Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

पत्रकार तथा संचारकर्मी सुरेन्द्र भण्डारी

सभामुख द्वारा शिक्षा पत्रकारिता पुरष्कार ग्रहण गर्दै।

सुरेन्द्र भण्डारी

पत्रकारिता एक चुनौती

सुरेन्द्र भण्डारी

रिपोर्टिंगको सिलसिलामा

सुरेन्द्र भण्डारी

पोखरा घुमघाम एक झलक

Showing posts with label आम्दानी. Show all posts
Showing posts with label आम्दानी. Show all posts

Thursday, October 27, 2016

पाँचसय परिवारको आयआर्जनकी माध्ययम बनिन् राधादेवी


झापा, कात्तिक ११

‘इच्छा शक्ति र जागर भए काम गर्न उमेरले छेक्दैन’ भन्ने उखानको चरितार्थ गरिदिनुभएको छ झापा दमक–११ की ५७ बर्षीया राधादेवी ढुंगानाले । उहाँ अहिले दमक नगरपालिका भित्रका पाँचसय बढी घर परिवारको प्रेरणाको श्रोत अनि आय आर्जनकी माध्ययम बन्नु भएको छ ।
२०४१ सालमा एक हजार ४ सय रुपैयाँ लगानी गर्दै एक लाक्छी धागोबाट ढाकाको काम शुरु गर्नुभएकी उहाँले अहिले पनि सोही कामलाई निरन्तरता दिइरहनुभएको छ । अझैंपनि उहाँ पहिला जस्तै ढाक बुन्दै हुनुहुन्छ भने उहाँसंगै दमक–११ र दमक–१ का पाँचसय महिलालाई यो काम सिकाएर स्वावलम्वी बनाउनु भएको छ । जसबाट ती परिवारको दैनिक गुजारा चल्दै आएको छ । चार सय रुपैयाँमा ढाका बुन्ने तान र एक हजार रुपैयाँमा ढाका बुन्दा प्रयोग गरिने ड्रम किनेर व्यवसाय शुरु गर्नुभएकी उहाँले अहिले दमकमा पशुपति ढाका उद्योग नै सञ्चालन गर्नुभएको छ । सोही उद्योगबाट उहाँ अहिले उद्योगपतिका नाममा चिनिनुहुन्छ । खर्च कटाएर बार्षिक १२ लाख भन्दा बढी बचत गर्न सफल उहाँ अहिले दमक क्षेत्रका लागि प्रेरणाकी स्रोत नै बन्नुभएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय झापामा आफ्नो उद्योगको नवीकरण गर्न आइपुग्नुभएकी ढुंगानाले अरुलाई पनि यही व्यवसायमा आत्मनिर्भर गराएकाले उनीहरुको पनि फर्म दर्ता गर्न आएकी हुँ भन्दै अगाडि भन्नुभयो–‘घरेलु उद्योगले घरमा नै वसिवसी महिलालाई मालिक पो बनाउदो रहेछ , उहाँहरुलाई पनि यही काम सिकाए अब उद्योगी बनाउछु ।’
२०५१ सालमा ६० वटा ढाका बुन्ने तान राखेर चर्चा बटुल्नुभएको उहाँ अहिले गाउँका प्रायः सबै महिलालाई निःशुल्क तान वितरण गर्दै टोपी, बर्को, साडी र चौवन्दी चोला बुन्न धागो समेत प्रदान गर्नुहुन्छ । उनीहरुले उत्पादन गरेका सबै वस्तु खरिद गर्दै बजारमा विक्री गर्ने काम उहाँको हुन्छ । ढाका टोपी बुन्नेलाई उहाँले एक हजार रुपैयाँसम्म दिने गर्नुभएको छ । त्यस्तै बर्को पनि सोही अनुसार नै बुट्टा हेरेर रकम प्रदान गर्छु उहाँले भन्नुभयो । साडी बुन्नेले २ हजार ५ सय रुपैयाँसम्म पाउने गरेका छन् भने चौबन्दी चोली बनाउनेले ४ सयदेखि माथि बुट्टा हेरेर खरिद गरिदिने गरेकी छु ढुंगानाले भन्नुभयो ।
