेत्र नम्वर ५ बाट चुनाव लड्दै हुनुहुन्छ । उहाँसंग नेपाली कांग्रेसका प्रत्यासी उम्मेद्वार डा खगेन्द्र अधिकारीसहित १४ जना प्रतिनिधि सभा सदस्यका उम्मेद्वार चुनावी मैदानमा हुनुहुन्छ ।
यता नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला झापा क्षेत्र नम्वर ३ बाट चुनाव लड्दै हुनुहुन्छ । उहाँसंग राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनसहित १२ जना  प्रतिनिधि सभा सदस्यका उम्मेद्वार चुनावी मैदानमा हुनुहुन्छ ।
झापा क्षेत्र नम्वर १ मा पनि नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य राम कार्की चुनाव लड्दै हुनुहुन्छ । पूर्व सञ्चारमन्त्री समेत रहनुभएका कार्कीसंग नेपाली कंग्रेसका केन्द्रीय सदस्य शर्मासहित सात जना प्रतिनिधि सभा सदस्यका उम्मेद्वार चुनावी मैदानमा हुनुहुन्छ । कार्की वाम गठवन्धनकातर्फबाट चुनाव लड्दै हुनुहुन्छ ।
नेपाली कांग्रेस र राप्रपाबीच देशव्यापी चुनावी तालमेल भएपनि झापामा  सिटौला र लिङ्देनबीचको हानथाप र कार्यकर्ताको तानातानले चुनावी तालमेल भङ्ग भएको छ । जसका कारण राप्रपाले वाम गठबन्धनसंग चुनावी तालमेल गरेको छ । लिङ्देन वाम गठबन्धनका तर्फबाट उम्मेद्वार बन्नुभएको हो । जसका कारण झापा अझ बढी चर्चामा रहेको छ ।



झापा – १ बाट यस्ता छन् उम्मेद्वारहरु

विश्वप्रकाश शर्मा – नेपाली कांग्रेस

प्रतिनिधि सभा सदस्यका लागि उम्मेद्वारी दिनुभएका विश्वप्रकाश शर्मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य  हुनुहुन्छ । २०२७ साल पुस ६ गते झापाको शान्तिनगरमा जन्मनुभएका शर्मा २०७० सालको संविधानसभा चुनावमा झापा १ बाटै चुनाव लड्नुभएको थियो । त्यसवेला उहाँ नेकपा एमालेका उम्मेद्वार रवीन कोइरालासँग पराजित हुनुभयो ।
त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएका शर्मा २०४७ सालमा नेविसंघ झापाको जिल्ला सभापति हुनुभएको थियो ।
१० वर्षपछि २०५७ सालमा उहाँ नेविसंघको केन्द्रीय सभापति हुनुभयो । २०५८ सालमा पहिलो पटक नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि चयन भएपछि शर्मा  २०७२ सालमा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो ।
२०४० सालमा ८ कक्षामा पढ्दा धुलाबारी माविको नेविसंघ इकाई सभापति हुनुभएको थियो । उहाँ २०४१ सालमा ९ कक्षामा पढ्दा ९ महिना हिरासतमा समेत बस्नु भएको थियो । 
परशुराम भण्डारी र सावित्रा शर्मा भण्डारीका छोरा विश्वप्रकाशका श्रीमती कविता सहित १ छोरा १ छोरी छन् ।

