सुरुङ्गा (झापा), २८ असार । झापा गाउँपालिका–६ का पुण्यप्रसाद पौडेल १६ वर्षदेखि भारतको दिघल बैंक बजारमा दूध बिक्री गर्दैआउनुभएको छ । उहाँले दैनिक १५० लिटर दूध बिक्री गर्नुहुन्छ ।
कनकाई नगरपालिकाको सुरुङ्गास्थित अमृत दुग्ध विकास संस्थामा काम गर्दागर्दै जागिर छाडेर पौडेलले दूध बेच्न थाल्नुभएको हो । पौडेल अहिले भारतीय बजारमा प्रतिलिटर ३० देखि ३५ भारतीय रुपैयाँमा दूध बिक्री गर्नुहुन्छ । उहाँ गाउँघरमा ‘दूधवाला’ का नामले परिचित हुनुहुन्छ ।
“दूध बेचेरै परिवारको पालनपोषण गर्दैआएको छु,” उहाँले भन्नुभयो ।पौडल मात्र होइन भारतसँग सीमा जोडिएका घेरावारी, शरणामती, कुमरखोद, केचना, बनियानीलगायत ठाउँका कृषक दूध बेच्न भारतीय बजार धाउने गरेका छन् । अधिकांश कृषक आफैँ दूध बेच्न भारतीय बजार जाने गरेका छन् भने केहीले दूध संकलकमार्फत दूध बेच्ने गरेका छन् ।
पछिल्लो समय सरकारले पशुपालक कृषकका लागि अनुदान दिन शुरु गरेपछि जिल्लाका पशुपालक कृषकको संख्या बढेसँगै दूध उत्पादनमा समेत वृद्धि भएको छ । आव २०७२/७३ मा रु चार अर्ब ५० करोड बराबरको दूध उत्पादन भएको जिल्ला पशुसेवा कार्यालयका सूचना अधिकारी कुमारसिंह खत्रीले बताउनुभयो । सो आवमा जिल्लामा दुई हजार ३०० मेट्रिक टन दूध उत्पादन भएको थियो ।
उत्पादन भएको दूधमध्ये ८० प्रतिशत जिल्लामै खपत हुन्छ । पाँच हजार लिटरभन्दा बढी दूध खपत गर्दै आएका एनएमसी डेरी र ऋतिका डेरीबाट कृषक लाभान्वित भएका छन् । जिल्लामा नश्ल सुधारका लागि १२ वटा सामुदायिक प्रजनन केन्द्र, १७ वटा सेवा केन्द्र र निजी क्षेत्रले समेत काम गर्दै आएका कार्यालयले जनाएको छ ।
0 comments:
Post a Comment