Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Sunday, November 6, 2016

गरीबको उपचारका लागि सहाराले ल्यायो दश करोडको ‘संकल्प अभियान’

सुरुङ्गा (झापा), २१ कात्तिक । झापाको बिर्तामोड नगरपालिका – १ स्थित चारपानेमा रहेको सहारा नेपाल वचत तथा ऋण सहकारी संस्थाले आर्थिक विपन्नता भएका परिवारको उपचारका लागि १० करोड रुपैयाँको सङ्कल्प अभियान सञ्चालनमा ल्याउने भएको छ ।


गरीब तथा विपन्न परिवारका व्यक्तिलाई कुनै पनि रोगबाट बचाउन उनीहरुको उपचारका लागि झापा जिल्ला स्तरीय १० करोड रुपैयाँको कोष खडा गर्ने गरी ‘संकल्प अभियान’को यहाँ घोषणा गरिएको हो ।


समर्पण राष्ट्रिय अभियान सफलताका साथ सम्पन्न गरिसकेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले पुनः आफ्नै अगुवाइमा ‘संकल्प अभियान’ घोषणा गरेको हो ।

सहारा मुख्य आयोजक रहेर झापाका ६८ सामाजिक संस्थाको साझेदारीमा समर्पण अभियान सफल बनाइएको थियो । सोही अभियानको निरन्तरताको रुपमा नयाँ सोचका साथ संकल्प अभियान शुरु गर्न लागिएको सहारा नेपाल साकोसका सचिव तथा प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले घोषणा समारोहमा बताउनुभयो ।
‘अहिले गरीब तथा विपन्न व्यक्तिहरुलाई स्वास्थ्य सेवा महँगो भएको छ’ – गिरीले भन्नुभयो– ‘तिमीहरुलाई ठूला प्रकारका रोगहरु लागेमा चन्दा संकलन गर्ने उपचार गर्नुपर्ने बाध्यता छ । अतः त्यस्ता मानिसहरुलाई अकाल मृत्युबाट बचाउन र उपचारका सहयोग पु¥याउने उद्देश्यले १० करोड रुपैयाको झापा जिल्ला स्तरीय कोषका लागि रकम संकलन गरी संकल्प अभियान सञ्चालन गरिने छ ।’
उक्त कार्यका लागि सहारा नेपाल साकोसले एक करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेको छ । अन्य रकम इच्छुक सामाजिक व्यक्ति, संघ–संस्था, स्थानीय निकाय र अस्पतालबाट जुटाइने गिरीको भनाई छ ।
यसरी जम्मा भएको कोषको रकमको ब्याजबाट गरीब परिवारका मानिसलाई उपचारका लागि सहयोग गरिने सहारा नेपाल साकोसका अध्यक्ष ताराप्रसाद सञ्जेलले बताउनुभयो ।

