Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Sunday, June 26, 2016

महमा झापा आत्म निर्भर


सुरुङ्गा (झापा) १२ असार ।   मौरीपालन व्यवसायबाट राम्रो आम्दानी हुन थालेपछि झापा जिल्लामा मौरीपालन व्यवसाय फस्टाउँदै गएको छ ।
सतासी महिला मौरीपालन सहकारी संस्था लिमिटेडमा आवद्ध अधिकांश महिलाहरु आफ्नै गाउँघरमा बसेर मौरीपालन गर्दा राम्रो आम्दानी गर्न सकिने भएपछि त्यहाँका महिला मौरी पालन व्यवसायमा आकर्षित भएसंगै यो व्यवसाय फस्टाउँदै गएको हो । जिल्ला कृषि विकास कार्यालय झापाले महिलाहरुलाई यो व्यवसाय सञ्चालन गर्न  प्राविधिक सहयोग गरेपछि शिवसताशीका अधिकांश महिला मौरीपालन गरिरहेका छन् । थेरै लगानीमा धेरै आम्दानी गर्न सकिने भएपछि झापामा मौरीका लागि प्रयाप्त चरनको क्षेत्र नभए पनि मौरी पालनमा कृषक जागरुक भएका हुन् ।
सेरेना प्रजातिको मौरी झापामा प्रभावकारी रुपमा पाल्न गाह्रो हुने भएपछि मेलिफेरा जातको मौरी यहाँका महिलाले पालन गरिरहेका छन् । चार फ्रेममा १ गोला घारबाट डेढ÷दुई वर्ष अघि मात्रै मौरी पालन ब्यवसाय शुरु गरेका यहाँका अधिकांश कृषकले अहिले ७५ देखि १०० घारसम्म प्रतिव्यक्ति मौरी पालन गरिरहेको बताउँछन् जिल्ला कृषि विकास कार्यालय झापाका वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिम्सिना । उनी भन्छन्– झापामा महुरी पालन व्यवसाय यसरी फस्टाउला भनेर हामीले सोचेकै थिएनौ तर यहाँका कृषकको सक्रियताले यो व्यवसाय हामीले सोचे भन्दा पनि राम्ररी फष्टाएर गएको छ ।
डेढवर्ष अघिबाट मौरीपालन व्यवसाय गर्दै आएकी शिवसाक्षी नगरपालिका वार्ड नं. ७ की मौरी पालक कृषक सन्तकुमारी मुखिया मौरीले आफूलाई मात्र नभई यहाँका विपन्न समुदायका महिलाको जीवनस्तर उकास्न वरदान नै सावित भएको बताउँछिन् । उनी भन्छिन् – व्यवसायिक मौरी पालन गर्न चाहने किसानलाई साना तथा मझौला कृषक आयस्तर आयोजनाले पनि सहयोग गरेकाले चुलो चौकामै सीमित रहने महिला अहिले आर्य–आर्जनको बाटोमा लागेको र आत्मनिर्भर भएको देख्दा खुशी लाग्छ ।
अहिले झापाका केही नगरपालिका र केही गाविसमा मौरीपालन फर्म सञ्चालन भएका छन् । युवा लक्षित कार्यक्रम अन्तर्गत नेपाल सरकारले अनुदान सहयोग गर्न थालेसँगै यहाँका कृषक मौरीपालन व्यवसायतर्फ आकर्षित भएको बताउँछन् जिल्ला विकास समिति झापाका योजना अधिकृत हिमराज सेढाई । उनी भन्छन् – मौरीपालन अन्य व्यवसायको तुलनामा सजिलो र धेरै आम्दानी हुने भएकाले किसानहरु यसतर्फ आकर्षित भएको मैले पाएको छु ।
 मौरीपालन व्यवसायलाई प्रोत्साहित गर्न जिल्ला कृषि विकास कार्यालयले मौरीका नयाँ घार खरिद गरेर व्यवसाय शुरु गर्न चाहने किसानहरुलाई ५० प्रतिशतसम्म अनुदान दिदैँ आएको छ । जिल्ला कृषि विकास कार्यालय झापाबाट सहयोग पाएपछि मौरीपालनमा सहजता भएको बताउँछन् स्थानीय अगुवा मौरीपालक महिला कृषक डिकुरादेवी गुरागाई । मौरीपालक कृषकका लागि चरनको समस्या रहे पनि झापाका अधिकांश कृषक मौरीको चरन क्षेत्र खोज्दै छिमेकी जिल्ला इलाम, मोरङ, सुनसरी, धनकुटासम्म जाने गरेको गुरागाईले बताइन् ।  अन्य कृषि व्यवसायभन्दा मौरी पालनमा जोखिम कम र बढी आम्दानी हुने भएकाले आफूले पनि मौरी पाल्न शुरु गरेको बताउँदै उनले भनिन् – चरनको दीर्घकालीन सोच नभएकाले यो व्यवसायमा पनि जटिलता थपिँदै गएको छ ।
शिवशताक्षीका कृषकले मह मात्र होइन मौरी नै विक्री गरेर पनि अहिले राम्रो आम्दानी गरिरहेका छन् । झापामा मौरी पालन व्यवसाय फस्टाउँदै गएपछि यहाँका कृषकले पछिल्लो समय मौरीको घार उत्पादन गर्दै विक्री वितरण गरिरहेका छन् । प्रतिघार मौरी ७ हजार रुपैयाँमा विक्री हुने गरेको र एक जना कृषकले वर्षमा १५ घारसम्म मौरी बेच्न सक्ने भएकाले कृषकलाई दोहोरो फाइदा हुन्छ जिल्ला कृषि विकास कार्यालय झापाका वालि संरक्षण अधिकृत राजेन्द्रप्रसाद खरेलले बताए ।
जिल्ला कृषि बिकास कार्यालय झापाले चालू आर्थिक वर्षमा युवा लक्षित मौरीपालन कार्यक्रममार्फत मौरीको आधुनिक घर निर्माण, मह मदानी लगायतका साम्रगी बनाउन समेत तालिम प्रदान गरेपछि कृषकमा मौरी पाल्न थप उत्साह मिलेको बताउँछन्– जिल्ला कृषि विकास कार्यालय झापाका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत तिम्सिना ।
जिल्लामा अहिले ५ हजारभन्दा बढी कृषकले व्यवसायिक मौरी पालन गरिरहेको बताउँछन् मौरी पालक कृषक तथा सतासी महिला मौरीपालन सहकारी संस्थाकी अध्यक्ष केशमाया थेवे ।


‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ दाहाललाई


यसवर्ष ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ झापाकी मौरी पालक कृषक देवी दाहाललाई प्रदान गरिने भएको छ ।
कृषि विकास मन्त्रालयले कृषिको माध्यमबाट दीगो आर्थिक वृद्धि तथा खाद्य सुरक्षा सुनिश्चित गर्न कृषि पेशामा सम्लग्न भएका व्यवसायी र अर्धव्यवसायी कृषकलाई थप प्रोत्साहन गर्न २०७१ सालबाट यो पुरस्कार प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७०÷०७१ को वजेट वक्तव्यको बुँदा नम्नर ९९मा व्यवस्था भए अनुरुप मन्त्रालयले देशभरबाट छनौट गरिने पाँच जनामध्ये एकजना कृषकलाई  सर्वोत्कृष्ट र चार जनालाई उत्कृष्ट पुरस्कार वितरण गर्दै आएको छ । सोही बमोजिम झापा शिवसताक्षी नगरपालिकाकी दाहाललाई मौरी पालन व्यवसायमा उत्कृष्ट कार्य गरेको भन्दै ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गर्न लागिएको कृषि विकास मन्त्रालयले जनाएको छ । पुरस्कारको राशी एक लाख रुपैयाँ रहेको छ । पुरस्कार असार १५ गते वितरण गरिँदैछ ।
मन्त्रालयले  देशबाट छनोट हुने सर्वोत्कृष्ट कृषकलाई रू. दुई लाख र चारजना उत्कृष्ट कृषकलाई रू. एक लाखको दरले पुरस्कार वितरण गर्दै आएको छ ।
पुरस्कार प्राप्त गर्नका लागि प्रत्येक जिल्लाबाट उत्कृष्ट तीनजना कृषकलाई जिल्ला कृषि विकास कार्यालयले आफ्नो विकास क्षेत्रमा पठाउँछन् र प्रत्येक विकास क्षेत्रबाट ५÷५ जना छनौट गरी राष्ट्रियस्तरमा पठाइन्छ । पाँच विकास क्षेत्रले पठाएका जम्मा २५ जनामध्ये कृषक मध्ये पाँचजना छनोट गरी पाँच जनालाई पुरस्कृत गर्ने गरिएको कृषि विकास मन्त्रालयले जनाएको छ । कृषकलाई दिइने पुरस्कार राष्ट्रपतिको हातबाट वितरण गरिने गरिएको छ ।

