Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Thursday, January 21, 2016

महारानीगञ्ज माविमा ५७ बर्षपछि जिशिअ पुग्दा...



सुरुङ्गा,झापा ७ माघ ।  चारैतिर पर्खाल । उत्तरतर्फ फर्किएको प्रवेशद्वार । प्रवेशद्वारको दुवैतर्फ लामवद्ध हातमा पुष्पगुच्छा र माला लिएर बसेका मानिस ।  गोल आकारमा केही पर खुल्ला चौरमा मिलाएर राखिएका खाली कुर्सी । हेर्दा लाग्थ्यो त्यस ठाउँमा निक्कै ठूलो कुनै उत्सव वा कुनै विशेष कार्यक्रमको आयोजना भइरहेको छ । 

तर, शनिअर्जुन नगरपालिका–९ स्थित सालवारीमा रहेको महारानीगञ्ज माध्यमिक विद्यालयमा देखिएको दृष्य अड्कल गरेभन्दा धेरै फरक थियो । २०१५ सालमा स्थानीय दाताको सहयोगमा निर्माण गरिएको सो विद्यालयमा ५७ वर्षपछि पहिलोपटक जिल्ला शिक्षा अधिकारी पुगेका थिए ।
जिल्ला शिक्षा अधिकारी आउने थाह पाएर उक्त विद्यालयका अभिभावक र विद्यालय व्यवस्थापन समितिले जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलको स्वागातार्थ मूलगेटमा हातमा माला र पुष्पगुच्छा लिएर बसेका थिए । 
जिल्ला शिक्षा अधिकारी लुइँटेलसँगै विद्यालय निरीक्षक भोलानाथ दाहाल पुग्दा विद्यालय स्थापनाको ५७ वर्षपछि आफ्नो विद्यालयमा पहिलोपटक जिल्ला शिक्षा अधिकारी आएको भन्दै उनीहरुलाई स्वागत गरिएको थियो । हातमा फूल र गलामा अभिभावकले लगाइदिएको माला सम्हाल्दै जिल्ला शिक्षा अधिकारी मूलगेटबाट भित्र पस्न नपाउँदै शुरु भयो– उनीमाथि प्रश्नको बर्षा । विद्यालयका प्रधानाध्यापक मानबहादुर लिम्बूलाई एक्छिन्–एक्छिन् भन्न भ्याइनभ्याइ भयो । ५० बढी स्थानीय अभिभावकले एकैपटक जिल्ला शिक्षा अधिकारीलाई राखेको गुनासो सुन्न जिशिअ लुइँटेललाई हम्मे–हम्मे प¥यो । किन यति धेरै प्रश्न गरियो त ? उनीसँगै रहेका पंक्तिकारलाई पनि छुट्याउनै गाह्रो प¥यो । कारण रहेछ– जिल्ला शिक्षा कार्यालय झापाले अहिलेसम्म उक्त विद्यालयलाई कुनै पनि सहयोग गरेको रहेनछ । स्थानीय अभिभावकले गुनासोमाथि गुनासो राख्दै भने– हजुर यहाँ मजदुरका छोराछोरी पढ्छन् । उनीहरु सबै आएका दिन बसाएर पढाउने ठाउँ छैन । विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष लवकुश गौतमले भने– सबै विद्यार्थी आएका दिन ठाउँ अभावमा चौरमा राखेर पनि पढाउँछौं । डेस्क, वेञ्चको त कुरा परै जाओस् बस्नलाई भवनपनि छैन–  गौतमले थपे । आफू अध्यक्ष भएको बेला महायज्ञ लगाएर विद्यालय कम्पाउण्ड घेराबेरा गरेको बताउँदै उनले भने– यो कम्पाउण्ड नलगाउँदा बस्ने ठाउँ भएन भन्दै विद्यार्थी दिउँसै हिंड्थे र दाताकै सहयोगमा पुराणबाट संकलित रकमले घेराबारा ग¥यौं । भूकम्पले विद्यालयको भवन चर्किएपछि बस्न सक्ने अवस्थै छैन । 
