Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

पत्रकार तथा संचारकर्मी सुरेन्द्र भण्डारी

सभामुख द्वारा शिक्षा पत्रकारिता पुरष्कार ग्रहण गर्दै।

सुरेन्द्र भण्डारी

पत्रकारिता एक चुनौती

सुरेन्द्र भण्डारी

रिपोर्टिंगको सिलसिलामा

सुरेन्द्र भण्डारी

पोखरा घुमघाम एक झलक

Saturday, September 9, 2017

कञ्चनगढको अस्तित्व संकटमा

सुरुङ्गा (झापा), २५ भदौ । झापाको बाह्रदशी गाउँपालिका–६मा रहेको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल कञ्चनगढको अस्तित्व संकटमा परेको छ । 


बाह्रदशी सामुदायिक वन आसपासको निजी जमिन खनेर माटो बिक्री गर्न थालेपछि कञ्चनगढको अस्तित्व संकटमा परेको हो । केही समयअघिसम्म कञ्चनगढ आसपासको सार्वजनिक जग्गासमेत कटान गरेर माटो इँटाभट्टालाई बिक्री गर्ने गरिएको थियो । सो कार्य भने अहिले स्थानीयवासीको चर्काे विरोधपछि रोकिएको छ । तर, निजी जग्गाको माटो कटान गरेर बिक्री गर्दा भूक्षय हुन सक्ने भन्दै स्थानीयवासीले विरोध जनाइरहेका छन् । माटो दिनानुदिन कटान गरेर बिक्री गर्दा अग्लो डाँडो भत्कने भन्दै त्यस्तो कार्य रोकिनुपर्ने गौरीशंकर शिवालय गायत्री स्वरुपाश्रमका अध्यक्ष मधुराम पनेरु बताउनुहुन्छ । 

समुद्री सतहबाट ३०० मिटर उचाइमा रहेको कञ्चनगढमा शिवालय मन्दिर, दुर्गा, काली एवं श्रीकृष्णको मन्दिरसमेत रहेको छ । यहाँ प्रत्येक वर्ष शिवरात्रि, बालाचतुर्दशीमा मेला लाग्ने गर्छ । अग्लो भूभागमा मठ मन्दिर रहेको र वरिपरिको जमिन कटान गरेर माटो बिक्री गर्दा टापूमा परिणत भएको कञ्चनगढ आसपासको जमिन भत्किन थालेपछि मन्दिर र अन्य पुरातात्विक सम्पदाको विनाश हुने भन्दै बाह्रदशी आसपासको जमिन कटान बन्द गर्नुपर्ने माग गर्दै सर्वसाधारणले बाह्रदशी गाउँपालिकालाई ज्ञापनपत्र बुझाएका छन् । 

Friday, September 8, 2017

वाढी पीडित विद्यार्थीलाई शैक्षिक सामग्री

सुरुङ्गा(झापा) २४ भदौ ।  झापा गाँउपालिकाका बाढी पीडित विद्यार्थीका लागि धुमुर्स – सुन्तली फाउण्डेशनले शुक्रवार शैक्षिक समाग्री वितरण गरेको छ ।
फाउण्डेशनले १३ वटा विद्यालयका १ हजार १ सय ५० जना विद्यार्थीलाई शैक्षिक समाग्री वितरण गरेको हो । बाढीले पाठ्य पुस्तक, विद्यालय पोशाक लगायतका सामाग्रीहरु बगाएपछि दैनिक पठन –पाठनमा समस्या भोग्दै आएका  बालबालिकाहरुलाई एक थान स्कूल व्याग, कपी, डट, पेन्सिल, टिफिन बक्क लगायतका सामाग्री हस्तान्तरण गरिएको थियो ।
सिमलवाडी, नमूना, लक्ष्मी, भानुभक्त, भृकुटी रामजानकी लगायतका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पठन – पाठनमा सहज होस् भन्दै फाउण्डेशनले शैक्षिक सामग्री वितरण गरेको फाउण्डेसनका सदस्य विकाशराज पाण्डेले बताउनुभयो ।
साउनको अन्तिम साता आएको वाढीले यहाँका १ हजार २ सय बालबालिकाको शैक्षिक सामाग्रीमा क्षति पुगेको गाउँपालिकाका अध्यक्ष जयनाराण शाहले बताउनुभयो । उनीहरुलाई गाउँपालिकाले पनि शैक्षिक लगायतका सामग्री वितरणको तयारी गरिरहेको उहाँले बताउनुभयो ।