सुरेन्द्रकुमार कार्की–वाम गठबन्धन

प्रतिनिधि सभा  सदस्यका लागि झापा क्षेत्र नम्वर १ बाट उम्मेद्वारी दिनुभएका  सुरेन्द्रकुमार कार्की नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य हुनुहुन्छ । सिन्धुलीका स्थायी बासिन्दा कार्की २०४८ सालको चुनावमा पराजित हुनुभएको थियो ।  २०५२ सालमा माओवादीले सशस्त्र युद्ध सुरु गर्दा उहाँ पार्टीको मेची कोसीको इन्चार्ज हुनुभयो । सुरुदेखि नै पार्टीको केन्द्रीय सदस्य भएर अन्तराष्ट्रिय  विभागको जिम्मेवारी समेत सम्हाल्नु भएका उहाँले माओवादी जनयुद्धमा अन्तराष्ट्रिय सहयोग जुटाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
स्नातक तहसम्मको अध्ययन गर्नुभएको उहाँ राजनीतिक यात्राका क्रममा तीन वर्ष जेल बस्नु भएको छ । २०६४ सालको चुनावमा ताप्लेजुङबाट उम्मेदवार बन्नुभएका  कार्की दोश्रो पटक पराजित हुनुभएको थियो । २०७० सालको चुनावमा उहाँ समानुपातिकतर्फबाट सभासद बन्नुभयो । प्रचण्ड नेतृत्वको सरकारमा उहाँ सूचना तथा सञ्चारमन्त्री समेत बन्नुभयो ।
२०१३ सालमा ओखलढुंगाको रुम्जाटारमा अमृतबहादुर र रत्ना कार्कीको कोखबाट जन्मनुभएका उहाँका  एक छोरा र एक छोरी छन् ।
रामराजाप्रसाद सिंहको नेतृत्वमा रहेको जनवादी मोर्चाबाट राजनीति सुरु गर्नुभएका  कार्की २०३६ सालदेखि मसालमा आवद्ध हुँदै कम्युनिष्ट राजनीतिमा लाग्नुभयो हो  ।

अन्य दलका उम्मेद्वारहरु

धनबहादुर सुब्बा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, दान बहादुर तामङ्ग राष्ट्रिय जनमुक्ति पार्टी , भवानीप्रसाद ढकाल एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी),सन्तोष तामाङ्ग मंगोल नेशनल अर्गनाइजेसन र भक्तवहादुर लिम्वू संघीय समाजवादी फोरम, नेपालबाट प्रतिनिधि सभाका लागि चुनावी मैदानमा हुनुहुन्छ ।

झापा क्षेत्र नम्वर १ मा १ लाख ५४ हजार ७५ मतदाता रहेका छन् ।


यस्ता छन् झापा – २ का  उम्मेद्वारहरु

उद्धव थापा – नेपाली कांग्रेस

झापा क्षेत्र नम्वर २ बाट प्रतिनिधि सभा  सदस्यका लागि नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वारी दिनुभएका उद्धव थापा पार्टी सभापति हुनुहुन्छ । अर्जुनधारा नगरपालिका – ४ निवासी यमबहादुर र डम्मरकुमारीका कोखबाट २०१४ साल मंसीर १५ गते थापाको जन्मभएको हो ।  उहाँले  व्यवस्थापन संकायमा स्नातकसम्मको अध्ययन गर्नुभएको छ ।  उहाँ २०३२ सालमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघको सदस्यता लिएर राजनीतिमा प्रवेश गर्नुभएको थियो । 
०४७ सालमा अर्जुनधारा गाउँ समितिको सचिव हुनुभयो । २०४८ सालको आठौं महाधिशेनबाट नेपाली कांग्रेस २ नम्बर क्षेत्रको क्षेत्रीय सभापति हुँदै दशौं महाधिवेशनबाट जिल्ला कार्यसमिति झापाको सचिव , ११ औं महाधिवेशनबाट पार्टीको जिल्ला उपसभापति र १२ औं महाधिवशेनपछि उहाँ जिल्ला सभापति हुनुभयो । त्यस्तै स्थानीय शान्ति समिति झापाको संयोजक, बिर्तामोड बसपार्क समितिको अध्यक्ष तथा ४ वर्षसम्म अर्जुनधारा संस्कृत माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष भएर पनि काम गर्नुभएको छ उहाँले । थापाले जिल्ला विकास समिति झापाको संयन्त्र सदस्य भएर ३ वर्ष काम गर्नुभएको छ । २०७० सालको चुनावमा झापा क्षेत्र नं ४ बाट उम्मेदवार बन्नुभएका थापा नेकपा एमालेका उम्मेद्वार प्रेम गिरीसंग पराजित हुनुभएको थियो ।


