Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Thursday, October 30, 2014

बुढ्यौलीले छेकेन चुडाललाई


सुरुङ्गा (झापा) ३१ असोज । श्रम गर्न बुढ्यौलीले छेक्दैन भन्ने झापाको गरामनी –९ निवासी भोला चुडालले प्रमाणित गर्नु भएको छ । ६८ वर्षीय चुडालले पत्थरभिट्टामा नेपाली कागज उद्योग सञ्चालन गरेर जाँगरलाई बुढ्यौलीले छेक्दैन भन्ने प्रमाणित गर्नु भएको हो ।
घरेलु तथा साना उद्योग कार्यालय चन्द्रगढी झापामा २०६५ सालमा ज्योति नेपाली हाते कागज उद्योग दर्ता गराएर उहाँले नेपाली हाते कागज उत्पादन गर्दै आउनु भएको छ ।  चुडालले परम्परागत सीपबाट उत्पादन गरिने नेपाली हाते कागजलाई व्यवस्थित रुपले उत्पादन गर्न घरमा नै उद्योग सञ्चालन गरेपछि  उहाँलाई अहिले जीवीकोपार्जनको लागि सोही उद्योग गतिलो माध्यम बनेको छ  ।


इलाम,पाँचथर,ताप्लेजुङ्ग लगायतका पहाडी जिल्लाका  जङ्गलमा पाइने लोक्ता, अर्गेली, सिक्रे जस्ता वनस्पतिबाट उत्पादन गरिने हाते कागजको माग दिनानुदिन बढेपछि कच्चा पर्दाथ ताप्लेजुङ्गबाट झिकाएर हाते कागज उत्पादन गर्ने गरेको चुडालले बताउनु भयो ।  जसबाट चुडालले  खर्च कटाएर मासिक ५० हजार माथि आयआर्जन गर्ने गरेको जानकारी दिनुभयो ।


 नेपाली हाते कागजको माग देश बिदेशमा बढ्दो छ  त्यसैले कागज बनाउन आवस्यक पर्ने ‘बिटर’नामक मेसिन किनेर ल्याएर र यो उद्योग सुरु गरेको हँु चुडालले भन्नुभयो । पुख्र्यौली घर ताप्लेजुङ्ग भएको बताउदै उहाँले भन्नुभयो –‘ताप्लेजुङ्गमा  रहदा २०५० सालमा मैले यही पेशा  सिके त्यसैले झापामा आएरपनि हाते कागज बनाउँछु ।’
द्वन्द्वकालको समयमा ताप्लेजुङ्ग छोडेर झापा आउनु भएका उहाँले अहिले मौसम सफा भए डेढ सयदेखि दुईसय कोरीसम्म दैनिक कागज उत्पादन गर्दै आएको बताउनुभयो । उहाँले उत्पादन गर्ने कागज दुई प्रकारको भएको र उत्पादित काजग झापासहित, मोरङ्ग, सुनसरी जनकपुर तथा काठमाडौंसम्म जाने गरेको चुडालले बताउनुभयो ।



उद्योगको परिसरमा कागज सुकाउदै गरेको अवस्थामा भेटिनुभएका उहाँले सीप सिके बुढेसकालमा पनि गरिखान सजिलो हुँदो रहेछ भन्दै अगाडि भन्नुभयो –‘ बेलैमा काम सिकेको थिए बाबु त्यो अहिलेसम्म काम लागिरहेको छ । ’ दैनिक नेपाली युवा विदेसिएको प्रति समेत चिन्ता व्यक्त गर्दै उहाँले भन्नुभयो –‘ नेपालमा जता ततै काम छ गर्न जाने तर सबैलाई लाज हुन्छ ।’
झापामा यतिखेर नेपाली कागज उत्पादन गर्ने ७ वटा उद्योग दर्ता रहेको घरेलु तथा साना उद्योग कार्यालय झापाले जनाएको छ । जसमा जलथल – १ मा झापा नेपाली हाते कागज उद्योग, अनारमनी –६ मा सिटौला नेपाली हाते कागज उद्योग,अनारमनी –९मा मेची निघाली नेपाली हाते कागज उद्योग,बुधवारे –९ मा पाथीभरा हातेकागज उद्योग, अनारमनी – २ मा प्रतिमा नेपाली नेपाली हाते कागज उद्योग र अर्जुनधारा –७ मा लक्ष्मी नेपाली हाते कागज उद्योग सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग कार्यालय झापाका प्रमुख उद्योग अधिकृत गोपिप्रसाद घिमिरेले जानकारी दिनुभयो । (सुरेन्द्र भण्डारी – रासस)

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।