शिक्षा दिवसमा सम्मान


सुरुङ्गा(झापा) २४ भदौ ।  संघीय नेपाल समृद्धिको आधार, स्तरीय शिक्षा सबैको अधिकार भन्ने मूल नाराका जिल्ला शिक्षा समिति झापाले शुक्रवार शैक्षिक क्षेत्रमा आवद्ध व्यक्ति तथा संघ संस्थालाई सम्मान गर्दै ३८ औ अन्तराष्ट्रिय शिक्षा दिवस मनाएको छ ।
दिवसको अवसरमा  उत्कृष्ट स्रोत केन्द्रको रुपमा आदर्श मावि स्रोत केन्द्र मेचीनगर सम्मानित भएको छ । त्यसैगरी उत्कृष्ट माध्यमिक विद्यालय (सामुदायिक तर्फ) हिमालयन मा.वि. दमक र कनकाई मावि सुरुङ्गा, (संस्थागत तर्फ) सिद्धार्थ बोर्डिङ स्कूल दमक, उत्कृष्ट प्राथमिक विद्यालय तर्फ जनता प्रा.वि. कचनकवल, उत्कृष्ट आधारभूत विद्यालय तर्फ कृष्ण आधारभूत विद्यालय मेचीनगर सम्मानित भएका छन् ।
उत्कृष्ट गुरुकुलमा श्री कृष्ण द्घेपायन गुरुकुल वेद विद्याश्रम भद्रपुर , ,उत्कृष्ट मदरसामा श्री मदरसा इस्लामिया फिजुल उलुम सम्मानित भएका छन् । उत्कृष्ट सामुदायिक सिकाई केन्द्र तर्फ राजगढ सामुदायिक सिकाई केन्द्र र उत्कृष्ठ बाल क्लवको रुपमा बाल सुवोधिनी आधारभूत विद्यालयको बाल क्लव सम्मानित भएका छन् ।
यसैबीच कार्यक्रममा २०७३ सालको एसइ परीक्षामा झापामा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थी  सिमरा सुवेदी, सविना भण्डारी, प्रमिला उप्रेती र पूर्णिमा तामाङ्गलाई सम्मान गरिएको थियो । त्यसैगरी २०७३ साल कै कक्षा ८ को जिल्ला स्तरीय परीक्षाबाट झापामा उत्कृष्ठ अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थीहरु इसा साउदेन, सुरेश शर्मा, प्रवेश मिश्र, पदम कुमारी राजवंशी, पुष्कर दाहाल र नगेन बोहोरालाई नगद २ हजारसहित प्रमाण पत्रले सम्मान गरिएको थियो ।
जिल्ला समन्वय समिति झापाका प्रमुख तथा जिल्ला शिक्षा समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, उपप्रमुख मिना उप्रेती, नेपाल शिक्षक महासंघ झापाका अध्यक्ष तेजप्रसाद चौँलागाई लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद बरालले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

माओवादी केन्द्रका नेता कार्यकर्ता धमाधम पार्टी परित्याग गर्दै





सुरुङ्गा(झापा) २४ भदौ ।  नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य तुलसीप्रसाद ओलीसहित १३ जना  नेता तथा कार्यकर्चाले पार्टी परित्याग गरेका छन् ।
 पार्टी विधान विपरित सञ्चालन भएको भन्दै ओलीसहित १३ जना  ले पार्टी परित्याग गरेका हुन् । उनीहरुले शुक्रवार संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन ।
पार्टी परित्याग गर्नेहरुमा साविक हल्दिवारी १ का अध्यक्ष जीवन तामाङ, २ का अध्यक्ष भैरव राजवंशी, २ का चुनाव परिचालन आर्थिक संयोजक शेरवहादुर श्रेष्ठ, ३ का भीमवहादुर घिमिरे, ४ का विजय राजवंशी, ४ कै उपाध्यक्ष खड्गवहादुर तामाङ,६ का सचिव रामवहादुर श्रेष्ठ, ८ का अध्यक्ष तेजवहादुर खतिवडा रहनु भएको छ ।
 त्यस्तै साविक हल्दिवारी २ का अखिल नेपाल महिला संघ क्रान्तिकारी सचिव अमिना राजवंशी, साविक हल्दिवारी ९ का अध्यक्ष जगदीश साह, पूर्व हल्दिवारी कोषाध्यक्ष धनवहादुर विष्ट र हल्दिवारी गाउँपालिका दलित मुक्ति मोर्चा अध्यक्ष डिल्ली परियारले पनि पार्टी परित्याग गर्नुभएको छ । 

