सुरुङ्गा (झापा) ३१ असोज । श्रम गर्न बुढ्यौलीले छेक्दैन भन्ने झापाको गरामनी –९ निवासी भोला चुडालले प्रमाणित गर्नु भएको छ । ६८ वर्षीय चुडालले पत्थरभिट्टामा नेपाली कागज उद्योग सञ्चालन गरेर जाँगरलाई बुढ्यौलीले छेक्दैन भन्ने प्रमाणित गर्नु भएको हो ।
घरेलु तथा साना उद्योग कार्यालय चन्द्रगढी झापामा २०६५ सालमा ज्योति नेपाली हाते कागज उद्योग दर्ता गराएर उहाँले नेपाली हाते कागज उत्पादन गर्दै आउनु भएको छ । चुडालले परम्परागत सीपबाट उत्पादन गरिने नेपाली हाते कागजलाई व्यवस्थित रुपले उत्पादन गर्न घरमा नै उद्योग सञ्चालन गरेपछि उहाँलाई अहिले जीवीकोपार्जनको लागि सोही उद्योग गतिलो माध्यम बनेको छ ।
इलाम,पाँचथर,ताप्लेजुङ्ग लगायतका पहाडी जिल्लाका जङ्गलमा पाइने लोक्ता, अर्गेली, सिक्रे जस्ता वनस्पतिबाट उत्पादन गरिने हाते कागजको माग दिनानुदिन बढेपछि कच्चा पर्दाथ ताप्लेजुङ्गबाट झिकाएर हाते कागज उत्पादन गर्ने गरेको चुडालले बताउनु भयो । जसबाट चुडालले खर्च कटाएर मासिक ५० हजार माथि आयआर्जन गर्ने गरेको जानकारी दिनुभयो ।