तान बुनेरै दुई छोरालाई डिग्री हासिल गराएँ उहाँले भन्नुभयो । कुटुम्ब आएकाले छोरीलाई भने १२ कक्षा पास गरेपछि विवाह गरिदिनुप¥यो ढुङ्गानाले भन्नुभयो । ढुंगानाका एक छोरा दिनेश माइक्रोवाइलोजीमा डिग्री हासिल गर्दै अहिले झापामा खाद्य निरीक्षक भएर चितवनबाट भर्खर सरुवा हुनुभएको छ । अर्का छोरा लोचन कमर्समा डिग्री हासिल गर्दै आस्था क्याम्पस दमकमा प्राध्यापकका रुपमा कार्यरत रहेको उहाँले बताउनुभयो । आफ्नो सफताको श्रेय भनेकै ढाका बुनाई हो उहाँले थप्नुभयो–‘छोरा छोरी पढाए, बढाए र हुर्किए अब काम नगर्दा नि हुने हो नि, तर नानीकेटाकेटीलाई मैले ढाका बुनेर बेचेर हुर्काएकाले सकुन्जेल यही काम गर्छु ।’
स्थानीय महिलाले तयार पारेका दैनिक दुई सय बढी थान टोपी, बर्का, साडी, चौवन्दी चोलो खरिद गरेर त्यहाँका स्थानीयको जीवीकोपार्जनमा सघाउ पु¥याउने उहाँ बेरोजगार महिलालाई स्वावलम्बी बन्न प्रेरित गर्दै सीप सिकाउन अझैंपनि तल्लीन हुनुहुन्छ । आँखा धमिला भइसके उहाँले भन्नुभयो–‘अब त विहान वेलुका धेरैवेर हेर आँशु आउछ तरपनि यहाँ आउने दिदी वहिनीलाई तान बन्न सिकाइरहन्छु ।’
हिजो तान बुन्न शुरु गर्दा ढुंगान्नी बिग्रिछ भन्ने गाउँका आमा दिदीबहिनी पनि अहिले मसँगै सीप सिकेर स्वावलम्बी बनेको देख्दा खुशी लाग्छ उहाँले भन्नुभयो । गाउँका महिलालाई मात्र मैले सीप सिकाइन आफ्नै दुई छोरालाई पनि यही सीप सिकाएर घर गरिखान सजिलो बनाइदिएकी छु उहाँले भन्नुभयो –‘ विवाहपछि जेठी छोरी दीपा बिर्तामोडमा ढाका पसल सञ्चालन गरेर बसेकी छ, कान्छी छोरी बबिता पनि दमकमा ढाकाकै काम गर्छे ।’
आफ्नो श्रीमान कृष्णबहादुर ढुंगानालाई समेत यही व्यवसायमा संलग्न गराएर उहाँ अहिले दमक क्षेत्रमा परिचित ढाका उद्योगीका रुपमा चिनिनुभएको छ । काठमाडौंमा सम्पन्न सार्क शिखर सम्मेलनमा सम्मानित भइसक्नुभएकी उहाँ घरेलु तथा साना उद्योग कार्यालय झापाले बिर्तामोडमा आयोजना गरेको घरेलु सामग्री प्रदर्शनी कार्यक्रममा पनि प्रथम हुनुभएको थियो । त्यस्तै २०६८ सालमा नेपाल सरकारले समेत उनलाई उत्कृष्ट ढाका व्यवसायीको रुपमा सम्मान गरिसकेको छ ।