वृक्षरोपण आयोजनालाई डेढ करोडको क्षति



सुरुङ्गा(झापा), २३ भदौ । साउन अन्तिम साता वर्षासँगै आएको हावाहुरीका कारण रतुवामाई वृक्षरोपण आयोजनाका एक हजार ८०२ वटा मसला, साल र टिकका रुख ढलेका छन् ।

हावाहुरीले रुख लडाउँदा आयोजनालाई झण्डै रु एक करोड ५० लाख मूल्य बराबरको क्षति भएको छ । दुई हजार ७५३.७६ हेक्टर क्षेत्रफलमा सञ्चालित रतुवामाई वृक्षरोपण आयोजना नेपालकै दोस्रो ठूलो वृक्षरोपण आयोजना हो ।

हावाहुरीले लडाएका रुख एक महिना बित्न लाग्दासमेत रतुवा माई वृक्षरोपण आयोजनाले व्यवस्थापन गर्न सकेको छैन । ढलेका रुख चोरी हुने सम्भावना छ । वृक्षरोपण आयोजनाका प्रमुख खेमलाल विश्वकर्मा कानूनी प्रक्रिया लामो भएका कारण ढलेका रुखको व्यस्थापन गर्न नसकिएको बताउनुहुन्छ ।

“झन्झटिलो प्रक्रियाका कारण समयमै रुखको व्यवस्थापन गर्न नसकिएको हो,” उहाँले भन्नुभयो । काठ चोरी हुनसक्ने भएकाले समयमै यसको व्यवस्थापन गर्न स्थानीयवासीले माग गरेका छन् ।

पढाइबाट वञ्चित शकुन्तला यसरी जान थालिन् विद्यालय

सन्दर्भ शिक्षा दिवसः


सुरुङ्गा (झापा), २३ भदौ । “भाइ स्कूल गएको देख्दा मलाई पनि स्कूल जान मन लाग्थ्यो ।

म आमासँग स्कूल जान्छु भनेर रुन्थेँ । बुबा–आमा घर बनाउने काम गर्न बिहानै हिँड्नु हुन्थ्यो । म दिनभर एक्लै तीनजना भाइलाई हेरेर घरमै बस्नुपथ्र्याे । भाइसँगै स्कूल जान कहिलेकाहीँ जिद्दी गर्दा आमाले मलाई बेस्सरी कुट्नु पनि भएको छ ।”

“तँ स्कूल गइस् भने भाइ कस्ले हेर्छ  ? भन्दै आमाले मलाई झपार्नु हुन्थ्यो”, बाह्रदशी गाउँपालिका–६ सुकुम्वासी टोलकी १३ वर्षीया शकुन्तला हस्दाको भनाइ हो यो ।

तेह्र बर्षकी उनी बल्ल अहिले साबिक डाँगीवारी–९ मा रहेको गौरीशंकर माध्यमिक विद्यालयमा कक्षा १ मा अध्ययन गर्छिन् । उनीसँगै उनका तीन भाइ पनि कक्षा १ मा पढ्छन् भने उनको एउटा भाइ सुन्दर कक्षा २ मा अध्ययनरत छन् । शकुन्तलासँगै सुनिल, वुधन र लुखीराम भने कक्षा १ मा अध्ययनरत छन् ।

पढ्ने मन भएर पनि आमा–बुबाका कारण स्कूल जान नपाएकी शकुन्तला अहिले ढिलै भए पनि स्कूल जान पाउँदा औधी खुशी छिन् । चारजना भाइलाई साथमा लिएर विद्यालय जाँदै गर्दा विद्यालयको प्राङ्गणमा भेटिएकी उनले भनिन्, “मलाई स्कूल पढ्न पाइएला जस्तो लागेकै थिएन, यो स्कूलबाट जानुभएका सर मिसले बुवा–आमालाई भनिदिएपछि म स्कूल आउन थालेकी हुँ ।”
झापाको बाह्रदशी गाउँपालिका–६ सुकुम्वासी टोलकी १३ वर्षीया शकुन्तला हस्दा चार भाईलाई लिएर गौरीशंकर मावि पढ्न जाँदै । 

शकुन्तलाकी एक दिदी जमुना पनि छिन् । उनी अहिले आमा–बुबासँगै मजदुरी गर्न हिँड्छिन् । उनले पनि गौरीशंकर माविमा कक्षा ३ मा पढ्दापढ्दै स्कूल छाडेको शकुन्तलाले बताइन् । उनले भनिन्, “दिदीले पनि यही स्कूल पढेकी हो । ऊ पनि स्कूल आउन त मन गर्छे, हामी सबै स्कूल आउन थालेपछि दिदी आमाबुबासँग लेवर काममा जान्छे ।”

ब्लग सेयर गर्नुहोला।