Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Monday, June 18, 2018

दाता परिवारले नै मुद्धा हालेपछि विद्यालयलाई समस्या



सुरुङ्गा,झापा ५असार (रासस)  झापाका कतिपय सामुदायिक विद्यालयले आर्थिक श्रोत जुटाउन नसकेर विद्यालयको नाममा रहेको जग्गाको मालपोत समेत बुझाउन सकेका छैनन् । सय विगाह भन्दा बढी जमिन विद्यालयको नाममा भए पनि जग्गा ठेक्कामा लिएर उपभोग गर्नेले ठेक्का नबुझाउँदा विद्यालयलाई अहिले मालपोत तिर्न समेत धौ–धौ छ । तर, झापामा एउटा यस्तो सामुदायिक विद्यालय छ जुन विद्यालयको नाममा दश धुर मात्रै जग्गा छ ।
जिल्लाकै नमूना विद्यालय मध्येको बिर्तामोड नगरपालिका–२ रामचौकमा रहेको मोहनमाया माविको आफ्नो नाममा १० धुर जमिन मात्रै छ । २०२४ सालमा स्थापना भएको विद्यालयलाई स्थानीय समाजसेवी भूपालमानसिंह कार्कीले तत्कालीन समयमै १२ कठ्ठा १० धुर जमिन मौखिक रुपमा प्रदान गरेको बताइन्छ । तर, विद्यालयको नाममा रजिष्टे«शन पास भएको छैन ।
दाता परिवारको तर्फबाट २०७० सालमा जिल्ला अदालत झापामा मुद्दा परेसँगै जिल्ला अदालत झापाले दाताकै पक्षमा  फैसला गरेको छ । अदालतको फैसला अनुसार अहिले मोहनमाया मावि जमिनविहीन छ । मोहनमायाको नाममा पूर्व–पश्चिम राजमार्गले छोएको विद्यालय भवनको दक्षिणतर्फ १० धुर मात्रै जमिन छ । जुन जमिनमा विद्यालयले कम्पाउण्ड वाल लगाएको छ ।

विद्यालयले भौतिक संरचना निर्माण गर्दै जिल्लाकै उत्कृष्ट विद्यालय बनाए पनि अहिले तिनै दाता परिवारले विद्यलयले उपभोग गरेको जमिन खाली गर्न माग गरेका छन् । जिल्ला अदालत झापाबाट दाता परिवारले नै मुद्दा जितेपछि विद्यालयले अहिले सो मुद्दालाई पुनरावेदन गरेको प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो – २०७० सालमा भूपालमान सिंहका छोरा जगतबन्धु कार्कीले विद्यालयबिरुद्ध मुद्दा हालेछन्, त्यो मुद्दा उनले जीतेपछि अहिले इलाममा पुनरावेदन गरेका छौं । विद्यालयको नाममा जग्गा प्रदान गर्ने कार्की तत्कालीन समयमा राजसभाका स्थायी सदस्य हुनुहुन्थ्यो ।
साविक चारपाने गाविसको केन्द्र नम्वर–३स्थित कारुवाभिट्टामा विद्यालय स्थापना गरिए पनि भूपालमानले नै रामचौकमा जमिन प्रदान गरेपछि विद्यालय कारुवाभिट्टाबाट रामचौक सारिएको विद्यालयका सहायक प्रधानाध्यापक भवानी राजवंशीले बताउनुभयो । उहाँले भन्नुभयो – ‘त्यो बेला जमिनको मूल्याङ्कन नै कम थियो, भूपालमानले प्रदान गरेको जमिनमा पञ्चकन्या उद्योग समूहका अध्यक्ष तथा शिक्षासेवी प्रेमबहादुर श्रेष्ठले आफ्नी आमाको नाममा विद्यालयको भवन निर्माण गरिदिनुभएको थियो ।’
तत्कालीन समयमा झण्डै ७५ हजार रुपैयाँ खर्चेर श्रेष्ठले भवन निर्माण गरेपछि उहाँकै आमाको नामबाट विद्यालयको नामकरण गरिएको बताइन्छ । सन्ठीको वेरा र फूसले छाएर बनाइएको झुपडीबाट पठनपाठन शुरु भएको विद्यालयको अहिले एक तले सातबटा र तीन तले एउटा गरी आठ भवन छन् । जसमा तीसवटा कोठा छन्, ती मध्ये केही कोठा जीर्ण अवस्थामा रहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायण राजवंशीले बताउनुभयो ।
२०५३ सालबाट निम्न माध्यमिक तहको पठनपाठन शुरु गरेको मोहनमायाले २०६८ सालबाट माध्यमिक तहको अध्ययन अध्यापन शुरु गरेको हो । सामुदायिक विद्यालयतर्फ २०६९देखि २०७१ सालसम्म प्रवेशिका परीक्षा (एसएलसी)मा लगातार तीन वर्ष जिल्ला प्रथम भएको थियो । दुई वटा सुस्तश्रवण (समाहित) कक्षा, तीन वटा वालविकास केन्द्र समेत सञ्चालनमा रहेको सो विद्यालयमा अहिले ९ सय भन्दाबढी विद्यार्थी अध्ययनरत् रहेको विद्यालयका प्रधानाध्यापक श्रेष्ठले बताउनुभयो । 

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।