कसरी पाइन् दाहालले ‘राष्ट्रपति उत्कृष्ट                   कृषक पुरस्कार’

झापाको शिवशताक्षी नगरपालिका–७मा रहेकी देवी दाहाल २०६० सालबाट मौरीपालन व्यवसाय गर्दै आएकी छिन् । उनले २०६४ सालबाट व्यवसायिक मौरीपालन शुरु गरिन् । दाहालले आफूले मात्रै मौरीपालन गरिनन् यो व्यवसायमा छरछिमेक समेतलाई आवद्ध गराई अहिले मौरीपलक कृषि सहकारी संस्था नै सञ्चालन गरेर बसेकी छिन् । उनी अहिले सो सहकारी संस्थाको व्यवस्थापको रुपमा कार्यरत छिन् । दाहालले अहिले ११५ घार मौरी पालेकी छिन् । उनले अहिले यो व्यवसायबाट वार्षिक १३ लाख रुपैयाँसम्म बचत गर्दै आएकी छिन् । शुुरुमा २ घार मौरी पालेर व्यवसायमा प्रवेश गरेकी उनले महिला भएरपनि वार्षिक १३ लाख रुपैयाँसम्म वचत गर्न सक्ने सहासी महिलाका रुपमा उनी पुरस्कृत हुन लागेको जिल्ला कृषि विकास कार्यालय झापाका वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिम्सिनाले बताए ।
उनले यस अघि जिल्ला र क्षेत्रबाट उत्कृष्ट कृषकको रुपमा पुरस्कृत हुँदै ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’का लागि छनोट हुनुभएको हो जिल्ला कृषि विकास विकास कार्यालय झापाका प्रमुख तिम्सिनाले बताए  ।


महमा झापा आत्मनिर्भर


झापा महका लागि आत्मनिर्भर भएको छ । झापाका कृषकले व्यवसायिक मौरीपलन शुरु गरेसँगै झापा महका लागि आत्मनिर्भर भएको जिल्ला कृषि विकास कार्यालय झापाले जनाएको छ । झापामा पछिल्लो समय दुई हजार घार उन्नत जातको मौरी पालिँदै आएको छ । यहाँका कृषकले अहिले जिल्ला कृषि विकास कार्यालय झापाको सहयोगमा मेलिफेरा प्रजातिको मौरीपालन गरिरहेको जिल्ला कृषि विकास कार्यालय झापाका वरिष्ठ कृषि विकास अधिकृत तिम्सिनाले बताए । मेलिफेरा मौरीबाट
मात्रै यहाँका कृषकले वार्षिक रु. १ करोड ८० लाख रुपैयाँ आम्दानी गर्ने गरेको बताइएको छ ।
त्यस्तै सेरेना प्रजातिको लोकल मौरी यहाँका १५ सय भन्दा बढी कृषकले पालन गरिरहेको जिल्ला कृषि विकास कार्यालय झापाले जनाएको छ । जसबाट ४५ लाख मूल्य वरावरको मह उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालय झापाका वाली संरक्षण अधिकृत खरेलले बताए । नेपालमा उत्पादित मह चीनमा समेत निर्यात हुने गरेको जनाइएको छ । झापामा शिव सताक्षी नगरपालिकासहित कनकाई, शनिअर्जुन, बिर्तामोड नगरपालिका र वुधवारे गाविसका कृषकले व्यवसायिक मौरी पालन गर्दै आएको जिल्ला कृषि विकास कायालयको तथ्याङ्कमा उल्लेख छ ।  

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।