अध्यक्ष सञ्जेलका अनुसार परिस्थिति हेरी प्राकृतिक विपत्तिको अवस्थामा पनि राहत सहयोग उपलब्ध गराउन उक्त रकम प्रयोग गर्न सकिने छ । कोषको सचिवालय सहारा नेपाल साकोसको केन्द्रीय कार्यालय रहने बताइएको छ ।
सहारा नेपाल साकोसको अगुवाई र अन्य सामाजिक संघ–संस्था तथा व्यक्तिको संयुक्त पहलमा पाँच वर्षभित्र १० करोड रुपैयाँको कोष तयार गरिने बताइएको छ ।
पछिल्लो समय गाविस र नगरपालिकाले उपचारका लागि गरीब परिवारका मानिसलाई सिफारीस र सहयोग गर्दै आएको अवस्थामा अब आम झापाबासीको साझा कोषको रुपमा संकल्प अभियान मार्फत खडा गरिने कोषबाट त्यस्ता व्यक्तिलाई सहयोग गरिने बताइन्छ ।
सामाजिक चेतना र मानवीय भावना भएका जो कोही पनि संकल्प अभियानमा सहभागी भई सदस्य बन्न सक्ने सहारा नेपाल साकोसका सचिव गिरी बताउँनुहुन्छ ।
यसअघि एकदिनको कमाई र श्रम समुदायका लागि भन्ने अभियान अन्तरगत समर्पण राष्ट्रिय अभियानबाट जुटेको एक करोड रुपैयाँ बढी रकमबाट कनकाई माई कोटीहोममा कर्मयोग भवन बनिरहेको छ ।
सहाराले सोही भवनको माथिल्लो तलमा नेपाल रेडक्रस सोसाइट झापा शाखाको साझेदारीमा यसै वर्ष सर्पदंश उपचार केन्द्र सञ्चालन गर्नेसमेत घोषणा गरेको छ । सो कार्यका लागि सहाराले ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।
त्यस्तै झापा त्यसमा पनि बिर्तामोडमा धेरै अस्पतालहरु खुलेको र यो स्वास्थ्य क्षेत्रको हव भन्ने सम्भावना रहेकाले त्यहाँ उपचार गर्न आउने मानिसलाई महँगो होटलमा बस्नुपर्ने बाध्यताबाट राहत दिन ‘सहारा सदन’ स्थापना गर्ने उक्त संस्थाले घोषणा गरेको छ ।
विरामी तथा विरामीका परिवार कम शुल्कमा बस्नका लागि सहारा सदन निर्माण गर्न लागिएको संस्थाका सचिव गिरीले बताउनुभयो । उक्त कार्यका लागि यस वर्ष सहाराले ५० लाख रुपैयाँ विनियोजन गरेको छ । जग्गा किनेर सहारा सदन निर्माण गरी तीन वर्षभित्रमा सञ्चालन गरिने संस्थाको योजना रहेको बताइएको छ ।
सामाजिक मानवीय सेवाको क्षेत्रमा सहारा नेपाल साकोसले यो वर्ष पाँच करोड रुपैयाँ खर्च गर्ने जनाइएको छ ।
त्यस्तै नेपाल पत्रकार महासंघ झापा शाखालाई पत्रकार उपचारका लागि अक्षयकोष स्थापना गर्न सहारा नेपाल साकोसले पाँच लाख रुपैयाँ प्रदानसमेत घोषणा गरेको छ ।
त्यस्तै यसैवर्ष नेपाल रेडक्रस सोसाइटी अन्तर्गत बिर्तामोडमा सञ्चालित रक्तसञ्चार सेवाका लागि १५ लाख रुपैयाँको कम्पोनेन्स सेप्रेसन मेसीनसमेत सहारा नेपाल साकोसले प्रदान गर्ने बताइएको छ । उक्त मेसीन आएपछि एकै पोका रगतबाट प्लेट लेस, प्लाज्मा, डब्लु बीसी, आरवीसी गरी चार वटा तत्व निकाल्न सकिने र जसलाई जुन तत्व आवश्यक छ त्यो मात्र दिन सकिने रेडक्रस झापाका सभापति लोकराज ढकालले बताउनुभयो । यसो गर्दा एक पोका रगतबाट एकै साथ चार जनाले सेवा पाउन सक्नेछन् ।
पछिल्लो समय डेंगु ज्वरोको संक्रमण बढेको बेला त्यस्ता रोगीलाई आवश्यक पर्ने ‘प्लेट लेस’ तत्व यहाँ उपलब्ध नहुँदा उपचारका लागि विराटनगर धरान पुग्नुपर्ने बाध्यता छ । अब बिर्तामोड मै उक्त मेसीनबाट ‘प्लेट लेस’ निकाल्न थालेसँगै डेंगु ज्वरोको उपचार यही सम्भव हुने सभापति ढकालले बताउनुभयो ।
डेंगु ज्वरो पीडित विरामीलाई रगतको ‘प्लेट लेस’ तत्व दिनुपर्ने हुन्छ ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।