Tuesday, April 12, 2016

ढुंगाको मुटु हेर्नेभए तालतलैया जाऔं


झापा, बैशाख १ ।
तपाइले चाहेको कुनै कुरा तपाइलाई  कसैले सहजै दिएन वा तपाइको भनेको कुरा सुनेर पनि नसुने जस्तै गरी अटेरी ग¥यो भने तपाई हामी सबैले भन्ने एक मात्र शव्द हो  ‘ कस्तो ढुंगाको जस्तो मुटु भएको’ मान्छे ।
 कसैको निष्ठुरीपनलाई उपमा दिनुपर्यो भने हामी यसै भन्छौ । कठोर, नपग्लिने र निर्दयी मान्छेहरुका लागि ‘ढुंगा जस्तो मुटु’को उपमा हामी दिनपछि पर्दैनौं । तर  ढुंगाको मुटु कस्तो हुन्छ, कसैले पनि देखेको हुँदैन ।  कसैले नदेखेको विषयलाई देखाउने विश्वमा वैज्ञानिक र उनीहरुजस्तै सिर्जना सोच्ने कलाकारहरु पनि छन् । सुनसरीको इटहरी उपमहानगर पालिका स्थित तालतलैया सिमसार क्षेत्रमा पुग्नेले चाही पक्कैपनि ढुङ्गाको मुटु देखेको हुनुपर्छ । किनकी त्यहाँ  कलाकारहरुले यस्तो सोचे, जुन सोंचका कारण अहिले निकै मनमोहक विशाल ढुंगाको मुटु तयार भएको छ । निर्जिव ढुंगामा सजिव झै लाग्ने मुटु आकृति बनेपछि अहिले सुनसरीको इटहरीस्थित तालतलैयाको चर्चा चुलिएको छ । यो क्षेत्रमा ढुंगाको मुटु मात्र धड्किँदैन, ढुंगा नै हाँस्छ, ढुंगा नै रुन्छ र अनि ढुंगा नै जीवनका सारा अवयवहरुको बिषयमा बोलिरहन्छ, कलाकृतिमार्फत । यहाँ पुग्ने जो कोहीले मानव निर्मित ढुङ्गाको मुटु हेरेर आफ्नै मुटु धड्किएको महसुस गर्छन् ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाण्डौ, इटहरी उपमहानगरपालिका र उद्योग वाणिज्य संघ इटहरीको संयुक्त आयोजनामा पर्यटकीय क्षेत्र तालतलैयामा एकता मूर्तिकला कार्यशाला भएको थियो । जतिवेला देश तथा विदेशका मूर्तिकारहरुले आफ्नो कला प्रस्तुत गरेर   इटहरी उपमहानगरपालिका २ र ३ को बीच भागमा रहेको चारकोसे जङ्गल क्षेत्रको मनोरम पर्यटकीय क्षेत्र तालतलैयामा  आफ्नो कलाले मान्छेको मन मस्तिष्कलाई खिचेका छन् ।


प्राकृतिक ताल र बहुमूल्य जडीबुटी बुट्यान अनि वनभोजका लागि अत्यन्तै सुन्दर मानिएको तालतलैयामा मन लोभ्याउने स्थल निर्माण गर्ने उद्देश्यका साथ विदेशी पाँचसहित ३३ मूर्तिकारहरुले आकर्षक मूर्तिहरु निर्माण गरेका छन् । अमूर्त ढुङ्गामा मानिसलाई एकताको सूत्रमा बाँध्न जरुरी छ नभए देश बन्न सक्दैन भन्ने सन्देश प्रवाहका लागि छिनो, रेतीलगायतका उपकरणबाट तयार पारिएका जिवन्त मूर्ति इटहरीका लागि सम्पदा हुनेमा दुईमत छैन ।


एउटा खराव नियत बोकेको मानिसका लागि  यिनै ढुङ्गाले कसैको ज्यान लिन सक्थ्यो, तर, कलाकारको हातमा परेपछि यिनै ढुङ्गाले इटहरीलाई जीवन्तता दिने काम गरेको छ त्यहाँ पुग्ने जो कसैले बोल्ने जनजीव्रोको भाषा नै भएको छ । १८ दिने सम्म लगाएर तालतलैया क्षेत्रमा ३५ वटा कलाकृति तयार पारिएका छन् ।