पवित्रा निरौला खरेल – वाम गठबन्धन

झापा क्षेत्र नम्वर २ बाट प्रतिनिधि सभा  सदस्यका लागि वाम गठवन्धनबाट उम्मेद्वारी दिनुभएकी पवित्रा निरौला खरेल नेकपा (एमाले)राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य र अनेमसंघको केन्द्रीय सदस्य हुनुहुन्छ ।  छविलाल र खड्गमाया निरौलाकी छोरी २०२० साल माघ २० गते झापाको दमकमा जन्मनुभएको हो । उहाँले आईएसम्मको अध्ययन गर्नुभएको छ । अध्ययनकै क्रममा उहाँले जेल जीवनसमेत बिताउनुभएको छ ।
२०३५÷०३६ सालको विद्यार्थी आन्दोलनमा अनेरास्ववियुबाट राजनीतिमा लाग्नुभएकी उहाँ अखिल नेपाल महिला संघको प्रथम राष्ट्रिय सम्मेलनको केन्द्रीय कमिटीको सदस्यमा निर्वाचित  हुनुभएको थियो । 
उहाँले नेकपा –एमाले) झापा जिल्ला कमिटीको सचिव भएर र झापा जिल्ला विकास समितिको मनोनित सदस्य भएर पनि काम गर्नुभएको छ । उहाँ २०३८ सालमा नेपाल महिला संघको गाउँ समिति सदस्य हुनुभयो ।
२०५४ सालमा जिल्ला विकास समिति झापाको मनोनित सदस्य हुनुभएकी निरौला २०६६ सालमा नेकपा (एमाले) झापाको जिल्ला सचिव हुनुभयो । २०७० सालको चुनावमा झापा २ बाट उम्मेदवार बन्नुभएकी निरौला  कांग्रेसका उम्मेद्वार सुधिर शिवाकोटीसँग पराजित हुनुभएको थियो । उहाँका दुई सन्तान रहेका छन् ।

अन्य दलका उम्मेद्वारहरु 

नवीन बाँस्तोला विवेकशील साझा पार्टी  ,होमचन्द्र घिमिरे देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल     ,भक्तबहादुर बुढाथोकी नयाँ शक्ति पार्टी नेपाल    ,वृज किशोर ठाकुर,एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) 
प्रशुराम मगर राष्ट्रिय जनमुक्ति पार्टी,गणेशप्रसाद सिवाकोटी नेपाल जनता पार्टी   ,अकलबहादुर तामाङ्ग मंगोल नेशनल अर्गनाइजेसन,मान बहादुर साँवा(लिम्बु),संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च   ,महाबीर राई राष्ट्रिय जनता पार्टी नेपालबाट प्रतिनिधि सभाका लागि चुनावी मैदानमा हुनुहुन्छ ।

झापा क्षेत्र नम्वर २ मा १ लाख १८ हजार १ सय ९६  मतदाता रहेका छन् ।


यस्ता छन् झापा – ३ का  उम्मेद्वारहरु

कृष्णप्रसाद सिटौला – नेपाली कांग्रेस

नेपाली कांग्रेसका पूर्व महामन्त्री  कृष्णप्रसाद सिटौला झापा क्षेत्र नम्वर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि चुनाव लड्दै हुनुहुन्छ । उहाँ पार्टीको  केन्द्रीय सदस्य हुनुहुन्छ ।
रंगप्रसाद सिटौला र गौरादेवी सिटौलाका छोरा कृष्णप्रसाद २००६ सालमा तेह्रथुमको संक्रान्तिमा जन्मनुभएको हो । त्रिभुवन विश्वविद्यालयबाट बीएससी र बिएलसम्मको अध्ययन उहाँले गर्नुभएको छ ।
पार्टीको तेह्रौं महाधिवेशनमा सभापति पदमा पराजित हुनुभएका सिटौला केन्द्रीय सदस्यमा मनोनित हुनुभएको हो । २०५६ सालको चुनावमार्फत पहिलोपटक संसद सदस्यमा उहाँ निर्वाचित हुनुभएको थियो । २०६२÷०६३ सालको जनआन्दोलनपछि गठन भएको सरकारको गृहमन्त्री हुनुभएका सिटौलाले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रकृयामा ल्याउन महत्वपूर्ण भूमिका खेल्नु भएको छ  ।
 तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको मुख्य सहयोगीका रुपमा काम गर्नुभएका सिटौला उपप्रधानमन्त्री, गृह र आपूर्ति मन्त्री बनिसक्नु भएको छ । २०६४ सालको संविधानसभा चुनावमा झापा क्षेत्र नम्बर ३ मा पराजित हुनुभएका  सिटौला २०७० सालको चुनावमा भने यही क्षेत्रबाट विजयी हुनु भएको थियो । उहाँका १ छोरा र २ छोरी छन् ।

