Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Wednesday, July 8, 2015

खेती छाडेर विरुवा रोप्दै झापाली कृषक



सुरुङ्गा (झापा) २३ असार । दक्षिणी झापाको राजगढ– ८ निवासी धनन्जय ओझाले धान खेती मासेर १० कठ्ठा क्षेत्रफलमा विरुवा लगाउनुभयो । बढ्दो सहरी करणले दिनानुदिन काठको माग बढेको र वैदेसिक रोजगारीका कारण गाउँमा खेती गर्ने मजदुर पाइन छाडेपछि उहाँले धान खेती मासेर उन्नत जातकमा विरुवा लगाउनु भएको हो । उहाँमात्र होइन उहाँका साइला दाजु नरेन्द्र ओझालेपनि गतवर्षबाटै धान खेती मासेर विरुबा लगाउन सुरु गर्नु भएको छ । नरेन्द्रले पनि आफ्नो खेतमा मलेसियन साल, खयर, टीक, खमारी, सिरिस, मसला लगायत विभिन्न प्रजातिका विरुवा लगाउनुभएको छ । ओझा दाजुभाईले धान खेती मासेर विरुवा लगाउन सुरु गरेसंगै उनीहरुकै देखासिकि गरेर राजगढ–८ कृषक अन्त राजवंशी, ज्ञानुप्रसाद न्यौपाने लगायत दर्जनौं कृषकले उन्नत जातका विरुवा लगाउन सुरु गरेका छन् ।
खेती छाडेर विरुवा रोप्दै झापाली कृषक

 जिल्ला वन कार्यालय झापालेसमेत एक घर एक विरुवा , एक गाउँ एक वन , एक नगर अनेक उद्यान बनाउँ भन्दै निःशुल्क विरुवा वितरण थालेपछि राजगढका मात्र होइन जिल्लाका अधिकांश कृषकले खेती मासेर विरुवा लगाउन थालेको जिल्ला वन कार्यालय झापाका प्रमुख इन्द्रमणि भण्डारीले बताउनुभयो । भण्डारीका अनुसार झापाका ४ सय कृषकले यो वर्ष निजी वन दर्ता नै गराएका छन् । गत वर्ष ३ सय ४० कृषकले निजीवन दर्ता गरेपनि त्यो दर बढेर ४ सय पुगेको उहाँले बताउनुभयो ।

 अझैंपनि निजीवन दर्ता गर्नेक्रम जारी छ भन्दै उहाँले अगाडि भन्नुभयो–‘विना दर्ता विरुवा लगाउने कृषककोे तथ्याङ्क संकलन गर्न जिल्ला बन कार्यालयले सुरु गरेको र  मोटामोटी ५ हजार  कृषकले विरुवा लगाएको अनुमान हाम्रो छ ।’ जिल्लाका राजगढसहित भद्रपुर, जलथल,शरणामति,कुमरखोद, चकचकी, सुरुङ्गा,गोलधाप, गरामनी, वाहुुनडाँगी, मेचीनगर नगरपालिका, दमक नगरपालिकाका अधिकांश कृषकले खेती मासेर विरुवा लगाउन सुरु गरेको भण्डारीको भनाई छ । काठको माग अत्याधिक बढेपछि ठूला किसानले निजी वन लगाउन जग्गा खरिद गरेर पनि वृक्ष रोपण गरिरहेको र केही सहकारीले जग्गा लिजमा लिएर पनि विरुवा लगाउँदैछन् मनकामना सामुदायिक वन राजगढका अध्यक्ष तुलसीप्रसाद ढकालले भन्नुभयो ।
यो वर्ष जिल्ला वन कार्यालय झापाले ५ लाख विरुवा उत्पादन गरेको र हालसम्म झण्डै ४ लाख विरुवा वितरण गरिसकिएको जिल्ला वन कार्यालय झापाका प्रमुख  भण्डारीले बताउनुभयो । जिल्ला वन कार्यालय झापाले जिल्लाका भद्रपुर, गोलधापको गरामनी,ज्यामिरगढी गाविस भवन, वाँहुनडागी , महेसपुरको रंगेडाडा,वालुवारी, राजगढ, घेरावारी, सुरुङ्गा,शनिश्चरे, दमकको वेलडाँगी र गौरादहमा विरुवाको नर्सरी तयार गर्दै विरुवा उत्पादन गरेको बताइएको छ ।
गतवर्ष जिल्ला वन कार्यालय झापाले ५ लाख विरुवा निःशुल्क वितरण गरेपनि यो वर्ष विरुवा उत्पादनमा कमी भएका कारण कृषकले मागे बमोजिम विरुवा उपलव्ध गराउन नसकेको भण्डारीको भनाई छ । जिल्ला वन कार्यालयले मात्र प्रयाप्त विरुवा उपलव्ध गराउन नसकेपछि धेरैजसो कृषकले निजी लगानीमा नर्सरीबाट विरुवा खरिद गरी खेती मासेर विरुवा लगाउने गरेको चकचकीका कृषक चन्द्रप्रसाद कोइरालाले बताउनुभयो । उहाँले पनि चकचकीमै चन्द्र नर्सरी केन्द्र स्थापना गरेर विगत १० वर्षदेखि विरुवा विक्री गर्दै आउनुभएको छ । उहाँले विरुवा विक्री गरेर मात्रै वार्षिक ५ लाख भन्दा माथि आम्दानी गर्ने गरेको बताउनुभयो ।


0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।