सिमसार क्षेत्रमा प्राकृतिक वातावरण, देशको परिस्थिति लगायतका भावहरु समेटिएर  मूर्तिहरु निर्माण गरिएको छ । विगतमा चल्दै आएको विभिन्न देव देवताहरुको मूर्ति मात्र बनाउने परम्परालाई रुपान्तरण गर्दै विभिन्न फरक भाव समेटिएका मूर्तिहरु निर्माण भएपछि इटहरीको पुग्ने जो कोही एक पटक ढुङ्गाको मुटु हेर्न तालतलैया पुग्ने गरेका छन् ।  सिमसार क्षेत्रमा झण्डै ५६ लाख रुपैयाँ खर्च गरेर मानव निर्मित विभिन्न प्रकारका मूर्तिले आन्तरिक तथा वाह्रय पर्यटकको मन लोभ्याएको छ । कुनैबेला सिमसार भनिने यो क्षेत्र अहिले मानव निर्मित मुटु लगायत विभिन्न कला कृतिका कारण धनसार क्षेत्र भएको छ।


क – कस्का सृजना छन्

झापाका हिम्मत नेम्वाङले एकता र प्रेममूलक मूर्ति तयार गरेका छन् । तर, इजरायली ७२ वर्षीया नागरिक  तानिया प्रेमीगंरले ढुंगालाई खोपेर बनाएको मुटु यहाँको मुख्य आर्कषण हो । जीवीत झंै देखिने ढुङ्गाको यो मुटुले संसारका जुनसुकै देशमा  बस्ने मानिसहरुका लागि उत्तिकै महत्व छ भन्ने सन्देश दिन खोजिएको छ ।
त्यस्तै चितवनका कलाकार दीपक रसाईलीले निर्माण गरेको मूर्तिमा  देशको भू–दृश्य देख्न सकिन्छ । मुलुकको भौगोलिक सुन्दरता कल्पना गरेर आम नेपालीलाई जिम्मेवारी पनि मूर्तिमार्फत उनले सुम्पिएका छन् । रुपन्देहीका मूर्तिकार बुद्ध थारुले निर्माण गरेको मुर्तिमा आमा र बच्चाको माया झल्किएको छ । आमा र बच्चाको मायालाई उदाहरणका रुपमा दिंदै उनले मायाको महत्व र भाव झल्काउने कोशेली मूर्तिमार्फत छाडेका छन् । भारतका मूर्तिकार अनुपकुमार गुप्ताले निर्माण गरेको मूर्तिमा ग्रीन पीसको भाव देख्न सकिन्छ । भारतीय भएर पनि उनले नेपालको अहिलेको परिस्थितिलाई चित्रण गर्न सफल देखिएका छन् । काठमाण्डौका कलाकार सुदर्शन विक्रम राणाले निर्माण गरेको मूर्तिमा एकता र मित्रताको महत्व झल्किएको छ । चितवनका अर्का मूर्तिकार दिनेश्वर महतोले तयार गरेको मूर्तिमा  प्रकृति र संस्कृतिलाई एकैपटक देख्न सकिन्छ ।