राजेन्द्रप्रसाद लिङ्देन – वाम गठबन्धन

२०२२ साल भदौ २२ गते ताप्लेजुङको ढुंगेसाँघुमा जन्मनुभएका राजेन्द्रप्रसाद लिङ्देन राप्रपाको महामन्त्री हुनुहुन्छ । उहाँ क्षेत्र नम्वर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि चुनव लड्दै हुनुहुन्छ । उहाँले वाम गठबन्धनसंग तालमेल गरी प्रतिनिधि सभा सदस्यका लागि उम्मेद्वारी दिनुभएको हो । उहाँले राजनीति शास्त्र र इतिहासमा स्नातकोत्तर गर्नुभएको छ । उहाँले २०३९ सालदेखि राजनीति सुरु गर्नु भएको हो । राप्रपाको विद्यार्थी संगठन राष्ट्रवादी विद्यार्थी संगठनको संस्थापक अध्यक्ष समेत हुनुहुन्छ लिङ्देन । २०४९ र २०५४ सालको चुनावमा उहाँ झापाको गोलधापमा वडाध्यक्ष विजयी हुनुभयो । २०६० सालमा जिल्ला विकास समिति झापाको सभापतिमा मनोनित हुनुभएको थियो । २०५६ सालको चुनावमा झापा क्षेत्र नं ३ मा तेश्रो हुनुभएका लिङ्देन २०७० सालको चुनावमा दोश्रो हुनु भएको थियो । यो क्षेत्रबाट नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला विजयी हुनुभयो । २०६४ सालमा राप्रपा नेपालको केन्द्रीय सदस्य हुनुभएका  लिङ्देन २०७० सालमा राप्रपा नेपालको महामन्त्री हुनुभयो ।   उहाँ झापामा लोकप्रिय युवा नेताका रुपमा परिचित हुनुहुन्छ । 

अन्य दलका उम्मेद्वारहरु

वीरेन्द्रप्रसाद सापकोटा स्वतन्त्र, अविचन्द्र भण्डारी राष्ट्रिय जनमोर्चा,साजन सुब्वा विवेकशील साझा पार्टी ,श्यामबहादुर लिम्वू मंगोल नेशनल अर्गनाइजेसन, मीनप्रसाद चम्लागाईँ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च,देवीरमण भट्टराई एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी), सुजाता ओली (उप्रेती) नेपाल जनता पार्टी     ,नवराज खरेल नेपाल कम्युनिष्ट पार्टी (माले)     , सुन्दरलाल शाह राष्ट्रिय जनता पार्टी नेपाल, सेकेन्द्र राजवँशी राष्ट्रिय जनमुक्ति पार्टीबाट क्षेत्र नम्वर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि चुनव लड्दै हुनुहुन्छ ।

झापा क्षेत्र नम्वर ३ मा १ लाख १४ हजार ५ सय ८६ मतदाता रहेका छन् ।
 
यस्ता छन् झापा – ४ का  उम्मेद्वाहरु

देउकुमार थेवे – नेपाली कांग्रेस

२०२१ साल मंसीर २९ गते ताप्लेजुङको आम्वेगुदिनमा जन्मनुभएका देउकुमार थेवे प्रतिनिधि सभा सदस्यका लागि चुनावी मैदानमा हुनुहुन्छ । उहाँ झापा ४ बाट नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वार बन्नुभएको हो । २०३६ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिमा सक्रिय थेवे २०३९ मा ताप्लेजुङबाट झापा झर्नुभएको थियो । उहाँ २०४१ सालदेखि नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय हुनुभएको हो ।
२०४६ सालमा कुमारखोट गाविसको पार्टी उपसभापतिको जिम्वेवारी सम्हाल्नुभएका उहाँ  २०४९ सालमा भएको स्थानीय चुनावमा गाविस अध्यक्षमा निर्वाचित हुनुभयो भने  पार्टीको नवौँ महाधिवेशनमा क्षेत्रीय सभापति हुनुभएको थियो ।
 त्यस्तै २०५४ को स्थानीय चुनावमा पुनः निर्वाचित हुनुभयो । नेपाली कांग्रेसको जिल्ला उपसभापति हुँदै महासमिति सदस्य रहनुभएका थेवेले एसएलसीको अध्ययन गर्नुभएको छ । उहाँले ताप्लेजुङबाटै  एसएलसी गर्नुभएको हो ।