अर्का अभिभावक तथा विद्यालयका पूर्व अध्यक्ष भैरव खड्काले थपे– पहुँच नभएर होला, अहिलेसम्म जिल्ला शिक्षाले कुनै सहयोग गरेको छैन । यसपटक हजुर आफैं आएर विद्यालय हेरिदिनु भयो अब त सहयोग हुन्छ होला नि ! एक सय ४५ प्राथमिक, १ सय ५१ निम्न माध्यमिक र ७८ जना माध्यमिक कक्षामा अध्ययनरत् छन् सो विद्यालयमा । १२ जना दरबन्दी, दुई निजी र बाल शिक्षाका लागि एक जना शिक्षक कार्यरत रहेको समेत विद्यालयका प्रधानाध्यापक लिम्बूले विद्यालयका कक्षा कोठाको अवलोकन गराउँदै जिशिअ लुइँटेललाई जानकारी गराए । स्थानीय हर्कबहादुर कुमाल, कृष्णप्रसाद बराल र ठगनीदेवी चौधरीले विद्यालय निर्माणका लागि जग्गा प्रदान गरेपछि स्थानीयकै दाताको सहयोगमा सो विद्यालय निर्माण भएको व्यवस्थापन समितिका पूर्व अध्यक्ष गौतमले जानकारी गराए । दातामध्ये कुमालले एक विगाह १० धुर, चौधरीले १६ कठ्ठा र बरालले १० धुर जग्गा निःशुल्क रुपमा प्रदान गरेका छन् । 
जिल्ला शिक्षा कार्यालयले चालू आर्थिक बर्षमा सो विद्यालयलाई १९ लाख ५० हजार रुपैयाँ प्रदान गरेपछि अहिले बरालले दिएको १० धुर जग्गामा तीन कोठे भवन निर्माण भइरहेको छ । निर्माणाधीन भवन देखाउँदै प्रधानाध्यापक लिम्बूले भने– तपाइँकै पालामा मरितरी यो भवन प¥यो, तर के गर्नु पुरानो भवनमा पनि विद्यार्थीलाई राखेर अध्ययन गराउन सक्ने अवस्था छैन । अभिभावकले सहयोगका लागि गरेका प्रश्नको उत्तर दिन नपाउँदै विद्यार्थीले समेत छोडेनन् जिल्ला शिक्षा अधिकारीलाई । अध्ययन गर्न अप्ठ्यारो भएको कुरा अवगत गराउँदै विद्यार्थीले भने – विद्यालयमा कम्प्युटर त आएको छैन, राख्ने ठाउँ छैन भनेर सरहरुले पढाउनु हुन्न । विद्यालयमा चार वटा कम्प्युटर रहेपनि राख्ने कोठाको अभावमा एक बर्ष अघिदेखि कम्प्युटर थन्क्याएर राख्नु परेको प्रअ लिम्बूले जिल्ला शिक्षा अधिकारी लुइँटेललाई जानकारी गराए । कक्षा ३सम्म अंग्रेजी माध्यमबाट पठनपाठन हुँदै आएको सो विद्यालयमा विगत तीन बर्षदेखि मावि सञ्चालन गरेर यो बर्ष चौथो व्याजको एसएलसीको तयारी गरिँदैछ । चिया बगानमा कार्यरत मजदुरका छोराछोरी, आदिवासी जनजातिका छोराछोरी बढी मात्रामा आफ्नो विद्यालयमा अध्ययनरत् रहेको प्रअ राईले जानकारी गराए । उनले जिल्ला शिक्षा अधिकारी लुइँटेललाई चालू आर्थिक बर्षमा नै भौतिक सहयोग र विज्ञान प्रयोगशाला तथा पुस्तकालयका लागि समेत केही सहयोग गर्न अनुरोध गरे । 
यता जिल्ला शिक्षा अधिकारी लुइँटेलले भौतिक तथा विज्ञापन प्रयोगशाला र पुस्तकालय निर्माणका लागि चालू आर्थिक बर्षमै केही रकम सहयोग गर्ने आश्वासन दिए । उनले भने– शिक्षा समितिको बैठकमा म कुरा उठाउँछु, तपाइँहरुले मागे बमोजिम नभएपनि केही मात्रामा अवश्य सहयोग गर्छु ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।