Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Thursday, March 24, 2016

झापामा नयाँ प्रविधिबाट च्याउ खेती शुरु



सुरुङ्गा (झापा) ११ चैत । झापाको राजगढ–४ का ३४ वर्षीय देवकुमार साहाले नयाँ प्रविधिबाट च्याउ उत्पादन गर्न  शुरु गर्नुभएको छ ।
कालो र निलो ढुसीबाट सहजै जोगाउन सकिने जनाउदै उहाँले काँचो प्रविधिबाट कन्ये च्याउ उत्पादन गर्न शुरु गर्नु भएको हो ।  सामान्यतया च्याउ उत्पादनका लागि टुक्र्याएको पराललाई पकाएर च्याउ खेती गरिदै आएपनि साहाले चिसो पानीमा पराललाई भिजाएर च्याउ खेती गर्नु शुरु गर्नुभएको छ । यसरी उत्पादन गरिएको च्याउ पूर्ण रुपमा अग्र्यानिक र मानव स्वास्थ्यका लागि अति उपयोगी हुने उहाँको भनाई छ । काँचो प्रविधिको च्याउ कम खर्चमा उत्पानद गर्न सकिने जनाउदै उहाँले नेपालमा नै यो प्रविधि आफूले पहिलो पटक भित्र्याएको दावीसमेत गर्नु भएको छ ।


२०५८ सालबाट च्याउ खेती गर्दै आउनु भएका साहाले तीन वर्ष अघिबाट मात्रै यो प्रविधि नेपालमा भित्र्याएको बताइएको छ  ।  तीन वर्ष अघिदेखि आफूले काँचो प्रविधिको च्याउ खेती गर्दै आएपनि झापामा पनि  पहिलो पटक आफूले काँचो प्रविधिबाट च्याउ उत्पादन गर्न शुरु गरेको उहाँले बताउनुभयो । साहाले अहिले राजगढ – ४ मा  १० कठ्ठा जमिन भाडामा लिएर व्यवसायिक  च्याउ खेती गर्दै आउनुभएको छ । झण्डै साढे ६ लाख रुपैयाँको लगानीमा उहाँले डीएम् च्याउ फर्म दर्ता गरेर साढे ५ सय सिलिन्डर च्याउ लगाउनुभएको छ । केही दिन भित्र ४ वटा टहरामा दुई हजार सिलिनडर च्याउ लगाउने तयारी गरिरहेको उहाँले बताउनुभयो ।
च्याउ खेतीका लागि भारतको वंगालस्थित हल्दिवारीमा गएर च्याउ प्रविधिकको तालिम समेत लिएर आउनुभएका  साहाले पोखरा, काठमाडौं हुँदै पछिल्लो समय राजगढमा यो प्रविधिबाट च्याउ खेती गर्न शुरु गर्नुभएको हो । झापालाई च्याउ खेतीका लागि प्रख्यात जिल्लाका रुपमा चिनाउने र  काँचो प्रविधिबाट  उत्पादित च्याउ पाइने गाविसको रुपमा राजगढलाई स्थापित गर्ने आफ्नो  लक्ष्य रहेको उहाँले बताउनुभयो । उत्पादित च्याउ अहिले झापामा नै खपत भइरहेको र  निकट भविश्यमा पोखरा र  काठमाडौंसम्म निर्यात गर्ने तयारी सहित च्याउ खेती शुरु गरेको साहाको भनाई छ ।
साहाले अहिले प्रति सिलिन्डर ८ केजीसम्म च्याउ उत्पादन गर्दै आउनुभएको छ । च्याउको वजार मूल्य एक सय ६० रुपैयाँ प्रतिकेजी भएपनि उहाँले अहिले एकसय ३० रुपैयाँमै च्याउ विक्री बितरण गर्दै आउनु भएको छ । साढे ६ लाख रुपैयाँ खर्च गरेर फर्म सञ्चालन  गर्नुभएका साहाले पहिलो लटमा साढे पाँचलाख भन्दा बढीको च्याउ विक्री गर्ने र दोस्रो लटबाट मासिक एकलाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको बताउनुभयो ।
यसरी उत्पादन गरिन्छ काँचो प्रविधिबाट च्याउ
टुक्रा टुक्रा हुनेगरी काटिएको पराल २४ घण्टासम्म चिसो पानीमा ढड्याइन्छ , पानीमा ढड्याइएको पराल पुनः २४ घण्टासम्म सुकाइन्छ र सिलिन्डरमा पराल भर्दै च्याउको वीऊ राखिन्छ – साहाले भन्नुभयो । पानीमा भिजाएको परालको टुक्रामा एप्पल व्रण्डको खाने चुनको प्रयोग गर्नुपर्छ उहाँले भन्नुभयो–‘चुना पनि पकाएर प्रयोग गरे भुसुना कम लाग्ने र लागि हाले फङ्गिसाइड स्प्रे गर्नुपर्छ ।’
सिलिन्डरमा परालसंग भरेको च्याउको वीउ हावा नपस्ने गरेर गुम्स्याएर राख्नुपर्छ र अलि –अलि टुसाएपछि सिलिन्डरलाई डोरीले वाधेर झुण्ड्याउनुपर्छ – साहाले भन्नुभयो । च्याउ खेतीका लागि प्रयोग गरिने वल वा सिलिन्डर भरेको २८ देखि  ३२ दिन सम्ममा यो प्रविधिबाट च्याउ तयारी हुन्छ उहाँले भन्नुभयो । पराल उसिनेर बनाएको च्याउ १७ देखि २२ दिन सम्ममा तयार हुनेभएपनि कालो र निलो ढुसीका कारण कहिले काही रोगका कारण ‘भूत च्याउ’ हुने हुँदा त्यस्तो च्याउको सेवनले स्वास्थ्यमा नकरात्कम असर पार्ने उहाँको भनाई छ ।
गाउँलेपनि च्याउ खेतीमा आर्कषित
राजगढ–४ का देवकुमार साहाले नयाँ प्रविधिबाट च्याउ उत्पादन गर्दै मनग्य आम्दानी गर्न थालेपछि अहिले दक्षिणी झापाका धेरै युवा च्याउ खेतीतर्फ आर्कषित भएका छन् ।