लालप्रसाद (एलपी) साँवा लिम्बू – वाम गठबन्धन

प्रतिनिधि सभा सदस्यका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट उम्मेद्वारी दिनुभएका लालप्रसाद साँवा लिम्बू मेनपावर व्यवसायी हुनुहुन्छ ।  २०२४ असार २७ गते झापाको सतासीधाममा उहाँको जन्म भएको हो । उहाँले विज्ञान संकायमा स्नातक गर्नु भएको छ ।
साँवा २०३६ सालदेखि अनेरास्ववियुको सदस्य भएर राजनीतिमा प्रवेश गर्नुभएको हो ।  २०४७ देखि नेकपा एमालेको पार्टी सदस्यता उहाँले लिनुभएको थियो । ०६२ सालमा बैदेशिक रोजगार व्यवसायी संघको अध्यक्ष हुनुभएका उहाँ  २०६९ सालमा नेकपा एमालेको उद्योग वाणिज्य व्यवसाय महासंघको केन्द्रीय सचिवमा निर्वाचित हुनुभयो ।  साँवा २०७० सालको चुनावमा झापा ५ बाट नेपाली कांग्रेसका उम्मेद्वार केशवकुमार वुढाथोकीसंग  पराजित हुनुभएको थियो । २०७० सालमा पराजित भएपछि उहाँ झापामै रहेर आफ्नो क्षेत्र सुधार कार्यक्रममा सक्रिय हुनुभयो ।

अन्य दलका उम्मेद्वारहरु

प्रतिनिधि सभा सदस्यका लागि उहाँहरुसंगै ज्ञानबहादुर इम्बुङ लिम्बू संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, लाहान सिं तुम्बापो संघीय समाजवादी फोरम, नेपाल  ,हरिभक्त संग्रौला देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल,पर्शुराम काफ्ले स्वतन्त्र, तेजबहादुर थापा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी),डिल्लीप्रसाद कट्टेल स्वतन्त्र, रुद्रबहादुर राई मंगोल नेशनल अर्गनाइजेसन,तुलसीराज उप्रेती विवेकशील साझा पार्टी,अर्जुन देव सेर्मा राष्ट्रिय जनमुक्ति पार्टी,सुभाष अधिकारी ग्रीन पार्टी नेपाल र ज्ञबहादुर खड्का स्वतन्त्रबाट उम्मेद्वार हुनुहुन्छ ।

झापा क्षेत्र नम्वर ४ मा  १ लाख ९३ हजार ९९ मतदाता रहेका छन् ।


यस्ता छन् झापा – ५ का  उम्मेद्वाहरु

 केपी शर्मा ओली – बाम गठबन्धन

राष्ट्रिय राजनीतिमा प्रभाव पार्नुभएका नेता खड्गप्रसाद (केपी शर्मा ) ओलीकोे झापा क्षेत्र नम्वर ५ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेद्वारी दिनुभएको छ । पूर्व प्रधानमन्त्री समेत रहनुभएका उहाँ  नेपाल कम्युनिष्ट पार्टी (एमाले)को अध्यक्ष हुनुहुन्छ । २००८ साल फागुन ११ गते जन्मनुभएका ओली नेकपा (एमाले) संसदिय दलको नेता हुनुहुन्छ । उहाँ  नेपालको ३८ औं प्रधानमन्त्री बन्नु भएको थियो ।
मोहनप्रसाद ओली र  मधु ओली उहाँका आमावुवा हो । २०४८ सालमा झापा क्षेत्र नम्बर ६ र २०५९ सालमा झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा ओली निर्वाचित  हुनु भएको थियो । ओली २०५१ सालदेखि २०५२ सालसम्म गृहमन्त्री हुनुभयो । २०६४ देखि २०६५ सम्म ओली उपप्रधान एवम् परराष्ट्र मन्त्री हुनुभयो । ओलीको जन्म तेह्रथुम जिल्लाको इवा गाउँमा भएको हो ।
२०२२ सालमा कम्युनिष्ट राजनीतिमा लाग्नु भएका  ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिनु भएको थियो ।
२०२८ सालको झापा आन्दोलनका प्रमुख मध्येका उहाँ एक हुनुहुन्छ ।  पञ्चायती व्यवस्थाविरुद्धको संंघर्षका क्रममा ओलीले २०२८ देखि २०४४ सम्म १४ वर्ष जेल जीवन बिताउनु भएको छ । ओली २०४८, २०५१ र २०५६ को आम निर्वाचनमा झापा जिल्ला क्षेत्र नं ६ बाट प्रतिनिधि सभामा निर्वाचित  हुनु भएको थियो । पहिलो संविधान सभा निर्वाचन २०६४ मा भने उहाँ झापाको क्षेत्र नं ७ बाट विश्वदीप लिङ्देनसंग पराजित हुनुभएको थियो ।  २०४९ सालमा नेकपा (एमाले) को स्थायी कमिटी सदस्य भएका ओली २०७१ असारमा पार्टीको अध्यक्ष पदमा  निर्वाचित  हुनुभयो । दोश्रो संविधानसभा निर्वाचन २०७० मा उहाँ झापा क्षेत्र नं ७ बाट निर्वाचित  हुनुभयो । ओलीले झापाको आदर्श माध्यमिक विद्यालयबाट २०२८ सालमा प्रवेशिका परीक्षा एसएलसी उत्तीर्ण गर्नु भएको छ ।