बाग्लुंगका मूर्तिकार ओम खत्रीले जैविक विविधता र एकता अनि तालहरु समेटिएको दुईवटा ढुङ्गाबाट फरक भाव झल्कने मूर्ति तयार गरेका छन् । उनले निर्माण गरेको मूर्ति हेर्दा हिलोमा फुलेको कमलको महत्व सँगै जीवन र मृत्युलाई पनि कलाबाटै तुलना गर्ने प्रयास गरिएको छ । इलामका विष्णुप्रसाद श्रेष्ठले एउटै मूर्तिमा पोखरी भित्रबाट उम्रदै गरे पालुवा र वृद्धि अनि विकासको बारेमा जियोमेट्रीकल र अर्गा्निक कुरालाई समेटेर प्रकृतिको महत्व झल्काउने मूर्ति तयार गरेका छन् । भोजपुरका नारदमणी हार्ताम्छालीे नेपालका अग्रज मुर्तिकार हुन् । उनले निर्माण गरेको मूर्तिमा आदरभाव झल्कन्छ । नमस्कार आकारमा उनले निर्माण गरेको  मूर्तिमा भौगोलिक सुन्दरता, समुदाय, पुस्तान्तर र बाद, प्रतिवाद अनि सम्वादको भावना झल्किएको छ । चितवनका प्राज्ञ लालकाजी लामाले भौगोलिक एकतालाई जोड दिँदै हिमाल, पहाड र तराईलाई सूत्रबद्ध गर्ने प्रयास गरेका छन् । इलामका विजयकुमार श्रेष्ठले निर्माण गरेको मूर्ति अमूर्त छ । तर, त्यहाँ अन्तर विचारको कारण उब्जने समस्या र समाधानका लागि एकताको आवश्यकतालाई पनि जोड दिइएको छ ।
काठमाण्डौकी सुनिता राणाले जीवको संरक्षणलाई जोड दिने कलाकृति बनाएकी छिन् । सिंगो ढुंगालाई जीवनसँग कलामार्फत तुलना गरिएको छ ।

कलाकार  राजन काफ्लेको मूर्तिमा मायाप्रेम र सरप्राइजको भाव देख्न सकिन्छ । मूर्तिमा घाम छाया, खस्रो मसिनो, सकारात्मक नकारात्मक भावलाई उतार्ने प्रयास गरिएको छ । यस्तै, गंगाधार सारुले आफ्नो मूर्तिकलामा प्रकृतिको सुन्दर शैलीमा चित्रण गरेका छन् ।
मोरंग पथरीका मञ्जुल बराइलीले मृत्यु शैयामा पृथ्वी भन्ने शीर्षकमा कृति तयार गरेका छन् । मूर्तिमा युद्ध, वन विनाश, प्रदुषणको चित्रण गरी त्यसको कारक तत्व मानिस नै भएको र मानिसले नै जोगाउन पनि सक्छ भन्ने सन्देश दिइएको छ ।

मलेशियाका मूर्तिकार म्याक्सिनले बनाएको मूर्तिमा महिलाको आकृति देख्न सकिन्छ । मकवानपुरका लक्ष्मण भूजेलको मूर्तिमा पत्रे बीजलाई प्रस्तुत गरी त्यहाँ मानव चित्रण गर्न खोजिएको छ ।
गुल्मीका हरिराम अधिकारीले तयार गरेको मूर्तिमा आँसु र हाँसोको सहज मिश्रण गरिएको छ । इटहरीका प्राज्ञ धनबहादुर याक्खाले तयार गरेको मूर्तिमा प्रकृति र नारीको बारेमा चित्रण गरिएको छ । कलाकार राजु पिठाकोटेले तीनवटा मूर्ति तयार गरी तीन पुस्तालाई सहज रुपमा चित्रण गरेका छन् । मानवचक्र पनि उनको मुर्तिमा पाउन सकिन्छ । चितवनका भीमबहादुर श्रेष्ठ जीवन र जगतका बारेमा पनि मूर्तिमार्फत चित्रण गर्न सफल भएका छन् ।

सुनसरीको इटहरीमा रहेको तल तलैया सिमसार क्षेत्रलाई जस्तै अन्य पर्यटकीय क्षेत्रको विकास र विस्तार गर्ने हो भने पूर्वका धेरै पर्यटकीय क्षेत्र धनसार हुनेमा दुईमत छैन ।

ब्लग सेयर गर्नुहोला।