सुरुङ्गा (झापा) १२ वैशाख । सदरमुकामबाट टाढा रहेका सेवाग्राहीहरुलाई सहजै सेवा प्रदान गर्ने उद्देश्यले दक्षिणी झापाको टाघनडुव्बामा एक दिने निःशुल्क स्वास्थ्य तथा एकीकृत घुम्ती सेवा शिविर आज सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय झापा, नेपाली सेना श्री कालिवहादुर गण चारआली व्यारेकको आयोजना तथा रोटरी क्लव अफ बिर्तामोडको सहकार्यमा उक्त शिविर सम्पन्न भएको हो । जिल्ला प्रशासन कार्यालयले दिएको सो सेवाबाट सरणामती– ९ कि मनिषा ढुङ्गाना पहिलोपटक नागरिकता लिइएकी थिइन् । उनलाई प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले नागरिकता प्रदान गर्नुभएको थियो । घुम्ती शिविरमा जिल्ला निर्वाचन कार्यालय झापाले फोटो समेतको मतदाता नामावली संकलन कार्य गरेको थियो भने जिल्ला प्रशासन कार्यालय झापाबाट वंशज र वैवाहिक अंगिकृत नागरिता , नावालक परिचय पत्र प्रदान गरिएको थियो ।
त्यस्तै जिल्ला कृषि बिकास कार्यालयले कृषिमेला प्रर्दशनी, वीउ विजन वितरण, श्रव्य दृष्य प्रर्दशनी सहित कृषकलाई प्राविधिक परामर्श समेत दिएको छ । कृषकहरुलाई लक्षित गरी जिल्ला पशुसेवा कार्यालय झापाले पशु स्वास्थ्य उपचार, पशु प्रजनन सेवा उपलव्ध गराएको थियो ।
शिविरमा महिला तथा वालवालिका कार्यालयले अंपाङ्गता परिचय पत्र बितरण गर्नुका साथै जिल्ला वन कार्यालयले विरुवा वितरण , वन संरक्षण सम्वन्धी जनचेतना मुलक कार्यक्रम सञ्चालन गरेको थियो । त्यस्तै जिल्ला जनस्वास्थ्य कार्यालय झापाले स्वास्थ्य सम्वन्धी सेवा प्रदान गरेको छ । स्वास्थ्य सेवामा जनरल फिजिसियन , स्त्री रोग , वाल रोग , हाड जोर्नी, मुटुरोग , दात सम्वन्धी रोग, आँखाको उपचार आदि सेवा प्रदान गरिएको थियो ।