थोरै लगानी अनि थोरै क्षेत्रफलमा छोटो समयमा मनग्य आम्दानी गर्न सकिने  भएपछि विगत केही महिनादेखि राजगढका सिवित राजवंशीले पनि च्याउँ खेती शुरु गर्नुभएको छ । च्याउखेतीबाट नै  अहिले राजवंशीले मासिक २० हजार रुपैयाँसम्म बचत गर्ने गरेको बताइएको छ । खर्च कटाएर मासिक २० हजार रुपैयाँ आम्दानी हुन थालेपछि आफ्नो  विदेश जाने सोच समेत परिर्वतन भएको उहाँको भनाई छ । परिश्रम गर्न नजानेर रहेछ गर्दा यही मनग्य आम्दानी गर्न सकिने रहेछ नि उहाँले भन्नुभयो – ‘अहिले थोरै मात्रै खेती गर्दै छु , पछि यसैलाई बढाएर लाने सोच मेरो छ ।’ उहाँजस्तै राजगढ–६ का गोपाल गिरी, देवी ओझाले पनि च्याउ खेती सुरु गर्नुभएको छ ।  उहाँहरुले पनि च्याउ खेतीबाटै मनग्य आम्दानी लिने गरेको बताउनुभयो ।
च्याउ खेतीमा झापा आत्म निर्भर बन्यो
 झापा जिल्ला च्याउ खेतीका लागि आत्म निर्भर बनेको छ ।
सरकारले युवालाई स्वरोजगार बनाउन सञ्चालन गरेको युवा लक्षित कार्यक्रम मार्फत ८० जना कृषकलाई जिल्ला कृषि विकास कार्यालय झापाले तालिमसंगै नगद ४० हजारका दरले अनुदान रकम उपलब्ध गराएपछि यहाँका कृषकले व्यवसायिक च्याउ खेती शुरु गरेसंगै झापा जिल्ला च्याउका लागि आत्म निर्भर बनेको हो । जिल्ला कृषि विकास कार्यालय झापाले युवालाई तालिमसंगै च्याउ उत्पादनका लागि अनुदान रकम दिएपछि अहिले जिल्लाका १५० जना युवाले व्यवसायिक फर्म दर्ता गरेर च्याउखेती गर्दै आएका छन् भने झण्डै तीनसय  बढी कृषकले अहिले दैनिक च्याउ उत्पादन गरिरहेको जिल्ला कृषि विकास कार्यालय झापाका प्राविधिक सहायक शालीग्राम भट्टराईले बताउनुभयो । उहाँले झापामा सबैभन्दा बढी बिर्तामोड नगरपालिकाका युवाले च्याउ उत्पादन गर्ने गरेको बताउनुभयो ।
झापाको राजगढ गाविससंगै बिर्तामोड,दमक, काँकरभिट्टा, कनकाई,शिवसतासी,भद्रपुर नगरपालिका कृषकले व्यवसायिक च्याउ खेती गर्दै आएका छन् । दुई वर्ष अघिसम्म भारतबाट नेपाली बजारमा उपभोग गरिने च्याउ आयात आयात गरिदै आएपनि आर्थिक वर्ष २०७१÷०७२ बाट झापाले मेची पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङमा समेत च्याउ निर्यात गर्दै आएको भट्टराईले बताउनुभयो ।
जिल्ला कृषि विकास कार्यालय झापाका अनुसार आर्थिक वर्ष २०७१÷०७२ सालमा झापामा एक हजार आठ सय मेट्रिक टन च्याउ उत्पादन भएको छ । जुन अघिल्लो वर्षको तुलनामा पाँचसय मेट्रिक टनले बढी हो । अघिल्लो आर्थिक वर्ष २०७०÷०७१ मा एक हजार तीन सय मेट्रिक टनमात्रै च्याउ उत्पादन भएको थियो ।  – रासस

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।