डा खगेन्द्र अधिकारी– नेपाली कांग्रेस

नेपाली कांग्रेसका तर्फबाट झापा क्षेत्र नम्वर ५ बाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वारी दिनुभएका डा. खगेन्द्र अधिकारी त्रिचन्द्र कलेजमा प्राध्यापन पेशामा आवद्ध हुनुहुन्थ्यो । उहाँले प्रतिनिधि सभाका लागि टिकट पाउने भएपछि प्राध्यापन पेशा छाडेर प्रतिनिधि सभाका लागि चुनाव लड्न झापा आउनुभएको हो ।  झापाको गौरादह – ५ मा २०३१ सालमा  उहाँको जन्म भएको थियो । 
नेपाली कांग्रेसको महासमिति सदस्य रहनुभएका उहाँ कांग्रेसको अनुसन्धान तथा अभिलेखालय विभागको केन्द्रीय सदस्यसमेत बन्नु भएको थियो । साढे १७ वर्षको प्राध्यापन पेशा छाडेर उहाँ पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिस्पर्धी बन्दै झापा ५ बाट उम्मेदवार बन्नु भएको छ ।
 अधिकारीले भारतको सौराष्ट्र युनिभर्सिटीबाट प्राणीशास्त्रमा विद्यावारिधी गर्नु भएको छ । उहाँले कांग्रेसको राजनीतिक यात्रा भने ०४८ सालदेखि नै सुरु गर्नु भएको हो । झापाको गौरादह क्याम्पसमा नेपाल विद्यार्थी संघको इकाई अध्यक्ष हुँदै राजनीति सुरु गर्नुभएका  अधिकारी २०५७ सालदेखि प्राध्यापन पेशामा हुनुहुन्थ्यो । २०५७ सालमा उहाँ त्रिचन्द्र क्याम्पसमा प्रजातान्त्रिक प्राध्यापक संघको सचिव समेत हुनुभयो ।

अन्य दलका उम्मेद्वारहरु

प्रकाश गौतम विवेकशील साझा पार्टी, भानुभक्त भट्टराई संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च,भेषराज भट्टराई नयाँ शक्ति पार्टी नेपाल,वासुदेव दुलाल,देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल,प्रेमबहादुर खड्का,स्वतन्त्र, पदमबहादुर जवेगु राष्ट्रिय जनमुक्ति पार्टी,घनश्याम गुरागाई नेपाल कम्युनिष्ट पार्टी (माले)  , इन्द्रराज अधिकारी स्वतन्त्र  ,सानबहादुर मेचे मंगोल नेशनल अर्गनाइजेसन ,सत्‍यदेव यादव संघीय समाजवादी फोरम, नेपाल     ,ईन्द्रप्रसाद न्यौपाने स्वतन्त्र,चेतनाथ थापा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) पार्टीबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार हुनुहुन्छ ।

झापा क्षेत्र नम्वर ५ मा  १ लाख ३७ हजार ५ सय ११ मतदाता रहेका छन् ।

५ लाख ८५ हजार १ सय ६६ मतदाता रहेको झापामा प्रतिनिधि सभाका लागि ५७ र प्रदेश सभाका लागि ८५ जना गरी १ सय ४१ जनाको उम्मेद्वारी रहेको जिल्ला निर्वाचन कार्यालय झापाका गोपाल आचार्यले जानकारी दिनुभयो ।





0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।